मुख्य समाचारसमाचार

आजको प्रतिनिधि सभा बैठकको शुन्य समयमा कुन सांसदले के भने ?

Gobal IME Bank

काठमाडौं । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसदहरुले जनताको जनजिविकामा परेका विभिन्न समस्याहरु समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले जनताको जनजीविकामा विभिन्न समस्याहरु परेको भन्दै ति समस्याहरुको समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रादेशिक अस्पताल सिन्धुलीमा सय शैय्याको सञ्चालन अनुमति भएपनि ५० शैय्याको मात्र सञ्चालन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले दक्ष जनशक्ति र प्रविधिको अभावका कारण सामान्य बिरामीको समेत बाहिरी अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएकाले सो अवस्थाको अन्त्य गर्न सरकार सँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले निर्माणकार्य सुरु भएको १४ वर्ष भइसक्दा पनि हुलाकी राजमार्ग अहिलेसम्म निर्माण हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडक र पुल निर्माणमा चरम भ्रष्टाचार, लापरबाही र ढिलासुस्ती भएको हुनाले सम्बन्धित व्यक्ति, निकाय र ठेकेदारहरुलाई कानूनी कारबाही गर्न अनुरोध गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले पुथ्वी राजमार्गको मुग्लिन पोखरा सडक २०८१ सम्ममा निर्माण सम्पन्न हुनुपर्नेमा सडकको प्रगति हालसम्म पाँच प्रतिशत मात्र रहेको भन्दै छिटो सम्पन्न गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले बालाजुस्थित बसपार्कमा आन्दोलनको नाममा अमानविय लुटपाट भएकाले दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आत्महत्याका घटना बढेको भन्दै आत्महत्या गर्न बाध्य पार्ने परिस्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्दद्व अनि व्यक्तिको आकांक्षा र परिवेश बीचको असन्तुलन आत्महत्याको मुख्य कारण निश्चय नै हुन् । तर असन्तुष्टि, आवेश र वितृष्णाका अनेक कारण निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरु एवं असल समाजको कर्तव्य हुन्छ । राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य यि चार विषयमा गम्भिर राष्ट्रिय विमर्श जरुरी छ ।’

प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई विशेषज्ञ सेवाको निम्ति उपयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य शिशिर खनालले बालाजुस्थित बसपार्कमा मजदुर आन्दोलनको नाममा भएको तोडफोडको योजनाकार र सहभागिलाई कारबाही गर्दै पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बालाई भुमिहिन र सुकुम्वासीहरुको समस्या समाधान गर्दै उचित व्यवस्थापन गराउन सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा कहिले टुंगो लाग्छ भन्ने प्रश्न गर्नुभयो । उहाँले वलात्कार आरोपी लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा राखिएको भन्दै आपत्ति जनाउनु भयो ।

प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाका अधिकांश किसानहरुको खेतीमा छाडा गाई, गोरुहरुले नोक्सान पु¥याएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य सूर्य थापाले बालाजु लुटपाटको घटनाको सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सोनु मुर्मूले कोशी अस्पतालको सेवा अव्यवस्थित र लापरबाही भएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य सोविता गौतमले लघुवित्त र सहकारीहरुले ठगी गरिरहेको भन्दै उनीहरुलाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य हीतबहादुर तामाङले सरकारले नियुक्त गरेको भाषा आयोगका आयुक्तहरुले अझैपनि सेवा सुविधा नपाएको सरकारलाई ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य हीतराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु तिब्रतासाथ अगाडी बढाउनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले गृहमन्त्री तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराहक्षेत्र मन्दिर नदी कटानका कारण संकटग्रस्त हुँदै गइरहेको भन्दै कटान रोक्ने काम गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले शिवपुरी आरक्षण क्षेत्र जाने ठाउँमा सेनाका चेकपोष्ट राखेर शुल्क लिने गरिएको भन्दै शुल्क लिने काम हटाउन माग गर्नुभयो ।

उहाँले चेकपोष्ट भने शान्ति, सुरक्षाका लागि कायमै राख्न अनुरोध गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button