लगातार दुई दिनको हिमपात र वर्षाले जुम्लाका किसान हर्षित
जुम्ला । लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि यहाँका किसानहरु हर्षित भएका छन् ।मङ्गलबार र बुधबार परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली तथा स्याउका बिरुवालाई राहत हुने भएपछि किसानहरु हर्षित भएका हुन् ।
आकासे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपातले फाइदा गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।
सिँचाइको अभावले हिउँदे बाली लगाउन समस्या भइरहेका बेला परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरुवा लगाउन सहज भएको स्थानीय बताउछन् ।समयमा पानी नपर्दा गहुँ, जौ तथा बेमौसमी तरकारीलगायतका बाली सुकेर किसानहरु चिन्तित भएका थिए ।
जुम्लालगायत माथिल्लो कर्णालीमा भएको भारी हिमपातका कारण हवाई सेवा बन्द हुदाँ यात्रुलाई सास्ती भएको थियो ।
जुम्ला विमानस्थलमा जमेको हिउँ बिहीबार बिहानदेखि नेपाली सेना, प्रहरी र सशस्त्र बले हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको नागरिक उडान प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ ।जिल्लाको उच्च भेगमा करिब दुईदेखि तीन फिटसम्म हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । बिहीबारदेखि मौसम सफा भएपछि विस्तारै जाडो कम हुँदै गएको छ ।