
काठमाडौँ । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बन्नुभएका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । यहाँ आयोजित एक पत्रकार भेटघाटमा उहाँले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी दिनुभयो ।“चलचित्रको लेखनको कार्य भइरहेको छ, यो पारिवारिक कमेडी चलचित्र बन्नेछ”, निर्देशक सुनारले भन्नुभयो, “यो पनि समाजसँग जोडिएको कथा हो । यसमा नेपालसँगै विदेशको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्ने तयारीमा छु ।”
यस्तै, सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएर यसको एक पोस्टरसमेत सार्वजनिक गरिएको छ । यसमा अभिनेताका रुपमा आर्यन अधिकारी अनुबन्धित भएका छन् । “चलचित्रको कथा सुनेपछि अभिनय गर्न सहमत भएको हुँ”, अभिनेता अधिकारीले भन्नुभयो ।
हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहनुभएको चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ ।




