समाचार

एन्जाइटी डिसअर्डर भन्नाले के बुझिन्छ? कारण र लक्षणहरु पढ्नुहोस…

Gobal IME Bank

एजेन्सी । एन्जाइटी डिसअर्डर एक किसिमको मानसिक समस्या हो । यसको कारणले गर्दा मानिसहरुलाई आफ्नो दिनचर्या गुजार्न पनि कठिनाई भइरहेको हुन्छ । एन्जाइटी हुनु एउटा साधारण समस्या हो । हामी इन्टरभ्यू दिन जाँदा, कुनै प्रदर्शन दिनु अगाडी वा परिक्षाको समयमा एन्जाइटी महसुस गर्नु, नर्भस हुनु सामान्य समस्या हो । तर एन्जाइटी डिसअर्डर भने सामान्य डर महसुस हुनु वा नर्भस हुनु भन्दा ज्यादा गम्भिर किसिमको हुने गर्छ । एन्जाइटी डिसअर्डरका कारण हामी कुनै कार्य गर्दा एन्जाइटीको कारण त्यस कार्यमा हस्तक्षेप पुग्ने गर्छ, हाम्रो भावनाहरु ट्रिगर हुँदा ओभररियाक्ट गर्ने समस्या हुने, कुनै स्थितिमा आफ्नो प्रतिक्रियालाई कन्ट्रोल गर्न नसक्नु यस्ता समस्या एन्जाइटी डिसअर्डर भएका मानिसहरुले महसुस गर्ने गर्छन् ।

एन्जाइटी डिसअर्डर लक्षणहरुः

  • मुटुको धड्कन बढ्ने,
  • डर लाग्ने,
  • छटपटी महसुस हुने,
  • सास रोकिएको जस्तो हुने,
  • मरिन्छ कि जस्तो लाग्ने,
  • छातीमा थिचेजस्तो महसुस हुने,
  • मुख सुक्खा हुने,
  • चक्कर लागेजस्तो हुने

मुटुको समस्या वा हार्टअट्याक हुँदा पनि यस्ता लक्षण देखिन्छन् । त्यसैले यस्तो समस्या भएमा पहिले हृदय रोग विशेषज्ञको परामर्श लिइ ईसीजी, इको, सीपीके एमबी, ट्रोपोनिन गर्नुपर्ने हुन्छ । मुटुमा केहि समस्या देखिएको छैन भने मानसिक समस्या हुन सक्ने शंका लागेको छ भने मानसिक स्वास्थ्य चिकित्सकको परामर्श लिनुपर्छ ।

मानसिक समस्या भएका व्यक्ति बौलाहा वा पागल हुँदैनन् । हाम्रो नेपाली समाजमा मानसिक स्वास्थ्यको बारेमा यस्तै किसिमको दृष्टिकोणले हेर्ने चलन रहेको छ। यस प्रकारको सामाजिक दृष्टिकोणको कारण धेरै व्यक्तिहरु यो समस्यालाई लुकाएर राख्ने गर्छन् जसले गर्दा समान्य मानसिक समस्याले पछि गम्भीर रुप लिन जान्छ । दैनिक रुपमा काम गरिराखेका व्यक्तिलाई पनि मानसिक समस्या देखिन सक्छ तिनै समस्यामध्ये एन्जाइटी डिसअर्डर पनि एक हो ।

मानसिक समस्याले शरीरमा डर लाग्ने, ढुक ढुक हुने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने देखि लिएर शरीर दुख्ने, टाउको दुख्ने, झम झम गर्ने, पोल्ने आदि लक्षणहरु देखिन्छन् ।

एन्जाइटी डिसअर्डरका प्रकारहरुः

  • प्यानिक डिसअर्डर
  • फोबिया
  • पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर
  • जर्नलाइज एन्जाइटी डिसअर्डर
  • अब्सेसिभ कम्पल्सिभ डिसअर्डर

१) प्यानिक डिसअर्डर

प्यानिक डिसअर्डर हुने व्यक्तिको मुटु धड्कन बढ्ने, डर लाग्ने, सास रोकिए जस्तो महसुस हुने, मुटुकै समस्या हार्ट अट्याक नै भएको जस्तो लाग्ने हुन्छ । कतिलाई छाती भारी हुने, मुटु दुख्ने, मरिन्छ जस्तो महसुस हुने र एकछिनमा ठिक भएको महसुस हुने आदि लक्षणहरु देखिन्छन्। यस्तो समस्या भएमा पहिले मुटुको चिकित्सकलाई देखाएपछि मुटुमा केहि समस्या छैन भने मनोचिकित्सक लाई भेट्नु पर्छ ।

२) पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर

पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर भएको व्यक्तिमा कुनै मानसिक आघात पुग्ने किसिमको घटना भोगेको पीडितलाई त्यहि घट्नाको सम्झनाले सताइ राख्ने हुन्छ । जस्तै भूकम्प आइसकेपछि मानिसहरुलाई भूकम्प गएको महिना दिन बितिसक्दा भूकम्प आउँछ कि भनेर डर लाग्ने, शरीर हल्लेजस्तो, कापेजस्तो महसुस हुने, माथिल्लो तलामा जान डर लाग्ने हुन्छ । फेरि भूकम्प आयो भने के गर्ने होला, भन्नेबारे धेरै सोच्ने र त्यस भूकम्पको सोच, त्यतिखेरको घटना आँखा वरिपरी आउने आदि हुन्छ ।

भूकम्प गएको १ वर्ष बितिसक्दा पनि यसले दुख दिन सक्छ, कत्तिलाई भूकम्प गएको ५ वर्षसम्म पनि यसले सताउन सक्छ, भूकम्पलाई महसुस गर्ने व्यक्तिहरुको मानसिक अवस्था कमजोर भइराखेको हुन सक्छ । जसले गर्दा त्यो समयमा केहि नभए पनि पछि जीवनमा आउने सामान्य समस्याले पनि उनीहरु टुट्न सक्छन् र मनोरोग आउन सक्ने सभ्भावना हुन सक्छ ।

३) जर्नलाइज एन्जाइटी डिसअर्डर

जर्नलाइज एन्जाइटी डिसअर्डर भएमा व्यक्तिलाई छटपट महसुस हुने, एकै ठाउँमा बस्न नसक्ने, कता जाऊ के गरौ जस्तो अस्थिर महसुस भइरहने हुन्छ । त्यस्तै आत्तिने, जुनसुकै काम गर्दा पनि मन शान्त नहुने हुन्छ । यस्ता समस्या ३ देखि ६ महिनासम्म देखिएमा मनोचिकित्सकलाई देखाउनु अनिवार्य हुन्छ ।

४) अब्सेसिभ कम्पल्सिभ डिसअर्डर

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भएमा कुनै व्यक्तिले मन ग्रस्त हुने विचार बारम्बार आउँदा यो सही होइन भन्ने थाहा हुँदा पनि त्यसलाई रोक्न असक्षम हुन्छन । जब उक्त व्यक्ति यो विचारलाई रोक्न खोज्दछ, उसलाई छट्पट महसुस हुने, आत्तिने, डर लाग्ने आदि हुन्छ ।

५) फोबिया

फोबिया कुनै पनि एक बिशिष्ट कुरासँग डराउनु जस्तै कुकुरसँग डर लाग्ने, उचाईसंग डर लाग्ने, बन्द कोठामा डराउने, भिडमा बिनाकारण डर सुरु हुने, सास फेर्न गारो हुने जस्तो समस्या देखिन्छ, त्यस्तै कतै मानिसहरु बसेर कुरा गरिराखेका छन् भनेपनि डर लाग्ने, अँध्यारोमा डर लाग्ने, एक्लै हिड्न डर लाग्ने आदि समस्या फोबिया अन्तर्गत पर्दछन । यो समस्यासँग प्यानिक डिसअर्डर पनि जोडिएको हुन सक्दछ ।

मानसिक स्वास्थ्य समस्या हाम्रो शारीरीक समस्या जस्तै नै यसको लक्षणहरु महसुस भएमा आफ्नो नजिकको साथीभाई वा परिवारको सदस्यसँग खुलेर आफुलाई महसुस भइरहेको कुराहरुबारे उनीहरु सँग सेयर गर्नु होस् र आवश्यक छ भने मनोचिकित्सकको परामर्श लिनु होस् । यसलाई सामाजिक दृष्टिकोणको कारण लुकाएर राख्दा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button