मुख्य समाचारसमाचार

तिहार नजिकिएसँगै भक्तपुरमा माटोका पाला बनाउन भ्याइनभ्याइ

Gobal IME Bank

भक्तपुर । नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ । यस वर्ष माग धेरै भएकाले विशेष गरी प्रजापति समुदायलाई फुर्सद नभएको हो ।

यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन ।

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै माग आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ”, वर्षौँदेखि माटोका भाँडा बनाउँदै आएका स्थानीय तालाको पोर्टरी स्क्वायरका ३८ वर्षका विनोदकुमार प्रजापतिले भन्नुभयो ।

वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उहाँले यो मौकालाई गुम्न नदिन स–परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको सुनाउनुभयो । माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उहाँले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँले पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उहाँले यस वर्ष साना र ठूला दुवै प्रकारका पालाको माग बढेकाले मागअनुसारको उत्पादन गर्न निकै गाह्रो भएको बताउनुभयो ।

माटोका भाँडा बनाउँदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै माग आएका ठाउँमा सामान पु¥याउन जान भ्याइनभ्याइ भएको देखिन्छ ।

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको एकछिन हात खाली छैन । बाजेबराजुका पालादेखि माटोका भाँडा बनाउँदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “यस वर्ष पालाको माग धेरै छ, तिहार नजिक आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्नुपर्छ भ्याउनै मुस्किल छ ।”

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुन्थ्यो, माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको आठ वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेशा नै सङ्कटमा पर्ने अवस्था आएको छ ।”

भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुरथिमिका रुजेन प्रजापतिले बताउनुभयो ।

विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्ने जनाइएको छ । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । भक्तपुरमा यसको माग बढेको पुर्खौँदेखि कुमाले पेशामा लाग्दै आउनुभएका बलराम प्रजापतिले सुनाउनुभयो ।

काठमाडौँ उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखाँै पालालगायतका सामग्रीको माग आएपछि सो समुदायलाई भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले यस्ता सामान बनाउन व्यस्त रहेका छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा रु एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र रु पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button