समाचार

चन्द्रकलालाई न्याय दिलाउन दलित सङ्घसंस्था-Goodnews24

Gobal IME Bank

झापा- एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै यहाँका दलित अधिकारवादी सङ्घसंस्था आन्दोलित भएका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले  मेचीनगरमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय खेलकूदमा एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र उहाँका पति सुमन खातीलाई यही भदौ ८ गते सोमबार राति ८ः०० बजेतिर आफ्नै घरमा खाना खाइरहेका बेला छिमेकी दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठले निर्घात कुटपिट गरेका थिए ।

सात महिनाकी गर्भवती चन्द्रकलालाई कुटपिटमा संलग्नले जातीय विभेद गर्दै तथानाम गालीगलौजसमेत गरेका थिए । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका जिल्ला अध्यक्ष हुकुमसिंह नेपालीले जातीय विभेद र कुटपिटको घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको समेत माग गरे ।

उनले चन्द्रकला मुलुककै गहना बनिसकेको व्यक्ति भएको उल्लेख गर्दै दोषीमाथि जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ र नेपालको संविधान २०७२ बमोजिम कडा कानूनी कारवाही हुनुपर्ने बताए ।
मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरु परियारले २१औँ शताब्दीमा जातीय विभेद असह्य भएको धारणा व्यक्त गर्दै दोषीलाई उन्मुक्ति दिने प्रयास नहोस् भनेर अधिकारकर्मी आन्दोलित हुन बाध्य भएको बताइन् ।

मेचीनगर दलित समन्वय समितिका अध्यक्ष ध्रुव कनालले पीडित पक्षलाई मिलापत्र गर्न दबाब दिइएकामा आपत्ति प्रकट गर्दै छुवाछूतमुक्त घोषणा गरिएको मेचीनगरमा यस्तो घटना हुनु दुःखद् भएको उल्लेख गरे ।
पीडित चन्द्रकला चार दिनको उपचारपश्चात बीएण्डसी हस्पिटलबाट घर फर्किएकी छन् । हस्पिटलका चिकित्सकले गर्भमा रहेको शिशुलाई सिजरिङ गरेर जन्माउनुपर्ने सुझाव दिएको उनले बताइन् । उनले कुटपिटका कारण गर्भमा रहेको शिशुको स्वास्थ्य बारेमा आफूलाई बढी चिन्ता लागेको बताइन् ।

कुटपिटमा संलग्न पक्राउ

राष्ट्रिय एथ्लेटिक्स खेलाडी चन्द्रकला र उनका पति सुमनमाथि जातीय विभेद गर्दै कुटपिट गर्ने कार्यमा संलग्न दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
धुलावारी इलाका प्रहरी कार्यालयमा चन्द्रकलाका पति सुमनले जातीय भेदभावको कसुर भएको भएको भन्दै पीडकविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने म्याद थप गरी हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button