५२ प्रतिशत सङ्क्रमणमुक्त घर फर्किए-GoodNews24
काभ्रेपलाञ्चोक- काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गते यताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमण मुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ । “जिल्लाका कूल सङ्क्रमितमध्ये ५२ प्रतिशत निको भएर घर फर्किएका छन्, हामी कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उपचारमा दत्तचित्त छौँ”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । झाका अनुसार जिल्लामा कोरोना जित्नेमा बालबालिकादेखि वृद्धवृद्धा सम्म छन् ।
जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८२ छ । सङ्क्रमित मध्ये १४२ अस्पताल आइसोलेसन र ४० होम आइसोलेसनमा रहेको पोष्टले जनाएको छ । होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पुर्याइरहेको झाले बताउनुभयो । त्यसो त काभ्रेपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । एक नगर तथा छ गाउँपालिका कोरोनामुक्त अवस्थामा रहेका हुन् । जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ०९ प्रतिशत सङ्क्रमित बनेपा नगरमा छन् । बनेपाका सङ्क्रमितमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या दोब्बर छ । सबैभन्दा कम नमोबुद्ध नगर र भुम्लु गाउँपालिकमा दुई÷दुई रहेका छन् । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये बनेपामा ९३, धुलिखेल नगरमा ५०, पनौतीमा चार र पाँचखालमा १० छन् । नयाँ सङ्क्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसीआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उहाँका अनुसार कन्ट्याक्ट ट्रेसिङमा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण देखिएको छ । जिल्लास्थित १३ स्थानीय तहमा हाल ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]