मुख्य समाचारसमाचार

स्वास्थ्य प्रवर्धन केन्द्रको सेवा र फोहोर व्यवस्थापनको उपप्रमुख डंगोलबाट प्रशंसा

महानगरपालिका र मेड्सा डु मोन्ड फ्रान्सको सहकार्यमा केन्द्र सञ्चालन तथा व्यवस्थापन

Gobal IME Bank

काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, सञ्चालन र व्यवस्थापनका लागि आफैँभित्र पनि अनुकरणीय सिकाइ भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज वडा १९ मा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रको निरीक्षण पछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

‘काठमाडौँ सहरले विपन्न र मध्यम वर्गलाई पनि आश्रय दिएको छ । उनीहरु महङ्गो स्वास्थ्य सेवा लिन सक्दैनन् । यदि लिए भने पनि त्यसपछिको आर्थिक अवस्था खराव हुन सक्छ । त्यसैले महानगरपालिकाले सबैको पहुँच हुने स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना र सञ्चालनलाई प्राथमिकता दिएको छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘केन्द्रबाट प्रवाह भएको स्वास्थ्य सेवा, सेवाप्रति विरामीको आकर्षण र केन्द्रको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबाट म उत्साहित भएकी छु । राम्रा कामका लागि हामी आफैँभित्र उदाहरण छन् । ती कामको प्रवर्धन गर्न सके मात्र पनि सुधार महसुस हुनेछ ।’

२०५१ मा स्थापना भएको सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर प्रवर्धन केन्द्र बनाइएको हो । स्तरोन्नतिका लागि फ्रान्सको मेड्सा डु मोन्डसँग सहकार्य भएको हो । केन्द्रका विषयमा जानकारी लिइसकेपछि उपप्रमुख डंगोलले भन्नुभयो, केन्द्रलाई दिगो सञ्चालन गर्न अहिलेसम्मका उपलब्धीलाई काठमाडौँ महानगरपालिकाले स्वामित्व ग्रहण गरेर थप काम गर्नेछ ।

प्रवर्धन केन्द्रबाट स्थानीयबासीलाई स्वास्थ्य उपचारका लागि सहज भएको छ । निरीक्षणका क्रममा वडा १९ का अध्यक्ष राजेश श्रेष्ठले, केन्द्र सञ्चालन वडाले देखाउन मिल्ने परियोजना भएको उल्लेख गर्नुभयो ।

फोहोर व्यवस्थापनका आर्थिक, सामाजिक र जनस्वास्थ्यका अन्तर पक्षसँग समन्वय गरेर परिवर्तनको प्रयास थालिएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार हानीकारक फोहोर व्यवस्थापनमा प्रवर्धन केन्द्रको सिकाइ विस्तार गरिनेछ । श्रेष्ठका धारणामा साझा मत राख्दै जनस्वास्थ्य महाशाखाकी प्रमुख सजिना महर्जनले, यही प्रवर्धन केन्द्रलाई मापदण्ड मानेर अन्य वडाका स्वास्थ्य क्लिनिकलाई रुपान्तरण गर्न सकिन्छ ।

अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन महानगरपालिका र मेड्सा डु मोन्डको सहकार्यमा केन्द्र सञ्चालन भइरहेको छ । यसका लागि २०७८ जेठ २६ गते सम्झौता भएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता, जवाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्दै त्यसपछि प्रवर्धन केन्द्र सञ्चालनमा सहकार्य भइरहेको छ ।

मेडिकल अधिकृत डा। अस्मिता बरालका अनुसार केन्द्रबाट स्वास्थ्य परामर्श, ईसीजी, अल्ट्रा साउण्ड, निबुलाइजेसन (औषधिसहित बाफ लिने), परिवार नियोजनलगायत सेवा निःशुल्क दिने गरिएको छ । फोहोरमा काम गर्नेहरुका लागि पेशाका लागि स्वास्थ्य सजगता परामर्श, टीटी लगायतका खोप सेवा दिने गरिएको छ ।

साविकको क्लिनिकको भौतिक संरचना सुधार, प्रयोगशाला स्थापना, जनशक्ति थप, चिकित्सकीय सामाग्री तथा उपकरण थप गरेर क्लिनिकलाई प्रवर्धन केन्द्रमा रुपान्तरण गरिएको हो । रुपान्तरित केन्द्रमा मेड्सा डु मोन्डको नेपाल साझेदार ग्रीन पाथ नेपालले गएको कार्तिक महिनादेखि चिकित्साजन्य फोहोर व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ ।

बर्गीकरणसहितका बाल्टिन, निडल कटर (खोपका सुई), ४० लिटर क्षमताको अटोक्लेभ मेसिन, केमिकल इन्डिकेटर, प्रकृति अनुसारको फोहोर संकलन र भण्डारणका लागि छुट्टाटुट्टै कक्ष (प्लाष्टिक, प्लाष्टिकका बोतल, कागज, नफुटेका शिशा, धातु, सिरिञ्ज, पञ्जा, गज कटनलाई छुट्टाछुट्टै जम्मा गर्ने ठाउँ) स्थापना गरिएको हो । ग्रीन पाथका व्यापार प्रवर्धन अधिकृत उरुक्षा डंगोलका अनुसार केन्द्रबाट दैनिक १ हजार ५ सय ग्राम फोहोर उत्पादन हुन्छ । यसको करिब २५ प्रतिशत चिकित्साजन्य फोहोर (जोखिमपूर्ण) फोहोर हुन्छ । उत्पादित फोहोरमध्ये जोखिमपूर्ण फोहोरलाई अटोक्लेभमा राखेर निश्चित तापक्रम तथा समयमा सामान्य फोहोरमा रुपान्तरण गरिन्छ । यसरी जम्मा भएको सामान्य फोहोरलाई पुन चक्रमा पठाउने गरिन्छ ।

मेड्सा डु मोन्डले महानगरका अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत स्वास्थ्य सेवा दिने तथा जनस्वास्थ्य समस्या तथा समाधानका उपाय बारे अध्ययन गरिरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button