अन्यसमाचार

धिमाल समुदायका मौलिकता संकटमा : सीप सिकाउन तालीम -GoodNews24

Gobal IME Bank

सुरुङ्गा । झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृतिले सुसज्जित रहेको । अल्पसङ्ख्यक जातिका रुपमा रहेको सो समुदायको जनसङ्ख्या पछिल्लो जनगणना अनुसार ३० हजारको हाराहारीमा रहेको छ ।

आदिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमाल समुदायले प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले बताउनुभयो । आफ्नै सामाजिक संस्कार भएको सो समुदायको जन्म, विवाह र मृत्यु संस्कार पनि छुट्टै रहेको छ । उहाँका अनुसार जात्री मेला, सिरजात, पार्वा, भेन्द्र, नावाङ्गी, गावा पूजा, जात्रा पूजा, टाकाबान्धा, रास पूजा, बान्धा पूजा, धुला पूजा, हाइजा पूजा, लक्ष्मी काइका पूजा आदि धिमालले मान्ने मौलिक चाडपर्व हुन् ।

केन्द्रका वरिष्ठ उपाध्यक्ष धिमालले आफ्नै जातीय वेषभूषाले सुसज्जित हुने यस समुदायले युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृति जानकारी गराउन नसक्दा अहिले आफ्नो मौलिक संस्कार र संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “धिमाल समुदायका महिलाले लगाउने दाबोना, इतङ्गी, पातोलोइ, सामुठी, नोसोइ, तेपाना र पुरुषले लगाउने आसकोट, गान्जी, टेपाना, पाटुका, चेउका धारी, तुप्रीका विषयमा युवा पिँढीलाई हामीले बताउन नसक्दा हाम्रो मौलिक रीतिरिवाज ओझेलमा पर्दै गएको छ ।”

उर्नी, ढोल, सेरेन्जा, तुन्जाइ, दोतारा, घोगोमोगो, बाँसुरी हाम्रा आफ्नै परम्परागत बाजा हुन् उपाध्यक्ष धिमाल भन्नुहुन्छ, “अहिले यी बाजा बजाउने युवा छैनन् । चाडपर्व, पूजाआजामा यस खाले बाजा बजाउनुपर्ने भए पनि युवा पुस्ताले संस्कार संस्कृति संरक्षणमा ध्यान नदिँदा हाम्रो मौलिक संस्कार संस्कृति नै लोप हुँदै गएको छ ।”

धिमाल समुदायका मौलिक गरगहना र जातीय पोशाकको संरक्षण गर्न बिर्तामोड नगरपालिकाले धिमाल महिलालाई अहिले जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ । जातीय पहिरन संरक्षण हुने र महिलाले त्यसलाई व्यावसायिकता प्रदान गरे आत्मनिर्भर बन्ने नगरपालिकाका सूचना अधिकारीसमेत रहनुभएका वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “धिमाल समुदाय आफैँमा पछाडि छ त्यसमाथि संस्कार संस्कृतिले सुसज्जित भए पनि आफ्नै वेषभूषाको संरक्षण गर्न नसक्दा उनीहरुलाई सीप पनि सिकाउने र संस्कार संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर बनाउन नारी सङ्कल्प नामक संस्थासँग सहकार्य गर्दै धिमाल महिलालाई पेटानी बनाउने तालीम प्रदान गरिरहेका छौँ ।”
१८ धिमाल समुदायका महिलाले सोे तालीम लिइरहेको नारी संकल्प संस्थाका अध्यक्ष तुलसा खरेलले जानकारी दिनुभयो । ‘दाबोना’ अर्थात पेटानी धिमाल समुदायका महिलाले लगाउने गर्छन् । तर, आधुनिकताका कारण अहिले सो महिलाले पेटानी लगाउन छाड्दै गएका छन् । अझ युवा पुस्तामा आफ्नै जातीय पहिरनप्रति आकर्षण छैन । पेटानी बनाउन सिकाउँदै आउनुभएकी मोरङ पथरीकी सीता धिमालले भन्नुभयो, “पेटानी बनाउने मात्रै सीप सिक्ने हो भने धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनु पर्दैन ।”
पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच÷छ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् । पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने हाम्रो पुख्र्यौली पेशा हो उहाँले भन्नुभयो, “हाम्रो समुदायमा विवाह व्रतबन्धजस्ता कार्यमा पेटानी अनिवार्य छ तर, अहिलेका युवा पिँढीले पेटानी लगाउँदैनन् ।”
सीप सिकाउन थालेपछि नगरका धिमाल महिला अहिले सीप सिक्न उत्साहित देखिएका छन् । दुई महिना अघिदेखि पेटानी बनाउने सीप सिक्दै आउनुभएकी बिर्तामोड–१ निवासी कोपिला धिमाल भन्नुहुन्छ, “हामी लजाएर रहेछ, एउटा मात्रै पेटानी बनाएर बिक्री गर्दा रु दुई हजार ५०० देखि तीन हजारसम्ममा बिक्री हुने गर्दाे रहेछ । दुई दिनमै तयार गर्न सकिने पेटानी महिनामा १२ देखि १५ वटा मात्रै बनाएर बिक्री गर्ने हो भने रु ३० हजारभन्दा बढी आम्दानी गर्न सकिने रहेछ ।”

तालीममा सहभागी घिना धिमाल उमेरले ५० को हाराहारीमा हुनुहुन्छ तर, उहाँमा सीप सिक्ने इच्छा छ । उहाँ भन्नुहुन्छ, “बेलैमा सीप सिकेर यो व्यवसाय शुरु गरेको भए अहिलेसम्ममा मनग्य आम्दानी गरिसक्ने थिए ।” बिर्तामोड नगरपालिकाले धिमाल समुदायका महिलाको जीवनस्तर सुधार्दै स्वावलम्बी बनाउन पेटानी बनाउने सीप सिकाए पनि दमक नगरपालिकाले पनि धिमाल समुदायलाई परापूर्वककालदेखि बसोवास गर्दै आएको नागरिकका रुपमा ‘प्रथम नागरिक’ घोषणा गर्दै धिमाल समुदायलाई सम्मान गरेको छ ।

धिमाल समुदायको जनसङ्ख्या दमक नगरपालिकामा करिब १५ हजारको हाराहारीमा रहेको बताइएको छ । जातीय बसोबास सूची बनाउने काम गर्न लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयोे ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button