कस्ता मानिसलाई हुन्छ पित्तको पत्थरी ?

काठमाडौँ । पित्तको सन्दर्भमा कुरा गर्दा संसारभरी सबै मानिसमा पत्थरीको समस्या देखिदैन। पञ्जाब, पाकिस्तान, नेपाल, भारतको पन्जाब, बिहार, उत्तरप्रदेश, मेघालय, सिलोन, बंगलादेश लगायत देशहरुमा मात्रै पित्तको पत्थरीको समस्या भएको मानिस बढी देखिन्छ। अरु देशका मानिसलाई यो समस्या नभएको त होइन तर यी राष्ट्रहरुमा अरु राष्ट्रको तुलनामा कम पत्थरीको समस्या भएको मानिसहरु भेटिन्छन्।
पित्तको पत्थरी हुने कारणहरु धेरै छन्। ज्यादा चिल्लो खाने मानिसलाई पत्थरीको समस्या देखिन सक्छ। वंशाणुगत र वातावरणको कारणले पनि पत्थरी हुनसक्छ। हामीले ज्यादा मात्रामा चिल्लो पदार्थ गर्दा भने शरीरमा चिल्लो बढ्छ। त्यस्ता मानिसलाई कोलेस्टेरोल स्टोन हुनसक्छ। मोटोपना भएका मानिसको मुख्य समस्या चिल्लोपना नै हो, त्यसैले उनीहरूको पित्तमा पनि पत्थरीको सम्भावना अरु मानिसको तुलनामा ज्यादा हुन्छ। वंशाणुगत कारणले पनि पित्तका रोग देखिन सक्छन्।
महिलाहरूले अस्थायी परिवार नियोजनका क्रममा खानेचक्की प्रयोग गर्छन। पित्तथैलीको काम पेटमा खाना आएमा पित्तलाई खानामा मिसाउने नत्र त्यहीँ पित्त संकलन गरिरहने र नली बन्द गर्ने हो। तर अस्थायी चक्की खाने कतिपय महिलामा नलीमा समस्या आएर पित्तथैलीबाट नियमित पित्त निस्कासन नहुन सक्छ। कतिपय अध्ययनले यसको पुष्टि नै गरेको छ। पित्त बगिरहेको नलीको तुलनामा जाम भएको नली फोहोर हुन्छ। पित्त नियमित रुपमा निस्कासन नगरेकै कारण उनीहरूमा पत्थरी जम्ने खतरा हुन्छ। खानेका साथसाथै लगाउने चक्कीले पनि हर्मोन उत्पादन प्रक्रियामा गडबड गर्छ, तर खाने चक्कीको कारण असर बढी हुन्छ।
गर्भवती महिलामा पनि पित्तथैलीको पत्थरी हुनसक्छ। कहिलेकाही पेटको अपरेशनका क्रममा पित्तथैलीमा जाने नसा काटिनुपर्छ। अल्सरको अपरेशन गर्दा पित्तको नसा काटिन्छ र नसा काटिएका कारण पित्तथैलीको पत्थरी हुनसक्छ। स्टोजिन प्रोजेस्टोन नामक हर्मोनका कारण गर्भवतीलाई पत्थरी हुनसक्छ। अल्सर त निको भयो तर पित्तथैलीमा त्यसको असर पर्न थाल्यो भने पित्त नबगेको कारणले पनि पत्थरी हुनसक्छ, जसलाई चिकित्सकिय भाषामा स्टेसिस भनिन्छ। रगतसम्बन्धी रोग हुने मानिसहरूमा पनि पत्थरी हुनसक्छ। रगतमा ब्लुविन बढेमा पित्तको पत्थरी हुनसक्छ।
प्राय लामो समयसम्म भोकै बस्ने मानिसहरूको पनि पित्तथैलीको पित्त जम्मा भइरहेको हुनसक्छ, जसले पत्थरीको सम्भावना निम्त्याउँछ। सानो कण थिग्रिए पनि बिस्तारै त्यसमा अरु थपिँदै जाने पत्थरीको कारण ठुलो समस्या निम्त्याउँछ। कहिलेकाही भोकै बस्ने मानिसभन्दा पनि नियमित रुपमा लामो समय भोकै बस्नेमा यसको जोखिम ज्यादा हुन्छ।