पोखरामा नेपाली टोपी लगाएर टोपी दिवस
काठमाडौं । आज देशभरका नेपालीहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाउदैछन् । विगत ६ वर्षदेखि अंग्रेजी महिनाको १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ । सोहीअनुसार बुधबार सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो । संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।