मुख्य समाचारसमाचार

अनुदानमा भैँसी पाएसँगै किसानको दैनिकीमा परिवर्तन

Gobal IME Bank

भोजपुर् । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । ‘दुग्ध मिसन’ कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो ।

गाउँपालिकाले भैँसी वितरण गरेपछि अहिले किसानले उत्पादित दूधलाई बजारमा पठाउन थालेका छन् । गाउँपालिकाले यहाँको प्रगतिशील सहकारीमार्फत गत असारमा रु १६ लाख लागतमा नौ ओटा लैनो भैँसी एउटा राँगो, चार ओटा च्याप कटर र पीठो चोकर किसानलाई वितरण गरेको हो ।

त्यस्तै वडा नं ५ सानोदुम्ममा रहेको खड्का कृषि तथा पशुपालन फार्मलाई रु तीन लाख ९४ हजार बराबरको तीन ओटा भैँसी, एउटा राँगो र च्याप कटर तथा उन्नत जातको घाँसको बीउसमेत वितरण गरेको छ । गाउँपालिकालाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पशुपालन किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

“पशुपालक किसानलाई प्रोत्साहन गर्दै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैँसी वितरण गरेका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् । यो कार्यक्रमलाई आगामी दिनमा पनि थप विस्तार गर्दै लैजान्छौँ । दूधको उत्पादनका आधारमा बजारीकरणमा पनि सहजीकरण गर्ने योजना छ ।”

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताउनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले उन्नत जातको भैँसी दिएपछि कृषक उत्साहित भएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी रहेको स्थानीय भैँसीपालक कृषक नवीन खड्काले बताउनुभयो ।

“अहिले आर्थिक रुपमा टेवा पुगेको छ”, कृषक खड्काले भन्नुभयो, “दैनिकी घर खर्च चलाउन सकेका छौँ । गरिब तथा विपन्न परिवारले त अहिले भैँसी किनेर पाल्न सक्ने अवस्था नै छैन । हामी आफैँले तराईका भैँसी फार्ममा गएर छानेर ल्याएका हौँ । त्यस्ता कृषकको पीडालाई बुझेर गाउँपालिकाले गरिरहेको काम प्रशंसायोग्य छ । अन्य स्थानीय तहहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।”

लैनो भैँसी पाएकाले आफ्नो जीविका मार्फतमा प्रत्यक्ष लाभ पुगेको अर्का कृषक सुवास अधिकारीले बताउनुभयो । तराईबाट ल्याएको उन्नत जातको भैँसी भए पनि यहाँको हावापानीमा सहज रुपमा नै घुलमिल भएको अधिकारीको भनाइ छ । भैँसीबाट उत्पादन भएको दूध बजारमा बेच्न थालेकोसमेत उहाँले बताउनुभयो । “गाउँपालिकाले हामी जस्ता कृषकको उदार गरेको छ”, कृषक अधिकारीले भन्नुभयो, “कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमले हामीलाई प्रत्यक्ष रुपमा लाभ पुगेको छ । अहिले हाम्रो दैनिकी फेरिएको छ । उत्पादित दूध बजारमा बिक्री गरिरहेका छौँ ।”

उत्पादन भएको दूध स्थानीय बजारमा तथा तिवारीभञ्ज्याङमा रहेको डेरीमा प्रतिलिटर रु ५५ मा बिक्री गरिरहेको अधिकारीले बताउनुभयो । आफ्नो ठाउँका किसानहरुबाट सङ्कलन भएको दूध भोजपुर सदरमुकाममा जाने गरेको उहाँको भनाइ छ । कृषक अधिकारीले भन्नुभयो, “हामीले यहाँको स्थानीय डेरीमा बिक्री गरिरहेका छौँ । यहाँ प्रतिलिटर रु ५५ पाउँछौँ । यसले दैनिक जीवन गुजारा गर्न सहज भएको छ । यहाँको खपत हुन नसकेको दूध सदरमुकाम जान्छ ।” गाउँपालिकाले कृषिमा बहुवर्षीय बालीहरु (एभोकाडो, किवी, चिउरी) खेतीमा प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाको भनाइ छ ।

त्यस्तै तरकारीको खेतीमा पनि किसानलाई सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो । उपाध्यक्ष राईले भन्नुभयो, “गाउँपालिका तरकारीमा आत्मनिर्भर बनिसकेको छ । यहाँको उत्पादन अहिले अन्य ठाउँमा समेत जान थालेको छ । अब भने हामीले तरकारीसँगसँगै पछिल्लो वर्षमा आएर कृषकलाई बहुवर्षीय बाली लगाउनमा केन्द्रित गरिरहेका छौँ । यस्ता बालीले उनीहरुले धेरै वर्षसम्म आम्दानी लिन सक्छन् ।”

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत साझेदारीमा भैँसी दिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । “हामीले किसानलाई दुग्ध उत्पादनमा जोड्नका लागि ७५ प्रतिशत अनुदानमा भैँसी दिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “खास गरेर बजारमा भैँसीको दूधको माग र मूल्य पनि बढी हुन्छ । त्योसँगै उनीहरुले पाडापाडी बेचेर पनि थप आम्दानी लिन सक्छन् । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सकून् भन्ने हाम्रो लक्ष्य हो ।”

त्यस्तै गाउँपालिकाले बाख्रापालनका लागि पनि उन्नत जातको बोका वितरण गरिरहेको जनाएको छ । खास गरेर गाउँपालिकाले वडा नं ४ बास्तिम, ५ सानोदुम्मा र ६ ठूलोदुम्मालाई बाख्रापालनका लागि उपयुक्त क्षेत्रका रुपमा छुट्याएको छ । तातो भूगोल तथा प्रशस्त चरण क्षेत्र भएकाले यो क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेका कृषकलाई पनि आवश्यकताका आधारमा प्रोत्साहनमूलक कार्यक्रम गरिरहेको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button