टीकापुर बसपार्क सञ्चालनमा -Good News 24
भजनी, १ साउन । कैलालीको टीकापुर बसपार्क हस्तान्तरण भएको करिब दुई वर्षपछि सञ्चालनमा आएको छ । सुदूरपश्चिमकै नमूना बसपार्क विसं २०७७ भदौ ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरे पनि विविध कारणले सञ्चालनमा आउन नसकेको बसपार्कको आजदेखि सञ्चालनमा आएको हो ।
नगरपालिकाले अमिक्षा कन्स्ट्रक्सनसँग तीन वर्षको ठेक्का सम्झौता गर्दै बसपार्क सञ्चालनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले बताउनुभयो । “बसपार्क सञ्चालन हुन नसक्दा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यताका कारण दुर्घटनाको जोखिम थियो, आजबाट त्यो जोखिम कम भएको छ”, नगर प्रमुख थारुले भन्नुभयो, “जताततै पार्किङ हुने सवारीसाधनको व्यवस्थापन हुनेछ, जसले बजारको सुन्दरतालाई समेत मद्दत गर्ने छ ।”
उहाँले टीकापुरको विकासका लागि बसपार्क पनि एक आयाम भएको जनाउँदै त्यसको व्यवस्थापन र संरक्षणमा विशेष ध्यान दिन सञ्चालक समितिलाई निर्देशनसमेत दिनुभयो । तीन वर्षको लागि ठेक्का पाएको अमिक्षा कन्स्ट्रक्सनले नगरपालिकालाई रु ५५ लाख तिर्नुपर्ने छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण भएको बसपार्क निर्माणको काम दुई चरणमा भएको थियो ।
–––