हाम्रो देशमा गाईभैंसीको विशिष्ट योगदान छ। डेरी क्षेत्रले हाम्रो कुल गृहस्थी उत्पादनमा करिब नौ प्रतिशत योगदान पुर्याएको हुन्छ । कृषिमा गर्ने करिब ३८ लाख परिवारमध्ये ९५ प्रतिशतजति परिवारले गाईवस्तु पालन गर्छन् भन्ने तथ्यांक छ। दूधसँगै गाईवस्तुबाट मल पनि प्राप्त हुन्छ। खेतबारी जोत्न र गाडा तान्नका लागि समेत गोरुको प्रयोग गरिन्छ । बालकदेखि वृद्धसम्मका लागि पौष्टिक आहाराको मुख्य स्रोत दूध भएको हुँदा घरायसी खाद्यका लागि गाईभैंसी पालनको ठूलो योगदान छ। सहरी क्षेत्रबाट ग्रामीण भेगमा नगद प्रवाह हुनुमा दूध बेचबिखनको ठूलो योगदान छ।
यति हुँदाहुँदै पनि विभिन्न रोगका कारण गाईभैंसी पालनबाट किसानले अपेक्षित लाभ लिन सकिरहेका छैनन्। हाल नेपालमा गाईभैंसीमा नयाँ किसिमको रोगको महामारी फैलिएकोे छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षणपछि यो रोग पशु चिकित्सकले अनुमान गरे अनुसार ‘लम्पी स्किन’ भनिने नयाँ रोग भएको पुष्टि भएको छ।
यससँगै नेपालको गाईभैंसी पालनमा एउटा नयाँ भाइरसजन्य संक्रामक रोग थपिएको छ। असारको तेस्रो सातातिर सुरुमा मोरङ जिल्लामा देखिएको यो रोग एक महिनाभन्दा पनि कम समयमा झापा, सुनसरी, रौतहट, मकवानपुर, चितवन, तनहुँ, कास्की, काभ्रेपलाञ्चोक र काठमाडौंमा फैलिसकेको छ।
यो रोग सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखिएको थियो। त्यसपछि लामो समय अफ्रिकाको रैथाने रोगको रूपमा रहेको यो रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो। विशेषगरी सन् २०१२ पछि धेरै देशमा यो रोग महामारीका रूपमा फैलिन थालेको छ। मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, कजाकिस्तान, चीन हुँदै भारत र बंगलादेशमा गत वर्ष यो रोग भित्रिएको प्रमाणित भइसकेको छ। यो रोग मुख्यगरी लामखुट्टे, झिँगा, किर्ना आदिका टोकाइका माध्यमबाट सर्ने गर्छ।
नेपाल सरकारले विश्व पशु स्वास्थ्य संगठन ९ओआइई०लाई गत जुलाईमा पठाएको पहिलो प्रतिवेदन अनुसार, एक हजार दुई सयभन्दा बढी गाई यस रोगबाट संक्रमित भएकम छन्। त्यस्तै, १२ वटा गाईको यो रोगको कारण मृत्यु भएको छ।
यो रोगबाट संक्रमण भएपछि गाईवस्तुमा उच्च ज्वरो ९१०४ फरेनहाइट वा सो भन्दा माथि० ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने आदि लक्षणहरु देखिन्छन् । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन्।
असारदेखि नेपालको पूर्वी जिल्लाबाट गाईभैंसीमा फैलिएको नयाँ किसिमको रोगको महामारीलाई ‘लम्पी स्किन’ भनिन्छ ।
यो रोगको संक्रमण लागेको गाईभैँसीमा कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षणहरु यस रोगमा देखिन्छन्। यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशतजति गाई बिरामी हुने र १ देखि ५ प्रतिशत संक्रमित गाईवस्तुहरु मर्न सक्छन्।धेरै पशुहरु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकाले खोरेँत रोगले जस्तै यो रोगले पनि ठूलो आर्थिक क्षति पुर्याउन सक्छ। यो रोग मानिसमा भने सर्दैन।
त्यस्तै, संक्रमित गाईभैंसीको कुनै किसिमबाट शारीरीक रुपमा सम्पर्कमा आउँदा तथा संक्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा पनि यो रोग सर्ने गर्छ। उपचारका क्रममा विभिन्न किसानको घरमा जाने क्रममा प्राविधिक माध्यमबाट पनि यो रोग फैलिन सक्छ। त्यसकारण प्राविधिकले फरक गोठमा जाँदा निसंक्रमणका उपाय अपनाउनुका साथै फरक पशुलाई झुक्किएर पनि उही सुई प्रयोग गर्नुहुँदैन।
यो भाइरसजन्य रोग भएको र यसको ठोस उपचार नभएको कारण प्राविधिकको सल्लाहमा लक्षण अनुसार उपचार गर्नुपर्छ। यस रोगको खोप विदेशमा उपलब्ध भए पनि नेपालमा भने छैन। रोग धेरै फैलिने अवस्था आएमा विदेशबाट आयात गरी खोप प्रयोग गर्न सकिन्छ। ‘लम्पी स्किन’ रोगकै खोप पनि उपलब्ध छ भने बाख्रा र भेडाको पक्स भाइरसको खोप पनि यो रोगविरुद्ध प्रभावकारी देखिएको छ। लामखुट्टे, किर्ना आदि बढ्ने वर्षाको मौसममा यो रोगको प्रकोप बढी देखिने कारण मनसुन अगाडि यो रोगको खोप लगाउन सकिन्छ।
नियमित खोप नलगाएको अवस्थामा यदि पशुमा योख रोग देखिनासाथवरिपरिको क्षेत्रभित्र गाईभैंसीमा यो खोप लगाउन सकिन्छ। नेपालमा भर्खर यो रोग छिरेको कारण देश भरि पशुलाई यसको खोप लगाइदिएमा उनीहरुको स्वास्थ्यको लागि लाभदायक हुन्छ। यो रोग रोकथामका लागि लामखुट्टे, झिँगा, किर्ना आदिको संख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सकभर सफा राख्नुपर्छ। रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन संक्रमित क्षेत्रबाट पशुको ओसारपसार नियन्त्रण गर्नुपर्छ।
‘भविष्यमा पशुपन्छीमा लाग्ने रोगको चुनौती सामना गर्न भेटिरिनरी सेवालाई बलियो बनाउँदै गाउँ तहमा दक्ष पशुचिकित्सक र केन्द्रमा विशेषज्ञसहितको अनुसन्धानमुखी चुस्त संरचना बनाउनुपर्छ। यसका लागि पशु चिकित्सा र पशु प्राविधिक पढाउने विश्वविद्यालय र कलेजहरूको गुणस्तरमा आमूल सुधार गर्नु पर्छ ।