गुड न्यूज 24मुख्य समाचारसफल कथासमाचार

विदेशबाट फर्केर गाउँमै पिउने पानी उद्योग, युवाहरुलाई रोजगारी

Gobal IME Bank

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गर्नुभएको छ ।

करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उहाँले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग सञ्चालन गर्नुभएको हो । पानी उद्योगसँगै उहाँले सिरक डसना उद्योगसमेत सञ्चालन गर्नुभएको छ । “नौ वर्ष मलेसियामा सुरक्षागार्डका रुपमा काम गरे ।” उहाँले भन्नुभयो, “अर्काको देशमा १२/१२ घण्टा काम गर्नुभन्दा आफ्नै देशमा १२ घण्टा काम गरे सफल भइन्छ भन्ने सोच आयो अनि घरमै उद्योग सञ्चालन गरेको हुँ ।”

डेढ दशकअघि रोजगारी खोज्दै खाडी मुलुक पुगेका उहाँले अहिले उद्योगमा पाँच जनालाई रोजगारी दिनुभएको छ । उहाँले तीन वर्षअघि रु ३८ लाखमा उद्योग स्थापना गरेर काम सुरु गरेको बताउनुभयो । “अहिले पाँच जनाबाहेक मलाई बुवा र श्रीमतीले पनि सहयोग गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउँछु भनेर लागेको छु ।” उहाँले फुर्सदका समय निकालेर कृषि कार्यमा समेत लागेको बताउनुभयो । “फुर्सद भएका बेला आफ्नै खेतमा काम गर्छु ।” उहाँले भन्नुभयो, “सिजनका बेला गन्नाको जुस पनि बिक्री गर्ने गरेको छु ।” उहाँले पुराना सिरक डसनाबाट नयाँ सिरक डसना बनाउने गरेको बताउनुभयो ।

“अहिले बेदकोट नगरपालिकामा मात्रै बिक्रीवितरण गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “बाहिर बजारमा अवस्थ्य प्रतिस्पर्धा छ स्थानीय बजारमै सन्तुष्ट छु ।” स्वदेशमा उद्यम गर्नका लागि थुप्रै समस्या भए पनि अर्काको देशमा मेहनत गर्नुभन्दा आफ्नै देशमा मेहनत गर्न लागेको उहाँले बताउनुभयो । “यहाँ केही गर्न चाहनेलाई राज्यबाट सहयोग भएको देखिएन”, उहाँले गुनासो गर्दै भन्नुभयो, “कृषिमा पनि गर्नेले कहिले सहुलियत अनुदान पाउँदैन नगर्नेले अनुदान पाएको हुन्छ ।”

उहाँले यहाँ बजारको मुख्य समस्या रहेको बताउनुभयो । विदेशबाट फर्केर स्वदेशमा उद्यम गर्नेलाई स्थानीय सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै निकायबाट सहयोग नभएको उहाँको भनाई छ । यहाँ कृषि गर्न चाहनेका लागि पनि सरकारले वातावरण बनाउन नसकेको उहाँको दुखेसो छ । “आफ्नै खेतबारीमा केही उत्पादन गरौँ भने पनि त्यस्तो वातावरण छैन”, उहाँले भन्नुभयो, “समयमा मलखाद र बीउबिजन पाउन मुस्किल पर्छ ।” उहाँले सरकारले समयमै मलखाद र बीउबिजन उपलब्ध गराए विदेशिने युवा रोकिने बताउनुभयो ।

“अहिले पनि दैनिक सयौँ युवा विदेश गइरहेका छन् यहाँ रोजगारी नपाएर नै हुन”, उहाँले भन्न्ुभयो, “सरकारले आफ्नो भूमिमा उत्पादन गर्ने उद्यमीका लागि विशेष सुविधा दिनुपर्छ ।” उहाँले आफ्नो उद्योगबाट पर्याप्त आम्दानी नभए पनि परिवारको जोहो भइरहेको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button