समाचार

योग तथा संस्कारले ल्याएको परिवर्तन

Gobal IME Bank

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत हुनुहुन्छ ।

निर्धारित समयमा विद्यालय पुग्ने र छुट्टी भएपछि घर फर्कने उहाँको दैनिकी थियो । केही दिनमै त्यो दैनिकीमा उहाँको परिवर्तन आएको छ । उहाँ घरपरिवार, विद्यालय र समाजको बारेमा सोच्न थाल्नुभएको छ । सैद्धान्तिक ज्ञानले मात्रै सबै कुराको सिकाइ हुने उहाँको मनस्थितिलाई योग तथा संस्कार शिविरले परिवर्तन गरिदिएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई आयोजित योग तथा संस्कार शिविरमा सहभागी हुनुभएका उहाँ भन्नुहुन्छ, “पाठ्यक्रमको सिकाइसँगै शिविरमा सिकेको ज्ञान निकै महत्वपूर्ण लाग्यो । जुन सिकाइले हाम्रो व्यवहारमा समेत परिवर्तन गरेको छ ।” कक्षा १० मा अध्ययनत रेनुका विष्ट योगले शारीरिक र संस्कारले व्यवहारमा निकै परिवर्तन आएको बताउनुहुन्छ ।

“हामी व्यक्तिलाई हेरेर व्यवहार गर्छौं । विद्यालय बाहिर शिक्षकलाई भेट्दा लुक्छौँ । त्यो मेरो जीवनमा पनि लागू हुन्थ्यो”, उहाँले भन्नुभयो, “चार दिनको सिकाइले धेरै परिवर्तन आएको महसुस मैले गरेकी छु । सबैसँग घुलमिल हुनसक्ने क्षमताको विकास भएको छ ।” विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरस्वती घर्तीमगरमा अपरिचित व्यक्तिसँग बोल्ने बानी थिएन । कक्षा कोठामै आफ्नै साथीहरूसँग बोल्न नसक्ने सरस्वती चार दिने सिकाइले आफूमा धेरै परिवर्तन महसुस गरेको बताउनुहुन्छ । “पाठ्यक्रमको अध्ययनले मात्रै सबै कुरामा सक्षम छु भन्नु गलत रहेछ । हाम्रा अभिभावक अझै पनि सैद्धान्तिक ज्ञानमा विश्वास गर्नुहुन्छ । सैद्धान्तिक ज्ञानले मात्रै नपुग्दो रहेछ,” सरस्वतीले भन्नुभयो, “त्यो कुरा अभिभावकलाई सम्झाउन सक्ने भएकी छु । जुन कुरा मेरो लागि निकै महत्वपूर्ण छ ।”

नेहारिका चौधरी योग तथा संस्कार शिविरमा सहभागी नहुँदा निकै पछुतो भएको बताउनुहुन्छ । आफैँसँग अध्ययन गरिरहेका साथीहरूले चार दिनमा सिकेको कुराले उहाँमा एक किसिमको आक्रोश पनि देखिन्थ्यो । “आफ्नै कारणले मैले शिविरमा सहभागी हुने अवसर गुमाएँ । आज साथीहरूले सिकेको कुराले मलाई इर्ष्या भएको छ”, उहाँले भन्नुभयो, “अब यस्ता अवसर म जीवनमा कहिल्यै गुमाउने छैन । शिविरमा सिकेका कुरा साथीहरूबाट सिक्ने प्रयास गर्नेछु ।”

विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल पनि योग तथा संस्कार शिविरबाट विद्यार्थीमा भएको सिकाइले खुसी हुनुहुन्छ । वर्ष दिनसम्म सिकाएको भन्दा चार दिन सिकेको कुरा विद्यार्थीका लागि महत्वपूर्ण भएको जनाउँदै उहाँले विद्यार्थीमा संस्कारको विकास मात्रै नभई जिम्मेवारीको बोधसमेत भएको बताउनुभयो । “शिविरमा सहभागी भएका विद्यार्थीमा देखिएको उत्साहले हामीलाई पनि गर्व महसुस भएको छ”, उहाँले भन्नुभयो, “शिविरमा सहभागी नभएका विद्यार्थीमा पनि सिक्ने उत्सुकताले विद्यालयमा योग तथा संस्कारसम्बन्धी कक्षा सञ्चालन गर्न आवश्यक देखिएको छ ।”

योग प्रशिक्षक रवीन्द्र बस्नेत बालबालिकाका लागि संस्कार निकै आवश्यक कुरा भइसकेको बताउनुहुन्छ । उहाँले बालबालिकामा योग शिक्षा र संस्कारको विकास गर्न नसके त्यसले ठूलोठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । “अहिले अभिभावकले आफ्ना बालबालिकालाई समय दिन सकेको अवस्था छैन । बालबालिकाको ध्यान अभिभावक र आफ्नो समाजभन्दा मोबाइलसँगै अहिलेको आधुनिकतामा बढी केन्द्रित भएको छ”, उहाँले भन्नुभयो, “यस्ता कुराले बालबालिकालाई मानसिकरुपमा निकै असर पार्न सक्छ । संस्कार बालबालिकाका लागि निकै महत्वपूर्ण विषय बनिसकेको छ ।”

टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विद्यालयमा योग शिक्षा निकै आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीमा योग शिक्षाले विद्यार्थीको शारीरिक तथा तथा संस्कारले मानसिक विकास गर्नसक्ने बताउँदै त्यसका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । “अभिभावकले बालबालिकालाई समय दिन नसकेकै कारण बालबालिका गलत क्रियाकलापमा फस्दै गएको तितो यथार्थ हाम्रो अगाडि छ”, उहाँले भन्नुभयो, “समाजमा भइरहेका गलत क्रियाकलापलाई न्यूनीकरण गर्नका लागि पनि बालबालिकालाई संस्कार सिकाउन जरुरी छ । भविष्यप्रति जिम्मेवार बनाउन आवश्यक छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button