मुख्य समाचारशिक्षा स्वास्थसमाचार

विपन्न बालबालिकालाई निःशुल्क ‘ट्यूसन’ दिने वडा कार्यालय

Gobal IME Bank
सांकेतिक तस्बिर

दमक । दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था गरेको हो ।

वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांस बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् । विपन्न समुदायका बालबालिकालाई लक्षित गरी अतिरिक्त ट्यूसन कक्षा सञ्चालन गरिँदैआएको वडाअध्यक्ष कुवेर भट्टराईले बताउनुभयो ।

यहाँका विद्यार्थी स्थानीय महालक्ष्मी आधारभूत र पाणीनी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सामुदायिक विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त कमजोर विद्यार्थीका लागि निःशुल्क ट्यूसन कक्षा सञ्चालन गरिएको हो । ट्यूसनका लागि वडाले कार्यक्रममा नै बजेट समावेश गरेको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

“विद्यार्थीलाई पढाइमा अब्बल बनाउन यस किसिमको कार्यक्रम सुरु गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार आएको छ”, उहाँले भन्नुभयो ।

दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांस विद्यार्थी शिक्षाबाट वञ्चित छन् । “शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रयास गरेका छौँ, यसलाई निरन्तरता दिन्छौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । वडाले यसका लागि रू ७५ हजार बजेट छुट्याएको छ । वडाको दिपज्योति उराव बस्तीमा सञ्चालित ट्यूसन कक्षामा कक्षा १ देखि ६ सम्मका ४३ तथा कक्षा ७ देखि १० सम्मका ३० बालबालिका सहभागी हुँदैआएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button