६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै-GoodNews24
सुदूरपश्चिम- धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर एक पटकमा एउटा मात्र उडान हुन लागेको उहाँले बताउनुभयो । समिट यएरले केही दिनअघि नेपालगन्ज—बाजुरा—धनगढी र धनगढी—बाजुरा—नेपालगन्ज सम्म दुई चार्टर उडान गरेको थियो । यात्रु सङ्ख्याका आधारमा आगामी दिनमा समिट एयरले सुदूरपश्चिमका केही जिल्लामा नियमित हवाई सेवा शुरु गर्न सक्ने जनाइएको छ । प्रदेशका डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्र लगायत कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ । यात्रुको सङ्ख्या बढ्दै गएमा आगामी दिनमा यी विमानस्थलमा नियमित रुपमा हवाई सेवा सञ्चालन गर्न सकिने देखिएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढी स्थित कार्यालय बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउन्टर बन्द गर्नुपरेको कार्यालयका प्रमुख हरिदत्त पन्तले बताउनुभयो । निगमले धनगढी विमानस्थलबाट कोभिड—१९ को सङ्क्रमण फैलिनुअघि गत चैतसम्म काठमाडौँ—धनगढी—काठमाडौँ सम्म हप्तामा तीन दिन ‘एमए ६०’ जहाज मार्फत हवाई सेवा उपलब्ध गराउँदै आएको थियो । “नयाँ जहाजको व्यवस्था नहुन्जेल काउन्टर पुनः सञ्चालन हँुदैन”, उहाँले भन्नुभयो, “एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।” निगमको धनगढी कार्यालय ९काउन्टर० बन्द भएसँगै त्यहाँ ज्यालादारी र कारार सेवामा कार्यरत कर्मचारीको म्याद नथपिएको जनाइएको छ । पाँच स्थायी कर्मचारी मध्ये कार्यालय प्रमुख पन्त सहित चार जनाको काठमाडौँ र एक जनाको दाङ सरुवा भएको छ । देशभरका नाफा कमाउने दश विमानस्थलमध्ये धनगढी पनि हो । कोरोना सङ्क्रमण रोकथामका लागि चैत ११ गतेदेखि यो विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ । विमानस्थल कार्यालयका प्रमुख बुढथापाले भन्नुभयो, “महिनामा रु २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा आम्दानी गुमाउनुपरेको छ ।” कोरोना सङ्क्रमणको अवस्थाले देखिएको तहसनहसको अवस्थालाई अब कसरी व्यवस्थित पार्ने र पुरानै लयमा फर्काउने भन्ने चुनौती रहेको उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]