चर्को विद्युत महशुल नउठाउन घरबेटीलाई कुलमानको चेतावनी
२९ भदौ, काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । साथै मिटर बिलमा उठेभन्दा बढी महशुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गरेका छन् । प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ । घिसिङले प्राधिकरण सम्हालेको ३ वर्र्ष पूरा भएको छ । ३ वर्र्ष अवधिमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरी ९ अर्ब वार्षिक घाटामा रहेको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे जानकारी गराएका हुन् ।
प्राधिकरणले आगामी चैत्र महिना भित्र ४५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि बनाएको छ । त्यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेघावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरु समेत गरेर चालू आर्थिक वर्ष भित्र एक हजार मेघावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको जानकारी गराए। प्राधिकरणले चालू आर्थिक वर्ष भित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रिड पुर्याउने योजना तय गरेको छ। कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षभित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।