Friday , 24 September 2021

के हो डिप्रेसन र एन्जाइटी ?

depression

मानसिक रोगको श्रेणीमा ती रोगहरु आउँछन् जसको सम्बन्ध हाम्रो मनसँग रहन्छ । मानसिक रोगको प्रभावले शरीरको अङ्गमा कुनै प्रत्यक्ष विकृति हुँदैन तर त्यसले मनलाई गहिरो नकारात्मक प्रभाव पार्दछ र मनको हरेक कृयालाई विकृत बनाउँदै जान्छ ।

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार मनोरोग कुनै पनि व्यक्तिको मानसिक स्वास्थ्यको त्यो स्थिति हो जब उसले सामान्य तनावलाई सामना गर्न सक्दैन, सामान्य डरलाई व्यवस्थित गर्न सक्दैन र सामान्य शंकालाई निवारण गर्न सक्दैन ।

मनोरोग संसारमा जसलाई पनि हुन सक्छ । यसले धनी गरिब भन्दैन, न जात, भाषा, लिंग छुट्याउँछ । संसारका १५ प्रतिशत मानिसहरु सामान्य तथा जटिल खालका मानसिक समस्याबाट ग्रसित छन् । नेपालका हकमा कुरा गर्दा लगभग ४० लाख व्यक्ति सामान्य तथा जटिल मानसिक रोगबाट पीडित छन् ।

यति धेरै मानसिक रोगीहरु भएको देशमा अस्पताल तथा चिकित्सकको स्थिति भने नाजुक छ । देशभरीमा जम्मा एउटा सरकारी मानसिक अस्पताल पाटनमा छ । मनोचिकित्सकहरु १०० जनाको हाराहारीमा छन् । यस हिसाबले एक जना मनोचिकित्सकले ४० हजार बिरामीहरुको उपचार गर्नुपर्छ, जुन असम्भव जस्तै छ ।

मानसिक रोगका विषयमा समाजमा धेरै भ्रमहरु छन् । मानसिक रोग भन्नेवित्तिकै पागलपन भनेर बुझ्नेहरुको जमात ठूलो छ । तर शरीरमा लागेका हरेक घाउ क्यान्सर हुँदैन भनेजस्तै हरेक मानसिक रोग पागलपन होइन । मानसिक रोगको उपचारमा परिवारको सहयोगको अत्यधिक ठूलो भूमिका हुन्छ ।

पतिपत्नी, बुवाआमा, बच्चाहरुको जिम्मेवारी जस्ता कुराले मनोपिडितलाई धेरै फरक पर्छ । परिवारले बिरामीलाई निरन्तर माया, प्रेम, उत्साह, प्रेरणा, जागरुकता दिइरहनु पर्छ । किनकी बिरामी चिन्तित, कठोर, दुखी, आलोचनात्मक र विरक्तभाव लिएर बसेको हुन्छ ।

मनोवैज्ञानिक चिकित्सापद्दतिका केही पक्षहरु परिवारले पनि सिक्नु आवश्यक छ । मानसिक समस्या समाधानका लागि बिरामी र विरामीका आफन्तले बुझ्नु जरुरी छ कि यसको उपचार पद्धति लामो र जटिल पनि हुन्छ । सुरुसुरुमा हुने झन्झटको सामना गर्दै ठीक हुने दृढसंकल्प राख्नुपर्छ । हरेक मनोपीडा, मानसिक समस्या र मनोरोग पूर्णरुपमा निको हुन सक्छन् ।

नेपालमा मुख्यत २ प्रकारका सामान्य मनोरोग अत्यधिक मात्रामा देखा परेका छन् । जसको छोटकरीमा व्याख्या तल गरिएको छ ।

१. अवसाद, डिप्रेसन Depression

दिन प्रतिदिन निराश रहने तथा कुनै काममा मन नलाग्ने अवस्थालाई अवसाद वा डिप्रेसन भनिन्छ । डिप्रेसन भएका व्यक्तिलाई घर, परिवार, काम काज, सुख, आराम तथा वैभव सबै व्यर्थ लाग्न थाल्छ तथा जीवन अत्यन्तै वोझ भएको महशुस हुन थाल्छ । डिप्रेसनलाई दुई प्रकारमा विभाजन गरिएको छ ।

क. रिएक्टिभेट डिप्रेसन

रिएक्टिभेट डिप्रेसन कुनै घटनाको परिणामले हुन आउँछ । पि्रय व्यक्तिको मरण, माया प्रेममा असफलता तथा धोखा, जीवनको असफलता, आर्थिक हानी आदिको कारण रिएक्टिभ डिप्रेसनको सिकार बनिन्छ ।

ख) एन्डोजिनस डिप्रेसन

एन्डोजिनस डिप्रेसन व्यक्तिको भित्रैबाटै कुनै रोगको कारण उत्पन्न हुन्छ । भाइरल इन्फेक्सन तथा हर्माेनमा परिर्वतनका कारण यो डिप्रेसन भएको पाइएको छ । औषधिको अत्यधिक सेवन, थाइराइड ग्रन्थीले ठीकसँग काम नगर्नाले, मधुमेह रोगका कारण, अधिक डाइटिङ गर्नाले पनि एन्डोजिनस डिप्रेसन हुने गर्दछ ।

डिप्रेसन रोगमा मुख्यतः शारीरिक तथा मानसिक शक्ति कमजोर हुँदै जाने, निन्द्रा नलाग्ने, भोक नलाग्ने, कब्जियत हुने, टाउको दुख्ने, रिस उठ्ने हुन्छ । एकान्तमा बस्ने प्रवृत्ति, आफैँलाई घृणा गर्ने, कुनै काममा मन नलाग्ने, मनमा असुभ विचारहरु मात्र आउने, शरीर दुख्ने, विना काम थकान हुने, यौन सम्पर्कमा अरुची हुने, काम इच्छा लगभग समाप्त हुने, हतास देखिने, वर्तमान समय देखि असन्तोष भएर जीवनलाई नै नर्कसँग तुलना गर्न थाल्नु यो रोगका लक्षणहरु हुन् ।

२. आत्तिने समस्या दुश्चिन्ता बिकार (Anxiety Disorder)

कुनै बास्तबिक आधार नहुँदा नहुँदै पनि अब कुनै नराम्रो हुन्छ कि या गलत घटना घट्छ कि भन्ने आशंका हुनु नै दुश्चिन्ता बिकार (Anxiety Disorder) हुनु हो । यसलाई आत्तिने समस्या, बेचैनी विकार, चिन्ता विकार, व्यग्रता विकार पनि भनिन्छ ।

धेरथोर चिन्ता त जो कोहीलाई हुन्छ र हुन पनि जरुरी छ । हल्का चिन्ताले हाम्रो व्यक्तित्व बिकासमा सहयोग पुर्‍याउँछ । तर जब चिन्ता धेरै बढ्न थाल्छ तब त्यसको ब्यापक दुष्प्रभाव सामाजिक, आर्थिक, मानसिक, शारीरिक, पारिबारिक लगायत ब्यापक क्षेत्रमा पर्न जान्छ अनि हामीलाई दुश्चिन्ताको समस्याले सताउँछ र हामी बिस्तारै दुश्चिन्ता बिकार रोगतर्फ धकेलिन पुग्छौं ।
दुश्चिन्ता बिकार निम्न प्रकारका छन्ः

क. सामान्यीकृत चिन्ता बिकार (Generalized Anxiety Disorder)

यसमा व्यक्ति आवश्यकताभन्दा धेरै अस्वभाविक तथा अवास्तविक चिन्ताबाट ग्रसित हुन्छ । यो चिन्ता सामान्य कुरासँग सम्बन्धित हुन्छ, अनि लगातार भइरहन्छ । बारम्बार बेचैनी, चिन्ता वा डर हुनु वा लगातार वेचैनीको भावना आउनु पनि एक प्रकारको मानसिक रोग हो ।

यो रोग लागेपछि विरामी अशान्त रहन्छ, ठिकसँग सोचविचार गर्न नसक्ने हुन्छ, निद्रा धेरै लाग्दैन, डरलाग्दो मात्रै सपना देख्छ, हत्केलामा पसिना आइरहन्छ, बोल्न कठिन हुन्छ, श्वासप्रश्वासममा कठिनाई हुन्छ, मुटुको धड्कन बढ्छ, यौन सम्पर्कमा रुचि हुँदैन, पेटमा खरावी हुन्छ, अत्यधिक मात्रामा पिसाव आउँछ अनि रोगी डराएको महसुस गर्दछ ।

अन्य लक्षणमा चिडचिडाहट हुनु, काम गर्न मन नलाग्नु, समस्याको समाधान गर्न असमर्थ हुनु, सहि तरिकाले काम गर्न सक्दिन कि भन्ने डर तथा विभिन्न प्रकारको बिरामी हुन्छु कि भन्ने डर हुन् ।

ख. अत्याधिक छटपटी बिकार Panic Disorder or Anxiety Attacks

आफु बेचैन भएको बेला निम्नमध्ये कुनै ४ कुरा एकैपटक हुन सुरु गर्‍यो भने बुझ्नुहोस् कि लगभग १० मिनेट भित्र तपाईलाई Panic Disorder or Anxiety Attacks हुनसक्छ ।

अत्याधिक छटपटी, हृदय गति बढ्नु, पेट पोलिरहेको जस्तो लाग्नु, पसिना आउनु, चक्कर आउनु, स्वास धेरै जोडले चल्नु, कम्पन या थरथराहट हुनु, मांसपेशी दुख्नु, धमिलो दृष्टि, श्वास फेर्न अˆठ्यारो हुनु, श्वास रोकियला जस्तो हुनु, टाउकोमा दबाब छ जस्तो लाग्नु या टाउकोमा बेचैनी हुनु, पेट दुखेको हुनु, चक्कर, असन्तुलन, कमजोरी या बेहोश हुनेजस्तो हुनु, सम्झने शक्ति घट्नु (अवास्तविकता को अनुभव) वा व्यक्तित्व लोप, नियन्त्रण गुमाउछु कि जस्तो हुनु, मरि पो हाल्छु कि जस्तो लाग्नु, घुंडामा कमजोरी हुनु, भ्रम हुनु, सुरुङ जस्तो दृष्टि देखिनु, दिमाग पूर्ण खाली भएको लाग्नु, समय एकदम ढिला चलिरहेको छ जस्तो लाग्नु, म अहिले नै यहाँबाट भाग्नुपर्छ कि जस्तो लाग्नु, शरिरभित्र ज्यादै गर्मी भएको जस्तो लाग्नु आदि ।

Panic attack अचानक सुरु भएर छोटो अबधिको लागी हुने गर्दछ । थोरै मानिसलाई अलि लामो समयसम्म पनि हुन पुग्दछ । यस्तो समयमा मेरो मुटु फुट्छ कि, स्वास फेर्न सक्दिन कि या बिर्सन्छु कि, मर्छु कि, मानसिक सन्तुलन गुम्छ कि, बेहोस हुन्छु कि जस्तो लाग्छ र पुरै शरीर थेगिन नसकिने जस्तो अनुभव हुन्छ ।

बारम्बार यो समस्या दोहोरिनुलाई Panic Disorder भनिन्छ र बारम्बार यो समस्याले सताउँछ कि भनेर सोचेर डराएर तड्पेर बसिन्छ । संसारभरि यो समस्याले धेरैलाई सताएको छ ।

basu aacharya
       मनोविद वासु आचार्य

ग. अनावश्यक डर वा फोबिया

मानव प्रकृति नै यस्तो छ कि जोसँग उसलाई डर लाग्छ र जुन चिजबाट उसलाई खतरा छ, त्यसबाट ऊ सँगै टाढा रहन्छ । कोही व्यक्ति, स्थान, परिस्थिति वा वस्तुप्रति मनमा बसेको भय नै डरको विरामी हो र भय स्वयं चिन्ताको कारण पनि हो । साधारण डर र डराउने रोगमा फरक छ । खतराको स्थितिमा जुन शारीरिक एवं मानसिक प्रतिकृया हुन्छ त्यो साँच्चिकै डर हो, तर अनावश्यक कारणले भयको अनुभूति वा काल्पनिक कारणले भयभित हुनुचाहिँ रोग नै हो ।

डरका धेरै मनोवैज्ञानिक कारणहरु हुन्छन् । विभिन्न अनुसन्धानबाट निस्केको निस्कर्ष अनुसार डर २७५ प्रकारका हुन्छन् । जसमा हवाइजहाज यात्राको डर, पानीको डर, उचाइको डर, मुसाको डर, वन्द कोठाको डर, अँध्यारोको डर, फोहोरको डर आदि यसका उदारणहरु हुन् ।

घ. मनोग्रस्ती बाध्यकारी विकार Obsessive-compulsive disorder

जब कुनै बिचार, इच्छा, शंका या दृश्य नसोचौं भन्दा पनि बारम्बार आहिरहन्छ, त्यसलाई ओब्सेशन्स भनिन्छ । यो निराधार, अनाबश्यक बिचार हो भन्ने जान्दा जान्दै पनि त्यसलाई रोक्न सकिरहेको हुँदैन । ओब्सेसनले मानिसलाई धेरै तनाबग्रस्त तथा अशान्त बनाइरहेको हुन्छ जसले गर्दा दैनिक जीवनमा अत्यधिक बाधा पुर्‍याइरहेको हुन्छ ।

जब कुनै ब्यक्ती कुनै कार्य आवश्यक छैन भन्ने जान्दाजान्दै पनि बारम्बार त्यो कार्य गर्न वाध्य हुन्छ, त्यसलाई कम्पल्सन्स भनिन्छ । मुख्यतया (Obsessive) को प्रतिकृयास्वरुप त्यसलाई रोक्न को लागि गरिन्छ । जस्तै जो ब्यक्तीलाई फोहोरको OCD छ त्यो आˆनो हात बारम्बार धोएर आˆनो हात सफा छ वा सफा भयो भनेर सुनिश्चित गर्न लागिपर्छ । बारम्बार हात नधुँ दा आफु अत्यधिक तनाब र घबराहटको स्थितिमा पुग्छ, अन्ततः हात धुन बिवस हुन्छ ।

OCD को रोगीले कुनै सम्भाबित दुर्घटना वा खतरा हुन्छ कि भनेर बच्नको लागि यो कार्यहरु बारम्बार दोहोर्याउछ । कुनै कम्पल्सन्स अलिक बिशेष तरिकाबाट गरिन्छ । ब्यक्ति विशेष कुनै कार्यलाई एक बिस्तृत क्रमबद्ध तरिकाले गरिरहन वाध्य हुन्छ र श्रृङ्खला टुट्यो भने पुरै प्रकृया सुरुदेखि नै दोहोर्‍याउन पुग्छ, अन्यथा बेचैनी ज्यादै बढ्छ । त्यसैले पनि सानो-सानो कामको लागि पनि धेरै समय लाग्न जान्छ ।

केही ओब्सेसन्स मानिस लाई छुदा या बातावरण को कुनै चिजद्वारा फोहोर लाग्ने डर, नियमको बिरुद्ध बिचार, अरुलाई या आफैलाई हानी पुर्‍याउने वा पुग्ने बिचार, काम सही ढंगले गरिरहेको छुइन भनेर शंका गर्ने बिचार, नुहाउदा हुहाउदै नाङ्गै बाहिर निस्किन्छु कि भने डर, यौनिक दृश्य या बिचार बारम्बार आउनु, छाडा फोहोरी गाली बोलिन्छ कि भन्ने डर, बाटोमा हिँडेका महिला र पुरुषलाई च्याप्प समात्ने बिचार, चक्कुले छोराछोरी वा श्रीमतीलाइ हान्छु कि भन्ने विचार, कुनै रोग लगेर मरिन्छ कि भन्ने डर, हरेक चिजलाई एकै तरिकाबाट मिलाएर राख्ने डर आदि । केही कम्पल्सन्स बारम्बार हात धुनु, नुहाउन धेरै समय लगाउनु, घरको चिजहरु बारम्बार सफा गर्नु, चिजहरुलाई एकै तरिकाले मिलाएर राख्नु, ताला, ग्यास, बत्ती बारम्बार चेक गरिरहनु, कपडा लाउदै फुकाल्दै गरिरहनु, बारम्बार अंक गनिरहनु, चक्कु, छुरी घरमा नराख्नु , केहि गलत गर्छु कि भनि घरबाट बाहिर ननिस्किनु, कुनै काम बारम्बार गरिरहनु -जस्तै ढोका बाहिर जादै भित्र आउँदै गर्नु), बारम्बार अरुबाट आश्वासन माग्नु आदि ।

ङ. सामाजिक चिन्ता विकार Social anxiety disorder or Social Phobia

यो समस्याबाट ग्रस्त मानिस कुनै सामाजिक वातावरणमा जान वा भाग लिन ज्यादै डराउँछ । यदि सभा सम्मेलन कार्यक्रममा भाग लिनपर्ने नै परिस्थिति भए त्यो बेलामा उसको डरको मात्रा अत्यधिक बढ्छ । साथीहरुले के भन्लान्, मैले बोल्नुपर्छ होला, बोल्नुपर्‍यो भने म सक्दिन, अनि मलाई लाज हुन्छ होला, म आत्तिन्छु होला भनेर उक्त कार्यक्रममा जानुअघि नै सोचेर विक्षिप्त भैसकेको हुन्छ र उसलाई ज्यादै कष्ट हुन्छ । यसैका कारण उसको हरेक कार्य तथा हरेक क्षमता कम हुदै जान्छ र उ दुखी बन्न पुग्छ ।

च. अभिघातजन्य तनाव बिकार (Post-traumatic stress disorder)

अत्यधिक डरलाग्दो कुनै घटना या दुर्घटनाबाट प्रत्यक्ष गुजि्रएको, सहभागी भएको, भोगेको वा अनुभव गरेको व्यक्ति लाई त्यहि घटनाले सताइरहन्छ, उक्त घटनाको फ्ल्यासब्याकले तनाब दिरहन्छ र त्यस घटनाको चिन्ताले अस्तब्यस्त बनाइरहन्छ भने यसलाई अभिघातजन्य तनाव बिकार Post-traumatic stress disorder भनिन्छ ।

त्यस घटनाको डर चिन्ताले मानिस अनियन्त्रित हुन पुग्छ, दैनिक कार्य गर्न असमर्थ हुन्छ, आफु दुखी भएको महसुस गर्दछ र त्यस्तै घटना दोहोरिन्छ कि भनेर सधै आत्तिइरहन्छ । यसको उदाहरण कुनै गंभीर दुर्घटना, सैन्य तथा आतंकबादी हमला, बलात्कारको घटना, प्राकृतिक आपत्ति जस्तै भूकम्प, सुनामी आदि हुन् ।

छ. जनातङ्ंक वा भिडको (Agoraphobia)

कुनै ठुलो भिड, खाली स्थान, हवाई अड्डा जस्तो ठाउमा तुरुन्त ठुलो हमला भएर कुनै झगडा भएर या कुनै दुर्घटना भएर मर्ने सम्भावना ज्यादै छ, जहाँ लुक्न या बच्न कुनै सम्भव छैन भनेर डराउनु त सार्वजनिक या अपरिचित स्थान मा नजाने समस्या नै जनातङ्क वा भिडको Agoraphobia हो । यस्तो समस्या हुने मानिस आˆनो घर तथा घर वरिपरि मात्र सिमित हुन्छन् ।

ज. परिस्थितिजन्य दुश्चिन्ता (Situational anxiety)

ज्यादै नै नयाँ परिस्थिति तथा कुनै अकल्पनीय परिवर्तित वातावरणका कारण हुने अत्यधिक घबराहट चिन्ता वा डर नै परिस्थितिजन्य दुश्चिन्ता Situational anxiety हो । ऋणले चुर्लुम्म भएर सडकमा आएको अवस्थामा समाजसँग असहज भएको अवस्था, विवाहको दिनको असहजता, कलेजको प्रथम दिन, बच्चा जन्माउने दिनको तड्पाई लगायत बिषयलाई आफुले सामान्यकृत गर्न नसक्दा यो समस्या देखिन सक्छ ।

झ. बिछोडको दुश्चिन्ता (Separation anxiety)

घरबाट टाढा कुनै काम, अध्ययन या अन्य कार्यको लागि गएको अवस्थामा आफ्नो प्रियजन, आफ्ना आफन्त, साथीसङ्गी, भाइ बहिनी, देखभालकर्तासँग को बिछोडले गर्दा आउने अत्यधिक तड्पाई नै बिछोडको दुश्चिंता (Separation anxiety) हो । यो समस्या भएको मानिसमा काम गर्न मन नलाग्नु, सधै घरको याद मात्र आउनु, दुखी हुनु, मजा नआउनु लगायतका धेरै लक्षणले ग्रसित हुन्छ ।

विश्व स्वास्थ्य संगठनले सामान्य खालका मानसिक रोगका लागि मुख्य २ वटा उपचार पद्धतिहरु स्थापित गरेको छ ।

१. मनोवैज्ञानिक चिकित्सा पद्धति (साइकोथेरापी)

मनोवैज्ञानिक चिकित्सा पद्धतिमा मनोपिडितको विचार, भावना, शारीरिक लक्षण र व्यवहारलाई मध्यनजर गर्दै जीवनलाई स्वास्थ तरिकाले अघि बढाउन विभिन्न तरिका, सुत्र र थेरापीहरु सिक्ने र गराउने गरिन्छ । यो पद्धतिबाट मानसिकरुपमा विचलित भएकाहरुलाई स्वस्थ रहन अति नै फाइदा मिल्छ ।

२. औषधिसेवन

सामान्य मानसिक समस्या हुनेहरुलाई हाम्रो मस्तिष्कको serotonina dopamine, noradrenalina लगायतका रसायन थपघटका लागि औषधि प्रभावकारी हुन्छ । विशेषगरी मानसिक समस्याका औषधिमध्ये एन्टिसाइकोटिक, बेन्जोडाइजापिन, एन्टिडिप्रेसन, सम्हाल्न नसकिने अवस्थामा दिइने औषधि, उन्मादविरुद्धका औषधि, सेरोटेनिक रिअपटेड इन्हिबिटर्स लगायतका महत्वपूर्ण औषधिले मनोपिडितलाई मानसिक रुपमा स्वस्थ हुन भरपुर सहयोग गर्दछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle