मनोरञ्जनमुख्य समाचारसमाचार

‘नेपाल लिटरेचर फेस्टिबल’ मा सुनिए नवराज र उज्ज्वल

Gobal IME Bank

गण्डकी । बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए ।

चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने । गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो । सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निःशब्द’ सुनाउनुभयो । उहाँले अरुण थापाको ‘आँखाको गीत खोसी लाने’, साङ्गीतिक समूह कन्दराको चर्चित गीत ‘तगारोमा रुमाल राखी’, नवीन के भट्टराईको ‘अलिकति पीडा’लगायत गीत गाउनुभयो ।

सागरले गाउँदा दर्शकले पनि गला मिलाए । तालीले साथ दिए । सागरको गायनपछि पराजुलीले आफ्ना चर्चित कविता सुनाउनुभयो । लामा कविता पनि कण्ठस्थ र मार्मिक शैलीमा प्रस्तुत गर्ने उहाँको प्रतिभाले दर्शकदीर्घाबाट वाहवाही पायो । पराजुलीले ‘उ’, ‘एक्लै’लगायत आफ्ना चर्चित कविता वाचन गर्नुभयो ।

आयोजक बुकवर्म फाउण्डेशनले फेस्टिबलको औपचारिक उद्घाटनपूर्व ‘शुभारम्भ साँझ’ राखेको हो । उक्त कार्यक्रममा पहिला पुग्ने दस जनालाई पराजुलीको कविता कृति ‘सगरमाथाको गहिराइ’ उपहारस्वरुप प्रदान गरिएको थियो ।

दसौँ संस्करणको उक्त फेस्टिबल बुधबारदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन भने आज दिउँसो हुने आयोजकले जनाएको छ । उद्घाटन सँगसँगै काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्लेले विद्वत् प्रवचन, गोपाल योञ्जनको २५औँ स्मृति वर्षको अवसर पारेर साङ्गीतिक प्रस्तुति ‘गोपालय’ र ‘घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल सत्र तय गरिएको छ ।

फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिबलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने बताइएको छ ।

फेस्टिबलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसंवाद हुनेछ । पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्वत् व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।

फेस्टिबलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइरालासहित विशिष्ट व्यक्ति वक्ताका रुपमा उपस्थित हुनेछन् ।

पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन् । फेस्टिबलका सदस्य केशवशरण लामिछानेले अतिथि वक्ता र सहभागी पोखरा आउने क्रम सुरु भएको बताए ।

दस वर्षअघि काठमाडौँबाट सुरु भएको उक्त फेस्टिबल पछिल्ला केही वर्षदेखि पर्यटकीय सहर पोखरामा हुँदै आएको छ । कोभिड–१९ का कारण फेस्टिबलको यसअघिको संस्करण रोकिएको थियो । फेस्टिबलमा कला, साहित्यप्रेमीदेखि समसामयिक र सार्वजनिक महत्वका विषयमाथि हुने बहस सुन्न चाहनेको उल्लेख्य उपस्थिति रहने गर्छ । फेस्टिबलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button