काठमाडौँ। पब्जीको दक्षिण एसिया क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरणअन्तर्गत दोस्रो साताको खेल आजबाट सुरु हुँदैछ । पहिलो साताको खेलमा मङ्गोलियन पब्जी टिमहरू नेपाली टिमहरू माथि हाबी भएका थिए । आजदेखि सुरु हुने दोस्रो साताको खेलमा राम्रो खेल देखाउँने र अङ्क तालिकामा आफ्नो वर्चश्व देखाउने अवसर नेपाली पबजी टिमसँग छ ।
प्रतियोगिताको पहिलो साताको अङ्क तालिकाको शीर्ष स्थानमा मङ्गोलियन पब्जी टिम फोमिराकल भाइब्स रहेको छ । फोमिराकल भाइब्सको १८५ पोइन्ट रहेको छ । जसमा १३१ एलिमिनेसन पोइन्ट र दुई चिकेन डिनर समावेश छन् ।
१५० पोइन्टसहित दोस्रो स्थानमा नेपाली टिम स्काइलाइट गेमिङ र १४७ पोइन्टसहित तेस्रो स्थानमा म्याबटेक्स ई स्पोर्ट्स रहेको छ । यसबाहेक शीर्ष १० मा दुई नेपाली टिम टीटूके ई-स्पोर्ट्स र रअ ई-स्पोर्ट्स पनि पनि रहेका छन् ।
टीटूके ई-स्पोर्ट्स र रअ ई-स्पोर्ट्स क्रमश: १३० र १२९ पोइन्टसहित अङ्क तालिकाको सातौँ र आठौँ स्थानमा परेका छन् ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप तथा पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल जस्तो प्रतियोगिता खेलिसकेको नेपाली टिम डीआरएस गेमिङ भने अङ्क तालिको १५औँ स्थानमा रहेको छ ।
पहिलो साताको पाँचौ दिनको पाँचौ खेल सकिँदा अङ्क तालिकाका शीर्ष १२ टिमले लिभिक म्यापमा बोनस खेल खेलेका थिए, जुन डीआरएस सहित सात टिमले गुमाएका थिए ।
यो प्रतियोगिताको दोस्रो साताको खेल अगस्ट १, २, ४, ५ र ६ मा हुने छ । खेल नेपाली समयअनुसार दिउँसो ४:४५ देखि सुरु हुनेछ । प्रतियागिता ‘पब्जी मोबाइल ई स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज र युट्युब च्यानल मार्फत खेल हेर्न सकिने छ ।