एजेन्सी । रोजगारीका लागि होस्, या त पढ्ने बहानामा स्टुडेन्ट भिसामा होस् अथवा वर्किगं भिसामा नै, हरेक दिन नेपाली युवाहरू विदेशिने क्रम बढ्दो छ । यो प्रवृत्तिले मुलुकलाई दीर्घकालीन असर पार्ने समस्या उत्पन्न भएको छ। अध्ययनका लागि विदेशिएका युवा उता गएपछि पढाइ कम अनि काम बढी गर्छन् । अन्ततः उनीहरु उतैको नागरिकता ग्रहण गरेर नेपाल फर्कंदैनन् ।
आखिर युवाहरू किन यसरी विदेशिन्छन् ? यसको मूल कारण के हो ?
नेपालमा गुणस्तरीय शिक्षा र सुहाउँदो अवसर उपलब्ध हुन नसकेको हुँदा धेरै युवाहरु विदेशिन्छन् । युवाहरू मुलुकमा अवसर, गुणस्तरीय शिक्षा, कामको सम्मान भइदिए परिवारसँगको भावनात्मक सम्बन्धलाई तोडेर विदेशमा आफ्नो सीप, श्रम तथा पसिना खर्चिनु नपर्ने कुरा बताउँछन् ।
प्लस टु सकिए पछि के गर्ने ? के पढ्ने ? पढाइमा खर्च गरेर भोलि उक्त रकम कसरी उठाउने ? यी कुराहरुको तनाव युवा पुस्तामा बढी हुन्छ । यस्ता आन्तरिक द्वन्द्वका बीच उनीहरू यहाँबाट पढ्नका लागि मात्र भनेर विदेश पुग्छन्, तर आफ्नै देशमा रोजगारीको अवसर प्राप्त नहुने देखे पछि उनीहरुको मनस्थिति बदलिन्छ । हाम्रो शैक्षिक नीति एकातिर छ तर बजारको माग अर्कै छ । हाम्रो शैक्षिक नीति व्यवहारिक कम, सैद्धान्तिक बढी छ । यहाँ पढाइ सकिएपछि पनि आफ्नो शैक्षिक स्तरको सुहाउँदो जागिर प्राप्त गर्न सकिँदैन, त्यसैले युवाहरु वैदेशिक रोजगारी प्रति आकर्षित हुने गर्छन् ।
पैसा र राम्रो जीवनस्तरको लागि युवाहरू विदेश जानु नै ठिक मान्छन्। सरकारले शिक्षाजस्तो क्षेत्रलाई गहन रूपमा नलिनु युवाहरू विदेशिनुको प्रमुख कारण हो । हामी विदेश गएर जे र जस्तोसुकै काम पनि गर्न तयार हुन्छौं तर यहाँ किन गर्दैनौं ? विदेशमा हरेक कामको सम्मान छ तर नेपालमा सामाजिक संरचना एवं सोचका कारण मानिसले गर्ने काम अनुसार उसको सामाजिक हैसियत निर्माण गरिन्छ । त्यसै कारणले गर्दा पनि युवा पुस्ताहरु विदेशमा नै गएर काम गर्न तयार छन् ।
नेपालका धेरै युवा उचित अवसरको अभावमा आफूमा भएको प्रतिभा दबाउन बाध्य हुन्छन् । उनीहरू विदेश गएपछि आफ्नो योग्यता र क्षमता एक्सप्लोर गर्न सकिन्छ भन्ने सोचले पनि विदेशिन्छन्। सरकारको शिक्षा एवं युवासम्बन्धी फितलो नीतिका कारण यस्तो भइरहेको छ । पैसा कमाउन, आफ्नो सपना पूरा गर्न, यहाँभन्दा फराकिलो अवसरको खोजीमा युवाहरू विदेशिरहेका छन् ।
सरकारी नीति, नेतृत्व एवं गुणस्तरका कारण पनि नेपाली युवाहरू आफ्नो भविष्यप्रति निराश देखिएका छन् । राजनिति अस्थिरता, भ्रष्टाचारको कारण कतिपय युवाहरू प्रयास गर्दा–गर्दै थाकिसकेका हुन्छन् वा उनीहरुको उमेर ढल्किसकेको हुन्छ । रोजगारीको अवसर बढाउनुको सट्टा सरकारी राजनैतिक मामलामा बढी ध्यान दिने गर्छ । सो भए पनि त्यसको उपयोग सही ढंगसँग गरिएको छैन् ।
विदेश गएर दुख गर्दा त्यहाँको डिग्री र डिग्रीअनुसार प्राप्त हुने रोजगारीले भविष्य उज्ज्वल बनाउँछ त्यसैले उनीहरु वैदेशिक रोजगारी नै रोज्ने गर्छन्। विदेशी डिग्रीको मान्यता बढी हुनु, यहाँको कमजोर शैक्षिक नीति, नेपालमा युवालाई अवसरको कमी तथा नातावाद–कृपावादका कारण दिक्क भएर युवाहरू विदेशिन बाध्य हुन्छन्। अलिअलि भएका अवसरमा पनि नेताका छोरा–भतिजा, भाइ–भान्जाको पहिलो हक कायम हुन्छ । यस्तो अवस्थामा सर्वसाधारणले विदेश नगएर के गर्ने ?
जे–जस्ता कारणले युवाहरू विदेशिए पनि नेपालमा भएका स्रोत–साधन एवं उत्पादनलाई बजारीकरण गररे युवाहरुको लागि स्वदेशमै रोजगारीको अवसर उत्पन्न गर्न सकिन्छ ।
देशमा भएको खनिज उत्खनन गरौ, नातावाद–कृपावाद हटाऔं, सरकारले युवालाई तिमीहरूआँट हामी पुर्याउँछौं भन्ने नीति ल्याओस्, त्यति भयो भने युवाहरू खुसीसाथ स्वदेशमै बस्छन् । सरकारले युवाकेन्द्रित कार्यक्रममार्फत रोजगारीको अवसर प्रदान गर्न सके युवाहरू स्वदेशमै आफ्नो सीप तथा परिश्रम खर्च गर्छन् यसले देशको आर्थिक अवस्थालाई समेत उकास्न मद्दत मिल्छ ।