वायु प्रदुषण !
काठमाडौँ । नेपालमा वायु प्रदुषणको कारण सर्वसाधारणहरुको स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको छ। धुलो धुँवाका कण हावामा मिसिन गइ वातावरणीय प्रणालीलाई नै नकारात्मक असर गरिरहेको छ। वायुमण्डलमा रसायनहरूको मात्रा, धुलोको कणहरु, जुन ठोस, तरल या ग्याँसको रूपमा सामान्यस्तर भन्दा उच्च मात्रामा भयो भने वायु प्रदुषित हुन्छ। विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांक अनुसार विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्युको प्रमुख कारण वायु प्रदुषण भएको दावी छ ।
वायु प्रदुषणले मानिसलाई क्रमिक रूपमा रोगी बनाएर मृत्यु हुने कारणले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । नेपालमा दुई तरिकाले वायु प्रदुषित भइरहेको छ। घरभित्रै उत्सर्जन हुने प्रदुषण र बाहिरी वातावरणमा उत्सर्जन हुने प्रदुषण हुन् । ग्रामीण भेगमा घरको भान्छामा खाना पकाउँदा दाउरा, गुइठा बाल्दा निस्कने धुवाँका कारणले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । नेपालमा वर्षेनी सुख्खा खडेरीका कारण वनमा लाग्ने डढेलोले पनि वायु प्रदुषण हुन ठूलो असर पार्छ ।
जंगलमा लागेको डढेलोका कारणले गर्दा मौसममा फेरबदल हुनुका साथै वायुमण्डल नै प्रदूषित भइरहेको छ । प्रदुषणका मुख्य स्रोतहरू उद्योग क्षेत्र, यातायात, फोहोर जलाउने, पशुपालन मिथेन उत्सर्जन, इँटा भट्टा, सिमेन्ट कारखानाबाट निस्कने फोहोर हुन् । यी कारणले अहिले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु प्रदुषणको कारक तत्व जस्तै पार्टिकुलेट म्याटर कार्वनमोनोअक्साईड, ओजन, नाइट्रोजन डाइअक्साइड आदि हुन् ।
मसिना धुलोको कणहरु पार्टिकुलेट म्याटरहरु साइज दायराका विषेशगरी २.५ र १० स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यस्ता सूक्ष्म कणहरु श्वासप्रश्वास नलीमा पुगेर फोक्सोमा असर गर्छ । वायु प्रदूषणको उच्चस्तरको एक्सपोजरले विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरु निम्त्याउन सक्छ।
यसले श्वासप्रश्वासको संक्रमण, दम, मुटु रोग र फोक्सोको क्यान्सरको जोखिम बढाउछ। वायु प्रदुषणको कारण स्वास्थ्यमा दीर्घकालीन प्रभाव पर्छ । बालबालिकामा तीव्र श्वासप्रश्वासको संक्रमण र वयस्कहरूमा क्रोनिक ब्रोन्काइटिस जस्ता रोगको जोखिम हुन्छ भने वायु प्रदुषणको कारण पहिले नै बिरामी भएका मानिसहरू बढी प्रभावित हुने गरेका छन् । यसले स्वास्थ्यका विभिन्न प्रणाली र शरीरको विभिन्न अंगहरूमा असर गर्छ र छोटो वा दीर्घकालीन रोगहरूको कारण अकालमा मृत्यु हुने गर्दछ ।
नेपालमा २०.५ प्रतिशत मानिसहरुको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । काठमाडौंमा अहिले वायु गुणास्तरको मापन २०० भन्दा बढी छ । काठमाडौंमा मात्र प्रदुषणको मापदण्ड विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा करिब पाँच गुणाले बढी रहेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका अनुसार अहिले देशको अधिकांश क्षेत्रमा वातावरण जोखिमपुर्ण भएको अर्थात वायुमा प्रदुषणको लेबल एक्यू आई १०० भन्दा माथि रहेको छ । काठमाडौं उपत्यकाको सबै भाग अस्वस्थ अवस्थामा छ। नेपालको वायु प्रदुषणमा डढेलोले लगभग ६० प्रतिशत योगदान गरेको छ । काठमाडौं उपत्यकामा दैनिक २० टन फोहोर जलाएर ५५ टन पार्टिक्युलेट म्याटर ुपीएमु निस्कन्छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ८ गुणा बढी हो। यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखाका अनुसार वायु प्रदुषणले मानव स्वास्थ्यमा असर पारेको छ ।
मानिसहरुमा कार्डियोभास्कुलर सम्बन्धी समस्या, श्वासप्रश्वास दमको समस्या, ब्रोन्काइटिस समस्या हुने गरेको छ। महिलाहरु गर्भवती अवस्थामा संवेदनशील हुन्छन् वायु प्रदुषणका असर उनीहरुमा बढी हुन्छ जस्तै समयपूर्व शिशुको जन्म, कम तौलको बच्चा जन्मिने आदि जोखिम बढ्छ । नेपाल ग्लोवल बर्डेन अफ डिजिज २०१९ का अनुसार वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण वार्षिक रुपमा ४० प्रतिशत भन्दा मानिसहरुको मुत्यु भएको तथ्यांकले बताएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा वायु प्रदुषणले गर्दा विभिन्न श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने मध्ये ३९.४ प्रतिशत सीओपीडी रहेको देखाएको छ, २९.१ प्रतिशत निमोनिया र २५.३ प्रतिशत तीव्र श्वसन रोग प्रमुख थिए ।
काठमाडौं उपत्यकाका अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोगको बिरामीहरुमध्ये ४.८ प्रतिशत दम, ४.८ प्रतिशत ब्रोन्काइटिसका रोगका बिरामीहरु हुन्छन्। तसर्थ, वायु प्रदूषणको बारेमा चेतना जगाउन, जनसचेतनाका अभियान संचालन गर्न निकै आवश्यक भएको छ । साथै, विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक क्षेत्रसँग समन्वय गरी उचित नीति, निर्देशिका कार्यक्रमहरु कार्यन्वयन गर्नु आवश्यक छ ।