गुड न्यूज 24मनोरञ्जनमुख्य समाचारसमाचार

ओलम्पिकको सपना पछ्याउँदै सागर भण्डारी

Gobal IME Bank

महेन्द्रनगर । झण्डै ३३ वर्षपछि सुदूरपश्चिम भारोत्तलन खेलको इतिहासमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका सागर भण्डारी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा अघि बढेका छन् ।

सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न खेलका सम्भावित खेलाडीको सूचीमा छनोट गरेसँगै २१ वर्षीय सागर यतिबेला गृहनगरमा ओलम्पिकका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा छन् ।
सुदूरपश्चिमबाट भारोत्तलन खेलमा पहिलो पटक ३३ वर्षअघि सन् १९८८ को सिओल ओलम्पिकमा कैलाली, धनगढीका खेलाडी स्व। भरत साउदले सहभागिता जनाएका थिए ।

“ओलम्पिक कमिटीले सागरलाई भारोत्तलन खेलमा ओलम्पिकमा सहभागी गराउने उद्देश्यले छनोट गरेर अहिले बन्द प्रशिक्षणका लागि महेन्द्रनगर पठाएको छ”, भारोत्तलनका प्रशिक्षक जीवन गौतमले भन्नुभयो, “पुलिस क्लबमा आबद्ध सागरलाई बन्द प्रशिक्षणका लागि एक महिनाअघि यहाँ पठाएको हो ।”

चौध वर्षको उमेरदेखि भारोत्तलन खेलमा सक्रिय सागरले बृहत् राष्ट्रिय (आठौँ र नवौँ) मा दुई वटा स्वर्ण जितिसकेका छन् । उनी अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धाको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेका खेलाडी हुन् ।

सुदूरपश्चिमबाट भारोत्तलनमा ओलम्पिकको यात्राको पहिलो चरणमा रहेका सागरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको अनुभव र लगातारको प्रशिक्षणले मौका पाए ओलम्पिकमा उत्कृष्ट प्रर्दशन गर्ने योजना रहेको बताउँछन् ।

एक सय नौ किलो तौल समूहमा उनी दुई वर्षदेखि नेपाल प्रहरीको पुलिस क्लबमा आबद्ध छन् । “बुबा सवारी चालक भए पनि मलाई खेलकुदमा सक्रिय हुन जहिल्यै ढाडस दिनुभयो”, घरका एक्ला छोरा सागरले रासससित भन्नुभयो, “जुनियर एशियन खेल्न गएपछि अध्ययन प्रभावित भयो ।”

ओलम्पिक कमिटी र नेपाल भारोत्तलन सङ्घको मौखिक निर्देशनपछि सागरलाई आफूले बन्द प्रशिक्षणमा राखेर कबर्डहलमा प्रशिक्षण दिइरहेको प्रशिक्षक गौतमको भनाइ छ । “ओलम्पिकमा छनोट वा वाइल्डकार्ड पाएर जाने हो”, उहाँले भन्नुभयो, “भारोत्तलनमा वाइल्ड कार्ड पाएर जानु परे नेपालको प्रतिनिधत्व सागरले नै गर्नेछन् ।”

उहाँले नेपाली खेलकुदको इतिहासमा ‘वाइल्ड कार्ड’ पाएर नै अधिकांश खेलाडीले ओलम्पिकमा सहभागी जनाएको बताउनुभयो । “राम्रो खेलाडी र उमेर कम भएकाले पनि अवसर मिलेको हो”, उहाँले भन्नुभयो, “ऊ (सागर) अत्यन्त मेहनती र लगनशील खेलाडी हो ।”

त्यसैगरी बन्द प्रशिक्षणमा रहेका सागरले ओलम्पिकमा जानुअघि अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण आवश्यक रहेको बताए । “अढाई÷तीन महिनापछि दक्षिण कोरियामा छनोट प्रतिस्पर्धा हुने कुरो छ”, उनले भने, “ओलम्पिक खेल्ने सपना अब सार्थक हुने गरी परिश्रम गरिरहेको छु ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button