मुख्य समाचारशिक्षा स्वास्थसमाचार

चुरोटका खिल्लीमा पनि चेतावनीमुलक स्वास्थ्य सन्देश राख्दै क्यानडा

Gobal IME Bank

टोरन्टो । सुर्तीजन्य पदार्थविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने योजना अनुसार क्यानडाले अब उत्पादन हुने चुरोटका प्रत्येक खिल्लीमा चेतावनी मुलक स्वास्थ्य सन्देश राख्ने निर्णय गरेको छ ।

सन् २००१ देखि नै चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक सन्देश राखेको क्यानडाले यो अभियानलाई थप प्रभावकारी बनाउनका लागि खिल्लीमा नै सन्देश राख्ने निर्णय गरेको हो । यसरी खिल्लीमा चेतावनीमुलक सन्देश छाप्ने क्यानडा विश्वकै पहिलो देश हो ।

खिल्लीमा चेतावनीमुलक सन्देश छाप्नु पर्ने नियम आगामी १ अगष्ट देखि चरणवद्ध रुपमा कार्यान्वयनमा आउने बताइएको छ ।

अधिकारीहरुले यो व्यवस्था कार्यान्वयनमा आउँदा अब प्रत्येक खिल्लीमा फरक फरक स्वास्थ्य सन्देश भएको पाईने बताए । उनीहरुका अनुसार अब चुरोटका खिल्लीहरुमा फरक फरक सन्देशहरु राखिनेछन् जस्तै; चुरोटले तपाइको अंग विगार्छ, चुरोट क्यान्सरको कारक तत्व हो । ल्युकेमियाको कारण चुरोट हो । तपाई हरेक सर्कोमा विष तान्दै हुनुहुन्छ लगायतका सन्देश हुनेछन् ।

सन् २०३५ सम्ममा क्यानडाले सुर्तीजन्य पदार्थको प्रयोगलाई ५ प्रतिशत भन्दा कममा झार्ने योजना बनाएको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले यो अभियानलाई त्यसैको एक हिस्सा हो भनेका छन् ।

नयाँ प्रावधानबारे जानकारी दिन बुधबार आयोजित कार्यक्रममा अधिकारीहरुले नयाँ उत्पादनमा स्वास्थ्य चेतावनीबाट बच्न लगभग असम्भव हुने भनेको छ ।

यो सन्देशहरु टिपिङ पेपरमा तयार हुने हरेक चुरोटका खिल्ली, सानो आकारको सिगार, ट्युव र अन्य सुर्तीजन्य पदार्थमा राखिनेछ ।

त्यसो त क्यानडाले यो नियम यत्तिकै ल्याएको होईन् । गतवर्ष झण्डै ७५ दिनको सार्वजनिक परामर्श पछि यो कदम चालिएको हो ।

‘चुरोटको खोलमा चेतावनीमुलक सन्देश त थियो नै अब भित्र भएका खिल्लीहरुमा पनि सन्देश हुनेछन् । यसले अभियानलाई सकारात्मक दिशा दिने अधिकारीहरुले बताएका छन्।

क्यानडाका मेन्टल हेल्थ एण्ड एडिक्सन मन्त्री क्यारोलिन बेनेटले सुर्तीजन्य पदार्थको प्रयोगले आफ्नो देशमा बार्षिक ४८ हजार बढीको ज्यान लिने गरेको बताईन् ।

‘हामी चुरोटको प्रत्येक खिल्लीमा चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने विश्वकै पहिलो देश हुँनेछौँ,’मन्त्री बेनेटले अगाडी थप्नुभयो, ‘हाम्रो यो साहसी कदम हो ।’

सरकारको यो कदमलाई क्यानेडियन क्यान्सर सोसाइटी, हार्ट एण्ड स्ट्रोक फाउन्डेशन क्यानडा, तथा क्यानेडियन लंङ्स एसोसिएसनले स्वागत गरेको छ । उनीहरुले सरकारको पछिल्लो कदमले विशेषगरी युवा वर्गलाई धूमपानको लतबाट रोक्नेछ ।

धूमपान फोक्सोको क्यान्सर, मुटु रोग र स्ट्रोकको जोखिम कारक मानिन्छ ।

अमेरिकामा गरिएको एक अध्ययनले सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक स्वास्थ्य सन्देश राख्दा यसको उपभोग दर कम भएको देखिएको छ तर केही अध्ययनहरुले यसले सुर्तीजन्य पदार्थको कुलतमा लागिसकेका मानिहरुलाई भने सघाउ पुरयाउँदैन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार सन् १९६० को मध्येमा ४२ प्रतिशत अमेरिकीहरु वयस्कहरु धूमपान गर्दथे । सन् २०२१ मा त्यो संख्या ११ प्रतिशतमा झरेको छ तर अहिले विद्युतीय चुरोट भेपको प्रयोग बढेको देखिन्छ ।

नेशनल टोबाको एण्ड निकोटिन सर्भे २०२१ का अनुसार क्यानडामा १५ वर्ष वा सो भन्दा माथिका धूमपान गर्नेहरुको दर लगभग १० प्रतिशत छ । त्यहाँ पनि अमेरिकामा जस्तै विद्युतीय चुरोटहरुको प्रयोगदर बढदै गएको छ । पछिल्लो सर्भेले १७ प्रतिशत बढीले भाप प्रयोग गरेको देखाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button