सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना – GoodNews24
सल्यान, २० पुस : जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो । डिभिजन वन कार्यालय सल्यानको परिसरमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढङ्गले गर्ने र निको भएपछि पुनः वासस्थानमा छोड्ने गरी व्यवस्था गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले वन्यजन्तुको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले जिल्लामा नै पहिलोपटक वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । “जिल्लामा विभिन्न कारणले वन्यजन्तु घाइते हुने गरेको र उनीहरुको उपचारका लागि उचित व्यवस्था नहुँदा समस्या हँुदै आएको थियो, उद्धार केन्द्र नहुँदा घाइते जीवजन्तुलाई प्राथमिक उपचार गरी जङ्गलमा नै छोड्दा समस्या भएको थियो अब त्यो समस्या हटेको छ”, गिरीले भन्नुभयो, “नागरिकको नियन्त्रणमा रहेका तथा वन्यजन्तुका साथै कुकुरको आक्रमणमा परेर घाइते भएका र सवारी साधनले ठक्कर दिएर घाइते भएका वन्यजन्तुको उद्धार गरेर राखिने छ, उपचारपश्चात् फेरि सोही स्थानमा छोडिने छ । घाइते अवस्थामा रहेका वन्यजन्तुलाई त्यसै छोड्दा मर्न सक्ने र लोप भएर जाने सम्भावना भएकाले वन्यजन्तुको संरक्षणका लागी यो कोसेढुङ्गा सावित हुने उहाँको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार गत वर्ष मात्रै झण्डै दुई दर्जन वन्यजन्तुको उद्धार गरिएको थियो । कार्यालयका सूचना अधिकारी मनोज शर्मा लम्सालले गत आर्थिक वर्षमा १४ वटा रतुवा, पाँच वटा घोरल, एउटा हाइना गरी २० वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिनुभयो । यस्तै चालु आवको साउन महिनायता एउटा घोरल र एउटा वन बिरालो गरी दुई वन्यजन्तुको उद्धार गरिएको उहाँको भनाइ छ । “जिल्लामा अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्र थिएन, हामीले पहिलो पटक केन्द्र स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिले राख्ने ठाउँ नहुँदा समस्या हुन्थ्यो, घाइते वन्यजन्तु ल्याएर एउटा कोठामा राख्नुपथ्र्यो, अहिले उद्धार केन्द्र स्थापना गरेका छौँ, अबका दिनमा सहजता हुने छ ।” मान्छेलाई देख्दा वन्यजन्तु तर्सिने भएकाले रुख बिरुवाको बीचमा उद्धार केन्द्र राखिएको उहाँको भनाइ छ । घाइते वन्यजन्तुको जङ्गलबाट उद्धार गरेर पशु सेवा कार्यालयको सहयोगमा औषधि उपचार गर्ने र निको भएपछि उसको प्राकृतिक बासस्थानमा लगेर छोडिदिने गरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।