मुख्य समाचारसमाचार

मन्त्रिपरिषद् बैठकः सरकारको प्रवक्ताको जिम्मेवारी शर्मालाई, यी हुन् अन्य निर्णयहरु

Gobal IME Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो ।

मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद् बैठकमा पेशस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्मा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनु भयो ।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निस्कर्ष पनि निकालेको छ । मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले प्रतिक्विन्टल उखुको मूल्य ५४० रुपैयाँ तोकेको छ । सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको बैठकले उखुको मूल्य प्रति क्वीटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाँडा रु ७० यो निर्धारण गरेको छ ।

त्यसका साथै राज्यले प्रदान गर्ने विभूषणको सन्दर्भमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले पनि गर्व गर्न सकोस् । र, सरकारले, राज्यले विभूषण प्रदान गर्दा पनि सम्मानित व्यक्तित्वहरुलाई आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तिहरुलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसावले विभूषणको सम्बन्धमा अध्ययन समिति बनाउने विषयमा मन्त्रीपरिषद् बैठक निस्कर्षमा पुगेको छ । विश्वविद्यालय अनुदान आयोगको प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी यो क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । र, थप अध्ययन गरिकन हामी उपयुक्त निर्णयमा छिट्टै पुग्नेछौं । त्यसैगरी कूटनीतिक नियोग लगायतका विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि आजको बैठकले निर्णय गरेको छ ।

सरकार गठनको एउटा महत्वपूर्ण नीतिगत आधार सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम हो । त्यो नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ । उक्त नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम कार्यान्वयनका लागि रहेक मन्त्रालयहरुसँग सम्बन्धित विषयहरुमा आवश्यक कार्ययोजना निर्माण गर्न ७ दिनको समय प्रदान गरिएको छ । सबै सम्बन्धित मन्त्रालयहरुले सो समयभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद्मा प्रश्तुत गर्नेछन् । र, त्यो मन्त्रिपरिषद्को निर्णयको आधारमा सरकारको नीतिगत प्राथमिकता र न्युनमत कार्यक्रम कार्यान्वयनमा अघि बढ्नेछ । यसका साथै आजको बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरिएको छ । आजको बैठकले सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माज्यूलाई तोकेको छ ।’

मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button