हरेक वर्ष श्रावण कृष्ण पञ्चमी अर्थात् मौना पञ्चमीको दिनबाट सुरु भई १५ दिनसम्म चल्ने ‘मधुश्रावणी’ पर्व यस वर्ष मलमास ‘अधिक मास’ ‘पुरुषोत्तम महिना’ ले गर्दा लगभग डेढ महिना महिनासम्म चल्ने भएको छ । मिथिलाञ्चलको लोकपर्व मधुश्रावणी यस वर्ष असार २२ गते शुक्रबारबाट सुरु भइसकेको छ ।
मधुश्रावणीलाई सौभाग्यको पर्व भनिन्छ । विभिन्न पूजापाठ र संस्कृतिका लागि चर्चित मिथिलामा मधुश्रावणी व्रतको विशेष महत्त्व छ । श्रावणको पवित्र महिना नववधुका लागि खास महत्त्व राख्छ । मिथिलाका नवविवाहिता वधुहरूले आफ्ना पतिको दीर्घायुको कामना र सम्पूर्ण परिवारको मंगलकामना गर्दै माता विषहरा र उनका परिवारको पुजा गर्छन् ।
मिथिलाको सांस्कृतिक जीवनमा मधुश्रावणी पर्वको महत्त्वपूर्ण स्थान रहेको छ । यो पर्व मिथिलाञ्चल क्षेत्रमा मात्र मनाइने भएकाले पनि यसको महत्त्व झन् बढेको देखिन्छ । यस अवसरमा नवविवाहिता महिलाले विवाहको पहिलो वर्षको श्रावणमा नागपूजा गर्दै आफ्नो सौभाग्यको दीर्घकामना र सुखी जीवनको मंगलकामना गर्छन् ।
पहिला पहिला मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अचेल सबै जातजातिको साझा पर्व हुँदै मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ । श्रावण कृष्ण पञ्चमीको दिन सुरु भई साउन शुक्ल तृतीयाको दिन सम्पन्न हुने यो पर्व मैथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ ।
हिन्दु धर्ममा शिव भगवानको परिवारलाई आदर्श परिवार मानिन्छ । त्यसैले नवदम्पतीले आफ्नो जीवनको शुभारम्भ शिव परिवारलाई साक्षी राखेर यसैको अनुसरण गर्ने प्रण लिएर गृहस्थ जीवनमा प्रवेश गर्छन् । नवदम्पतीले यसै पूजाको माध्यमले जीवनका सम्पूर्ण पाठहरू १३ दिनमा ग्रहण गर्ने कोसिस गर्छन् । १३ दिनसम्म मनाइने यस मधुश्रावणी पर्वका लागि प्रायःजसो नवविवाहिताहरू माइत जाने गर्छन्। यस पर्वको सम्बन्धमा सांस्कृतिक मान्यता छ कि मधुश्रावणी पूजाको अवधिमा नवविवाहिता महिला आफ्नो माइत गएर यो पर्व मनाउनुपर्छ ।