एमालेको घोषणापत्र सार्वजनिक, समेटिए यी ‘२० ग्यारेन्टी’
काठमाडौं । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलवार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नुभएको हो ।
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।
एमालेको २० ग्यारेन्टी
१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने
८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने
९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क
१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क
११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३. ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने
१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
१९. ‘सभ्य समाजः मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने