ब्रेन डेथ अर्थात मस्तिष्कको मृत्यु भएका एक जना व्यक्तिबाट ८ जनाले नयाँ जीवन पाउन सक्छन् । मरेपछि खरानी भएर खेर जाने अंगबाट ८ जना जो यस संसारमा बाँच्न सक्छन् र उनीहरुलाई बचाउन सकिन्छ। यसरी खेर जाने अंग दान गर्न किन कन्जुस्याइँ गर्ने ? नेपालमा ब्रेन डेथपछिको अंगदान गर्न सक्ने बलियो कानून समेत आइसकेको छ ।
एक जना ब्रेन डेथ भइसकेको व्यक्तिबाट २ वटा मिर्गौला, एउटा कलेजो, एउटा मुटु, २ वटा फोक्सो, एउटा प्यान्क्रियाज, एउटा सानो आन्द्रा गरेर आठ वटा अंग प्रत्यारोपणका लागि निकाल्न सकिन्छ ।
ब्रेन डेथ अर्थात मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अर्को कसैलाई नयाँ जीवन दिन सक्छन् । यो जस्तो पुण्यको काम अरु कुनै हुन सक्दैन। यो संसारमा आफनो खरानी भएर जाने अंग दान गरेर अरुलाई बचाउनु जस्तो महान काम अर्को के होला र ? यसको महत्वबारे सबैले बुझ्न अत्यन्त जरुरी छ । नेपालमा सोचे अनुसार ब्रेन डेथको अनुपात अनुसार अंगदान गर्ने गरेको देखिएको छैन । ब्रेन डेथ भएका सबैको परिवारले अंग दान गर्ने काममा सहयोग गरिदिने हो भने सयौं बिरामी जो अंग कुरेर बसिरहेका हुन्छन् उनीहरुले नयाँ जीवन पाउँछन् ।
आफन्तले ब्रेन डेथ भइसकेका व्यक्तिको अंग निकाल्न अझै पनि स्वीकृति दिन हिच्कचाउने गरेको चिकित्सकहरु बताउछन् । यसबारे व्यापक सचेतना जगाउन जरुरी भएको छ । आफू मरेर पनि अरुलाई बाँच्न सहयोग गर्ने पुण्य कामका लागि चिकित्सकहरुले आग्रह समेत गरेका छन् ।
कतिपय अवस्थामा अस्पतालहरूबाट ब्रेन डेथका घटनाको खबर समयमै नगरेर त कहिले परिवारबाट समेत अनिच्छा देखाएर यसले अपेक्षित रूपमा गति लिन सकेको छैन । नेपालमा हालसम्म १३ जनाले ब्रेन डेथ भएका व्यकितको अंग पाएर नयाँ जीवन पाएका छन् ।
नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको छ। तर कार्यान्वयन पक्ष भने फितलो हुँदा अनुमान गरे अनुसारको सफलता प्राप्त भएको छैन। ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अंग प्रत्यारोपणका कारण धेरै मानिसहरुले जिवनदान पाउन सक्छन् ।
नेपालमा पहिलो पटक २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण भएको थियो । सुरुका दिनहरूमा नजिकको नाताको दायरामा मात्रै रहने गरी प्रत्यारोपणका लागि अंग लिन सकिने कानुनी व्यवस्था थियो । ऐन संशोधनसँगै नाता प्रमाणीकरणको दायरा फराकिलो बनाउँदै दुई परिवारबीच अंग साटासाट गर्ने र ब्रेन डेथ भएकाको अंग दान गर्ने बाटो समेत खुलाइएको हो । जसले गर्दा धेरैलाइ सजिलो भएको छ ।
मस्तिष्कले पूर्ण रूपमा काम गर्न नसक्ने अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ। चिकित्सकीय भाषामा मस्तिष्क मृत्युको अर्थ व्यक्तिको मृत्यु नै हो। मस्तिष्क मृत्यु भएका व्यक्ति ज्युँदो हुँदैन। यसमा मस्तिष्कको काम गर्ने र गराउने क्षमता दुवै बन्द भइसकेको हुन्छ। यही कुरा सबैलाई बुझाउन जरुरी छ ।
मुख्यतया सडक दुर्घटनामा परेर, रुखबाट वा अग्लो स्थानबाट लडेर, कुनै कारणले टाउकोमा गम्भीर चोट लागेमा मस्तिष्कको मृत्यु हुन सक्छ । यसैगरी मस्तिष्कघात हुँदापनि मस्तिष्क मृत्यु हुन सक्छ । -Rabina Mangrati