कृत्रिम गर्भधारणको उपाय पत्ता लगाउने महिला वैज्ञानिक
एजेन्सी । मानव प्रजननको क्षेत्रमा नयाँ परिवर्तन ल्याइदिने महिला वैज्ञानिक मिरिअम मेन्किन निकै कम परिचित हुनुहुन्छ।
यस वैज्ञानिकको प्रजनन विज्ञताका कारण टेस्टट्यूब विधिमार्फत् बच्चा जन्माउने बाटो खुलेको हो। मिरियम मेन्किन मानव डिम्ब पहिलो पटक मानिसको शरीरभन्दा बाहिर सफलतापूर्वक निषेचन गर्ने व्यक्ति हुनुहुन्छ।
हार्भर्ड विश्वविद्यालयका प्रजननविज्ञ जोन रक र मेन्किनको लक्ष्य डिम्बलाई मानव शरीरबाहिर पनि प्रजनन योग्य बनाउनु थियो। रकको योजनाको पहिलो लक्ष्य बाँझोपनको निराकरण गर्नु थियो।
गर्भाशय स्वस्थ तर डिम्बवाहिनी नली काम नलाग्ने भएका महिलाको उपचार गर्ने उहाँको उद्देश्य थियो। उहाँले आफ्नो अस्पतालमा जँचाउन आउने पाँचमध्ये एक महिलामा बाँझोपनको समस्या देख्नु भएको थियो ।
निरन्तर छ वर्षको प्रयासपछि मेन्किन सन् १९४४ को फेब्रुअरी महिनामा सफल हुनु भयो। उहाँले आफ्नो प्रयोगशालामा डिम्बसँगै राखिएको वीर्य प्रजननयोग्य भएको चमत्कार देख्नु भएको थियो। शिशाको भाँडोमा मानव भ्रूण बन्न थालेको थियो।
मिरियम बाँझोपना भएका महिलाहरुको गर्भवती बन्ने सपना साकार गर्दै बच्चा जन्माउने प्रविधिको नयाँ युगमा लग्न सफल हुनु भएको थियो ।
शरीरबाहिर शुक्रकीट र डिम्ब निषेचन गरेर अर्थात् आईभीएफ इन भिट्रो फर्जिलाईजेशन विधिबाट सन् १९७८ मा पहिलो शिशु लुइस ब्राउनको जन्म भयो।
यो सफलता पछि लगत्तै आईभीएफ विधि ठूलो व्यापार बन्न पुग्यो। यो उहाँको वर्षौँ लामो अनुसन्धान, पटकपटक एउटै प्रयोग गर्ने धैर्यता र प्राविधिक निपुणताको परिणाम थियो।
इतिहासले उहाँको भूमिकालाई अँगालेन डा. रकको जस्तो उहाँको पहिचान बनेन। प्राविधिक, अनुसन्धान सहायक, डाक्टर मेन्किन, बायोलोजिस्ट आदि भनेर उहाँलाई सम्बोधन गरिँदै आएको छ।
नोर्थवेस्ट विश्वविद्यालयको फाइनबर्ग स्कूल अफ मेडिसिनकी प्राध्यापक टरिजा वुड्रफको भनाइमा मेन्किनको परिचय डा. रकको सहायकमा मात्र सीमित थिएन।
रट्गर्स यूनिभर्सिटीकी इतिहासकार मार्गरेट मार्श त्यसमा सहमत हुनु हुन्छ। रक वास्तवमा एक चिकित्सक हुनुहुन्थ्यो, मार्श भन्नु हुन्छ तर मेन्कन
वैज्ञानिक मस्तिष्क, लगन र विश्वास भएको एक वैज्ञानिक हुनुहुन्थ्यो ।
मार्शले सन् २००८ मा वेन्डा रोनरसँग मिलेर लेखेको रकको जीवनी फर्टिलिटी डक्टर जोन रक एन्ड द रिप्रडक्टिभ रेभलूशनु मा मेन्किनको कथा उत्खनन गर्नु भएको छ । तर पछि फर्किएर हेर्दा मार्शलाई रकको अनुसन्धान सहायकको रूपमा मात्र प्रस्तुत गरेकोमा पछुतो लागेको उहाँले बताउनु भएको छ। अर्को पुस्तकमा उहाँलाई पूरा श्रेय दिने मार्शको भनाइ छ।
मिरिअम फ्रीडमनको जन्म सन् १९०१ को अगस्ट ८ मा युरोपेली देश लात्भियाको राजधानी रिगामा भएको थियो। उहाँ सानै छँदा परिवार अमेरिका गयो। पेसाले चिकित्सक बुवाको आम्दानी कारण उहाँको बाल्यकाल सुविधासम्पन्न थियो। सुत्ने बेला बुवाले विज्ञानले कसरी छिट्टै मधुमेहको उपचार पत्ता लगाउँछ भन्ने सुनाउँनु हुन्थ्यो।
उहाँले कोर्नेल यूनिभर्सिटीबाट सन् १९२२ मा शरीरविज्ञान र तन्त्रुशास्त्रमा स्नातक गरेर विज्ञानको क्षेत्रमा आकर्षक रूपमा पदार्पण गर्नु भयो।
अर्को वर्ष कोलम्बिया विश्वविद्यालयबाट उहाँले आणुवंशिक विज्ञानमा स्नातकोत्तर गर्नु भयो र न्यूयोर्कमा जीव र भौतिक विज्ञानको छोटो तालिम लिनु भयो।
बुवाको पदचाप अनुसरण गर्न उहाँ चिकित्साशास्त्र अध्ययन गर्न चाहानु हुन्थ्यो। देशका दुई प्रख्यात मेडिकल कलेजबाट उहाँ अस्वीकृत हुनु भयो। महिला भएकाले त्यसो भएको निश्चित जस्तै छ। त्यस बेला निकै कम विशिष्ट खालका मेडिकल कलेजमा मात्र महिलालाई भर्ना लिइन्थ्यो। हार्भर्डजस्तो विश्वविद्यालयले सन् १९४५ महिलालाई पहिलो पटक भर्ना लिएको थियो।
उहाँको विवाह हार्भर्डका विद्यार्थी भेली मेन्किनसँग भयो। प्रजनन र ब्याक्टेरियाबारे अध्ययन गर्दै उहाँ आफ्ना पतिलाई पनि सहयोग गर्न थाल्नु भयो।
त्यही क्रममा उहाँको भेट हार्भर्डका जीववैज्ञानिक ग्रेगरी पिन्कससँग भयो। जसले रकसँग मिलेर गर्भनिरोधक औषधि पत्ता लगाउनु भयो ।
पिन्कसले भाले खरायोबिना नै खरायोको बच्चा जन्माउनु भएको थियो। त्यसमा उहाँले मिरिअम मेन्किनको सहयोग लिनु भएको थियो । उहाँलाई पोथी खरायोबाट दुईथरी हर्मोन निकाल्न भनियो। मेन्किनले निकै कुशलतापूर्वक त्यो जिम्मेवारी पूरा गर्नु भएको थियो ।
तर प्रयोगशालामा उहाँको अवधि छोटो रह्यो। पिन्कसको समयावधि सन् १९३७ मा थपिएन त्यसैले उहाँ इङ्ग्ल्यान्ड फर्किनु भयो। मेन्किनले जागिर गुमाउने अवस्था आयो।
प्रजननविज्ञको रूपमा देखा परेका जोन रकले त्यो अनुसन्धान परियोजना फेरि सुरु गर्न खोज्नु भयो। उहाँको प्रयोगशालामा काम गर्न मेन्किनले आवेदन दिनु भयो र स्वीकृत स्वीकृत हुनु भयो।
प्रयासमा पूर्णविराम
मार्शका अनुसार डा रक निकै प्रतिभाशाली र ज्ञानी हुनु हुन्थ्यो तर उहाँमा अनुसन्धान प्रयोगशालामा आवश्यक हुने धैर्यको कमी थियो। मेन्किनमा भने त्यसको अभाव थिएन।
डा। रक एउटा परोपकारी अस्पतालमापनि काम गर्नु हुन्थ्यो। मिरिअम मेन्किन बिहान ८ बजे प्रयोगशालामा पुग्नु हुन्थ्यो। रकले बिरामीबाट निकालेको डिम्बाशयको सानो टुक्रा दिनु हुन्थ्यो र मेन्किन भर्याङ उक्लिएर चौथो तलामा रहेको प्रयोगशालामा त्यस टुक्रालाई लिएर जानु हुन्थ्यो र डिम्बको खोजी गर्नु हुन्थ्यो ।
त्यो काम गर्न धेरैलाई वस्तुको आकार ठूलो देखाउने सिसा चाहिन्थ्यो तर मेन्किन नाङ्गो आँखाले नै पहिल्याउनु हुन्थ्यो। अनि त्यो डिम्ब सामान्य अवस्थामा छ वा आकारमा गडबडी छ कि छैन समेत भन्नु हुन्थ्यो ।
मङ्लवार डिम्ब खोज्ने, बुधवार त्यसमा शुक्राणु मिलाउने, बिहीवार त्यसको निम्ति प्रार्थना गर्ने र शुक्रवार त्यसलाई सूक्ष्मदर्शक यन्त्रबाट हेर्ने उहाँको नियमित काम यस्तो थियो।
निरन्तर छ वर्ष काम गरेपछि सन् १९४४ को फेब्रुअरी महिनाको एउटा शुक्रवारको दिन भने उहाँलाई सफलता प्राप्त भयो।
वर्षौको परिश्रमपछि सिसाको भाँडोमा मानव भ्रूण देखेपछि उहाँ हर्षविभोर हुनु भयो तर उहाँको त्यो प्रयासमा त्यहीँ पूर्णविराम लाग्यो।
त्यही बेला उहाँका पतिको जागिर सकियो। सबै जना नोर्थ क्यारलाईनाको ड्यूक यूनिभर्सिटी जानुपर्यो। जहाँ आईभीएफलाई अस्वीकार गरिन्थ्यो।
जागिरका सिलसिलामा पति जता जानु भयो, उहाँ आफ्नो सपना पछ्याउँदै त्यतै जानु हुन्थ्यो तर उहाँलाई खासै सफलता प्राप्त भएन।
उहाँ डा।रकसँग सम्पर्कमा पनि हुनु हुन्थ्यो र दुवैले सन् १९४८ मा आईभीएफबारे खोजपूर्ण लेख प्रकाशित गर्नु भयो। त्यसमा पहिलो लेखकको रूपमा उहाँको नाम थियो।
वैवाहिक जीवनमा फाटो
पतिले वर्षौँदेखि खर्च नदिने र बच्चाहरूको अगाडि हिंसा गर्ने गर्थे। त्यो नरोकिएपछि उहाँले ुआत्महत्या रोज्नुभन्दा सम्बन्धविच्छेदु रोज्दै कानुनी प्रक्रिया अघि बढाउनु भयो। एउटी छोरी उहाँसँग रहिन। छोरीलाई छारेरोग लागेकाले राति र सप्ताहान्तमा अनुसन्धान प्रयोगशाला निःशुल्क प्रयोग गर्न पाउने अवसर पनि स्वीकार गर्न नसक्ने हुनु भयो।
सन् १९५० मा फर्किएर बोस्टन जानु भयो। छोरीलाई विद्यालय भर्ना गर्नु भयो र रकसँग प्रयोगशालामा काम गर्न थाल्नु भयो। अब भने केही परिवर्तन आयो। अब बच्चा जन्माउने भन्दा पनि जन्माउन रोक्ने उद्देश्य थियो।
रकको आफ्नै प्रयोगशाला थियो उहाँ गर्भनिरोधकको नयाँ तरिकाबारे काम गर्दै हुनु हुन्थ्यो दुवै जना त्यो काममा लागे।
दुवैले त्यसबारे कैयौँ लेख प्रकाशित गरे। तर मिरिअम मेन्किनको पहिलो सफलता आईभीएफ थियो। उनले बाँझोपन भएका महिलाको एउटा सपना पूरा गर्ने प्रविधि दिनु भयो त्यसमा उहाँलाई आफु माथि गर्व पनि थियो। आफू त्यसरी बच्चा जन्माउने पक्षधर नभएको उहाँले एक संवाददातालाई बताउनु भएको थियो।
मिरिअम मेन्किनको जीवन फरक ढङ्गले अघि बढेको भए, यदि उहाँले भेलीसँग बिहे नगरेको भए वा उहाँले विद्यावारिधि गर्न पाएको भए उहाँले जीवनमा के प्राप्त गर्न सक्नु हुन्थ्यो भन्ने थाहा पाउन निकै गाह्रो छ।