मुख्य समाचारसमाचार

गठबन्धनले नयाँ सरकार गठन गर्छ: नेता कोइराला

Gobal IME Bank

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ ।” नेता कोइरालाले कुनै विवाद विना एक ढिक्का भइ पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा कांग्रेसले प्राप्त सिट सङ्ख्या वृद्धि भए पनि सात प्रतिशत मत घटेकोमा गम्भीर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढङ्गबाट मुलुक सञ्चालन गरेर गुमाएको लाखौँ जनमत समेट्नुपर्ने बताउनुभयो । उहाँले सरकार सञ्चालन गर्दा पूर्वाधार, शिक्षा, विकास निर्माण, स्वास्थ्य, रोजगारी सिर्जनासम्बन्धी काम गरेर जनताको मत जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सरकार निर्माण गर्दा नेतृत्वले जनता समक्ष स्पष्टता, प्रतिबद्धता जनाउनुपर्ने धारणा राख्दै पार्टीप्रति जनताको आकर्षण बढाउन मुलुकमा सुशासन, परिणाममुखी काम गर्नुपर्ने विचार राख्नुभयो । नेता थापाले पार्टीले पाएको ऐतिहासिक मौकाको सही ठाउँमा प्रयोग गरेर लोकतन्त्रलाई संस्थागत, देशप्रति जिम्मेवार भइ समर्पित भइ ‘बाटो सुधारिएको राजनीति’ निर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजनीतिक नेतृत्वले जे गर्न सक्ने हो त्यो मात्र बोल्न आग्रह गर्नुभयो । नेकांका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले सरकारको नेतृत्वले आगामी पाँच वर्षभित्र गर्ने कार्यको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । नव निर्वाचित मोरङका प्रतिनिधिसभा सदस्यद्वय अमनलाल मोदी र योगेन्द्र मण्डल, प्रदेशसभा सदस्यद्वय अमृत अर्याल र भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, महानगर समितिका सभापति दीपक चापागाईं र लेखक गुरुराज घिमिरेलगायतले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न युवा पुस्ताले आगामी सरकारको नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button