गुड न्यूज 24समाचार
वडा अध्यक्ष ‘हितमान गुरुङ’ जसले आफ्नो सबै तलब अशक्त र निम्न वर्गलाई दिए
कुश्मा । पर्वतको फलेवास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गर्नुभएको छ ।
गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गर्नुभएको हो ।
उहाँले तलब बापतको रू एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रू तीन हजारदेखि १० हजारसम्म वितरण गर्नुभएको हो ।
“मैले यसअघि गरेको प्रतिबद्धता अनुसार मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु”, उहाँले भन्नुभयो, “अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।”