मुख्य समाचारसमाचार

ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत, कृत्रिम दाँत पाएपछि फुर्तिलो नेत्रप्रसाद

Gobal IME Bank

रामपुर (पाल्पा) । दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिनुभएको छ ।

दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उहाँले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाउनुभयो । उहाँको अनुहारमा देखिएको यो खुसी भने गाउँमा आयोजना गरिएको दन्तरोग विशेषज्ञ निःशुल्क शिविरका कारण उहाँले पाउनुभएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका– १ बस्ने तुलसा खनाल पनि रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर आयोजनामा नयाँ दाँत राख्न पाएपछि खुसी हुनुभएको छ । शिविरमा लामो यात्रा गरी आइपुग्नुभएकी उहाँ नयाँ दाँत राखेपछि उमेर नै घटेको जस्तो भान भएको बताउनुभयो ।

पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क कृत्रिम दन्त शिविरबाट यहाँका ज्येष्ठ नागरिकले सुविधा पाउनुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिविरमा सहभागीलाई दाँत हस्तान्तरण गर्दै नयाँ दाँतले सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज हुने बताउनुभयो ।
नयाँ दाँत राख्न महङ्गो पर्ने भएपछि ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले बताउनुभयो ।

एक महिनामा ६० जनाको नयाँ दाँत राखिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शङ्कर श्रेष्ठले जानकारी दिनुभयो । नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरी दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको उहाँको भनाइ छ ।

शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टरसहित ३१ जना स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । एक जनाको पूरै दाँत राखेको न्यूनतम रु ३० हजारदेखि रु ४० हजारसम्म खर्च हुने गरेको छ । शिविरमा रामपुर नगरपालिका, निस्दी, बगनासकाली र रम्भा गाउँपालिकाका नागरिकले सेवा लिएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button