समाचार

सडक हेरचाह गर्न  हेरालु  परिचालन

Deployed patrols to maintain roads!

Gobal IME Bank
गोरखाको भीमसेन थापा गाउँपालिकाले बर्खायामका समयमा पालिकाभित्रका मुख्यमुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाले पालिकाभित्रका एउटा वडामा कम्ती एक जना पर्नेगरी १० जना सडक हेरालु छनोट गरी अभिमुखीकरण प्रदान गरिइएको छ ।  सडक मर्मतसम्हार र हेरचाहका लागि हेरालु परिचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
बर्खा लागेसँगै सडकमा बग्ने भल तथा ससाना पहिरा समयमा नै नियन्त्रण गर्न नसक्दा पछि बढी क्षति हुने गरेकाले समयमै भल तथा पहिरा व्यवस्थापन गरी मुख्यमुख्य ग्रामीण सडक मर्मतसंहार गर्नसके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्यूनीकरण गर्न सकिने  भएकाले सडक हेरालु भर्ना गरेर परिचालन गरेको उहाँले बताउनुभयो ।
“गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै सडक स्याहारसंहार तथा मर्मतका लागि सडक हेरालु नियुक्त गरेर परिचालन गर्ने नीति लिएको थियो, उहाँले भन्नुभयो, “अन्य बेलाभन्दा पनि बर्खायामको समयमा सडक हेरालुको आवश्यकता बढी पर्ने भएकाले पहिलो पटक चार महिनाका लागि नियुक्ति दिएर उहाँहरुलाई काममा खटाएका छौँ ।”
नियुक्त भएका सडक हेरालुले वडा कार्यालय र वडाको प्राविधिकको निगरानी र निर्देशनमा वडाभित्रमा मुख्यमुख्य सडकमा नियमित यातायात सञ्चालन गर्नेगरी काम गर्ने उहाँले बताउनुभयो । उनीहरुको मुख्य गरी नाला सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने सडकमा पानी बग्न नदिने, झाडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका काम गर्ने प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
“सानातिना भलपानी र पहिरोले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसले विकासमा थप भार पर्ने मात्र नभई लामो समयसम्म सडक पनि अवरुद्ध हुने अवस्था आउने गरेकाले यो वर्षदेखि पालिकाभित्रका मुख्य सडक बिग्रनेबित्तिकै बनाउने गरी सडक हेरालु परिचालन गरेका छौँ ।”
“सडक हेरालुलाई सडक मर्मतसंभारमा प्रयोग हुने सामग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेपलगायतका आवश्यक सामग्री उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यकपर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पञ्जा सामग्री पनि हस्तान्तरण गरिएको छ ।”
सडक हेरालुको कामको गाउँपालिका र वडाले अनुगमनको व्यवस्था पनि मिलाएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । गाउँपालिकाले छनोटमा परेका सबैलाई तालिम तथा अभिमुखीकरण प्रदान गरी नियुक्त पत्र दिएर काममा खटाइएको उहाँले जानकारी दिनुभयो । पालिकाभित्रका सबै मुख्य सडकसमेत कच्ची भएकाले हरेक वर्ष बर्खा लागेसँगै भलबाढीले सडकमा क्षति पुग्ने र बर्खाभरि नै अवरुद्ध हुनेहुँदा नागरिकले हरेक वर्ष सास्ती खेप्दै आउनुपरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button