केपी शर्मा ओली, पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो । शनिवारबाट काठमाडौंमा शुरु भएको पार्टीका सांसदहरुको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताउनु भयो ।
पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरुमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।उहाँले भन्नुभयो, “हामीले कुनैपनि कार्यक्रममा समयमा आउने र समयभरी बस्ने र खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरु बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्नसक्छ । तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं, हामी सांसद हौं । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनुपर्दछ । संसदीय अन्य गतिविधिहरुमा जति बजे बोलाइएको छ, त्यतिबजे उपस्थित हुनुपर्छ । समयसीमाको पालना गर्नुपर्दछ । त्यसमा सबै साथीहरुले ध्यान दिनुपर्दछ ।”
अध्यक्ष ओलीले सांसदहरुले समयसीमालाई हेक्का राखेर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।