अत्याधिक पसिना आउँछ ? के छन् होमियोप्याथिक उपचार पढ्नुहोस्….

एजेन्सी । शरीरबाट पसिना निस्किनु एक स्वभाविक प्रक्रिया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्नुका साथै स्वच्छ वायु शरीरमा पुर्याउँछ । पसिनाको माध्यमबाट शरीरभित्र भएको बिकार पनि बाहिर आउँछ । शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ ।
अत्याधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरिरहेका हुन्छन् । महिला र पुरुषको शरीरमा भिन्दाभिन्दै परिमाणमा पसिना आउँछ । औसत प्रौढ पुरुषको शरीरबाट हरेक दिन सोही उमेरका महिलाको भन्दा चार गुणा बढी पसिना निष्कासन हुने गर्छ।
एक्सपेरिमेन्टल फिजियोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार व्यायामका क्रममा महिला भन्दा पुरुषको शरीरबाट बढी प्रभावकारी ढंगले पसिना निष्कासन हुने गर्छ । कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गरे पनि यो सत्य होइन । व्यायाम गर्दा शरीरबाट आउने पसिनाले हाम्रो शरीरलाई चिसो बनाउँछ । पसिनाले शरीरलाई चिसो बनाउँछ र शरीरलाई बढी तातो हुनबाट जोगाउँछ ।
पसिनालाई वंशाणुगत तत्त्व ‘हिस्टोकम्प्याटिबिलिटी’ कम्प्लेक्स ले पनि प्रभाव पार्छ । यिनै तत्त्वहरूका कारण विभिन्न मानिसको शरीरबाट विभिन्न तरिकाले पसिना निष्कासन हुने गर्छ। कुनै–कुनै व्यक्तिको शरीरमा पसिना आउने ग्रन्थी ‘हाइपरहिड्रोसिस’ अत्यधिक मात्रामा सक्रिय हुँदा धेरै पसिना आउने गर्छ । यस्ता मानिसमा बिनाकुनै कारण वा श्रम पसिना आउँछ । हाइपरहिड्रोसिस हत्केला, पैताला, काखी र अनुहारमा सक्रिय हुने हुँदा यी स्थानमा बढी पसिना आउँछ । हाइपरहिड्रोसिसले क्यान्सर र पार्किन्सनलगायत अन्य रोगको संकेत पनि गरेको हुन्छ ।
हाम्रो शरीरमा दुई प्रकारका पसिना ग्रन्थी हुन्छन् । एक प्रकारको पसिनालाई ‘इस्राइन’ पसिना ग्रन्थी भनिन्छ भने अर्को ‘एप्रोक्राइन’ पसिना ग्रन्थी भनिन्छ । इस्राइन पसिना ग्रन्थीले पानीजस्तो पसिना निष्कासन गर्छ । यो पानी र नुनबाट बनेको हुन्छ तर, एप्रोक्राइन ग्रन्थीबाट विशेष गरी रौँ आउने स्थानबाट पसिना आउँछ ।
बढी पसिना आउन नदिन के गर्ने ?
शरीरमा बढी पसिना आउन नदिनका लागि सबै भन्दा राम्रो उपाय हो शरीरलाई शीतल राख्नु हो । यसको लागि घाम चर्किएको बेला घाममा ननिस्किने, दौडधुप र व्यायाम कम गर्ने, शीतलमा बस्ने, नियमित नुहाउने, सरसफाइमा विशेष ध्यान दिने, पानी प्रशस्त मात्रामा पिउने, आफ्नो खानामा हरियो सागसब्जीका साथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूलहरु तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफि, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धैरे बेर भोको नरहने, बढी मसालादार खाना नखाने, खानामा लसुन, अदुवा , गोलमरीचको प्रयोग कम गर्ने र खानामा प्याजको मात्रा बढाउदा अत्याधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ ।
केही मानिसहरु बढी पसिना आउने डरले पानी कम पिउने गर्दछन् यो फाइदाजनक होईन, पानीको मात्रा शरीरमा कम भयो भने डिहाईड्रेसन हुनसक्छ । यी सबै उपायहरुलाई अपनाउदा भने केही हदसम्म बढी पसिना आउने समस्यालाई कम गर्न सकिन्छ ।
के छ त उपचार ?
होमियोप्याथिक चिकित्सा विधिमा आवश्यकता भन्दा बढीमात्रामा तथा कुनै कारण बिना नै शरीरबाट पसिना आउँछ भने यस अवस्थामा रोगीलाई उसको रोग लक्षण अनुसार प्रयोग गरिने केही होमियोप्याथिक औषधिहरु निम्नलिखित छन्ः
१) यदि आँखा बन्द गर्ने बित्तिकै पसिना आउँछ भने ब्रायोनिया, कोनियमको प्रयोग लाभदायक हुन्छ ।
२) यदि जाडो भएर शरीरमा पसिना आयो भने नक्सभोमिकाको प्रयोग गर्नुपर्छ ।
३) टाउको बाहेक शरीरको अन्य खुल्ला भएको भागमा पसिना आउने लक्षण देखिएमा रोगीलाई थुजा नामक औषधिको सेवन गराउनु पर्छ ।
४) यदि कुनै कारणबिना नै अनुहारमा पसिना बढी आउँछ भने यस्तो अवस्थामा रस टक्स या सिकेलिकोर औषधिको प्रयोग गर्नु लाभदायक हुन्छ ।
५) यदि रोगीलाई ब्युँझेको अवस्थामा मात्र पसिना आउँछ भने यस्तो लक्षणमा सेम्बुकस नामक औषधिको सेवन लाभदायक हुन्छ ।
६) यदि शरीरमा लुगाले ढाकेको भागमा मात्र पसिना आउँछ भने बिरामीले एकोनाईट, बेलाडोना, चायना आदि औषधिको सेवन गर्नु पर्छ ।
७) यदि पसिना शरीरको देब्रेभागतिर मात्र बढी आउँछ भने पल्साटिला, पेट्रोलियम औषधिको प्रयोग गर्दा लाभदायक हुन्छ ।
८) शरीरको जुन भागपट्टि फर्केर सुत्दा त्यही भागमा बढी पसिना आउँछ भने यस्तो लक्षणमा ब्रायोनिया, नक्सभोमिका, जिकंम आदि औषधिहरुको प्रयोग बढी फाइदाजनक हुन्छ ।
९) यस्तै जतापट्टि फर्केर रोगी सुत्छ त्यस भागमा पसिना नआउनु, उसको विपरित भागमा पसिना आउँछ भने यस्तो अवस्थामा बेन्जोईक एसिड, थुजा, सेनिकुल्ला नामक औषधिमध्ये लक्षणअनुसार कुनै एक औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
१०) यदि निदाएको बेला मात्र पसिना आउँछ र ब्युँझिएपछि हराउँछ भने यस प्रकारको लक्षण भएका रोगीले कोनियम नामक औषधिको प्रयोग गर्दा हितकारी हुन्छ ।
उपरोक्त होमियोप्याथिक औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै प्रशिक्षित योग्य तथा अनुभवी चिकित्सकसँग परामर्श लिइ सेवन गर्दा लाभदायक हुन्छ ।