मुख्य समाचारसमाचार

काठमाडौँको संस्कृति बचाउन नदी सभ्यता बचाउनु पर्छ, यसका लागि सहकार्य गरौँ- प्रमुख शाह

परम्परागत गुथि, खलः, पुचलाई महानगरको आर्थिक अनुदान

Gobal IME Bank

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभएको छ । ‘नदी सभ्यतालाई छुट्याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गरौँ । यसमा महानगर र तपाईँहरुका बिचमा सहकार्य हुने अपेक्षा गरेको छु ।’

प्रमुख शाहले भन्नुभयो, ‘परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ ।’ आज राष्ट्रिय सभा गृहमा आयोजित गुँला बाजा र परम्परागत ज्यापू गुथि, खलः पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि अनुदान रकम उपलब्ध गराउँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोलले, ज्यापू महागुथि अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभयो ।

अनुदान रकमको मात्रा कम हो । यसलाई गुथि, खलका प्रतिनिधिहरुले प्रोत्साहनका रुपमा ग्रहण गर्नुभयो । यसबाट आफू पनि उत्साहित भएको प्रमुख शाहले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गर्नुभयो । ‘सामाजिक व्यवस्थापन र पहिचानका लागि संस्कृति क्रियाकलापको महत्वलाई काठमाडौँ महानगरपालिकाले नीति र कार्यक्रममा समेट्ने छ ।’ प्रतिवद्धता जनाउँदै उहाँले, परम्परागत र संस्कारगत चलन, यस्ता चलनसँग जोडिएका ठाउँ, आँग छेँ, त्वाः छेँ, द्योः छेँः जस्ता स्थानको अध्ययन गर्ने र प्रवर्धनका लागि शैक्षिक क्षेत्रसँग जोड्ने बताउनुभयो ।

अहिलेसम्म यसप्रकारका क्रियाकलापहरु समुदाय स्तरबाट सञ्चालन, व्यवस्थापन र प्रवर्धन भइरहेकोले, उहाँहरुको योगदानलाई सम्मान गर्दै परम्परागत क्रियाकलापको निरन्तरताका लागि अनुदान रकम उपलब्ध गराइएको उपप्रमुख डंगोलको भनाइ छ ।

काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, बाद्यबादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति र कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताउनुभयो । त्यस्तै वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिका लागि वडागत रुपमा साथ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महागुथिका अध्यक्ष पञ्चनारायण महर्जनले, महानगरपालिकाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताउनुभयो । सहकार्यलाई अझ नजिक बनाउनुपर्छ । यसबाट महानगर र समुदाय दुवैलाई फाइदा हुन्छ । महर्जनको भनाइ थियो । गुँला बाजं व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले, बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरुसँगै गुँला बाजाको संस्कार भित्रिएको बताउनुभयो ।

यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।

सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक सृजु प्रधानकाअनुसार न्हूः द (नेपाल संवत्) को नवौँ महिना अवधिभर गुँला बाजा बनाउने चलन छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button