समाचार

विराटनगरमा पिउने पानी परियोजना सञ्चालन

Gobal IME Bank

१४ पुस, विराटनगर। नगरवासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन विराटनगर महानगरपालिकाले दातृ निकाय जापानी सहयोग नियोग(जाइका)को सहयोगमा पिउने पानी सुधार परियोजना सञ्चालनको तयारी थालेको छ । रु १० अर्ब लागत लाग्ने अनुमान गरिएको परियोजनाबारे जाइका टोलीले अध्ययन शुरु गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन ‘एक घर एक धारा अभियान’ सञ्चालनमा ल्याउने बताएअनुसार खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न काम थालिएको महानगर प्रमुख भीमप्रसाद पराजुलीले बताउनुभयो । रु पाँच अर्ब लागतको ढल, नाला तथा सडक निर्माण परियोजना सकिन नपाउँदै महानगरपालिकाले अर्को ठूलो परियोजना सञ्चालनको तयारी थालेको हो ।

महानगर प्रमुख पराजुलीका अनुसार महानगरपालिकाले आफ्नै स्रोतबाट समेत पिउने पानी सुधार अभियान थालिसकेको छ । पराजुलीले विराटनगरका १९ वटै वडामा शुद्ध खानेपानी उपलब्ध गराउन पिउने पानी सुधारको नयाँ परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । जाइकासँग विराटनगरको प्रथमिकताका आधारमा पहिलो चरणमा रु पाँच अर्बको आयोजना निर्माण गर्ने तयारी भइरहेको छ । उहाँका अनुसार महानगरपालिकाले थप ओभर हेड ट्यांकी निर्माणका लागि समेत जग्गा उपलब्ध गराइसकेको छ ।

विराटनगरमा सञ्चालन भएका मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना, शहरी विकास परियोजना, छ लेन सडक विस्तार आयोजना, सघन शहरी विकास आयोजनालगायत आयोजनाबाट विराटनगरको ढल, नाला तथा सडक निर्माणको काम भइरहेकाले सो स्थानहरुमा खानेपानीको पाइप लाइन छोपिएको, बिग्रिएको र कतिपय स्थानमा ढल तथा फोहोर पानीसमेत मिसिएका कारण धाराको पानी प्रदूषित भएका र शुद्ध पिउने पानीका लागि उक्त योजना शुरु गरिएको महानगरपालिका सामाजिक विकास अधिकृत पुनम दाहालले जानकारी दिनुभयो ।

विराटनगरमा ५० वर्ष पुराना पाइप लाइनबाट समेत खानेपानी वितरण भइरहेको छ । ५० वर्ष पुराना र जीर्ण पाइप लाइन बाट समेत खानेपानी वितरण भएका कारण नेपाल खानेपानी संस्थान विराटनगरले वितरण गरेको खानेपानीमा छ वर्ष पहिलेदेखि नै समस्या देखिंँदै आएको छ । प्रदूषित पानीका कारण छ वर्ष पहिले विराटनगरमा फैलिएको कमलपित्तले महामारीले १८ जनाले ज्यान गुमाएका थिए । त्यतिबेला करीब चार हजार जनामा कमलपित्त देखिएको थियो । यसैले विराटनगरवासीले खानेपानी संस्थानको पानी पिउनसमेत छाडिसकेका छन् । विराटनगरका बहुसङ्ख्यक उपोभोक्ताले चापाकलको पानी पिउने गरेका छन् । विराटनगरमा जार र बोतलको पानी पिउनेको सङ्ख्या पनि बढ्दो छ । धाराको पानी पिउनयोग्य नभएपछि नगरवासी जार र बोतलको पानी पिउन बाध्य भएको विराटनगर २ का सुभाष कामतले बताउनुभयो ।

पुनः सडक भत्काउनुपर्ने

महागरका धेरैजासो कालेपत्रे सडकको बीच भागमा खानेपानीको पाइप लाइन पर्ने भएकाले धारा मर्मत गर्न र नयाँ धारा जडान गर्दा कालेपत्रे सडक नै भत्काउनुपर्ने अवस्था छ । सडक निर्माण भएपछि विराटनगरमा वितरण गरिएको खानेपानीको कुनै पनि पाइप काम लाग्ने अवस्थामा नभएकाले सबै पाइप फेर्ने तयारी गरिएको महानगर प्रमुख पराजुलीले बताउनुभयो । खानेपानीको पाइप लाइन सडकका दुवैपट्टि विस्तार गर्ने योजनानुसार १० महिना भित्र सक्ने गरि जाइकाले अध्ययन शुरू गरिसकेको पराजुलीको भनाइ छ ।
विराटनगरमा हाल कायम सबै सडकमा सडकको दुवैपट्टि खानेपानीको पाइप बिछ्याउन आवश्यक पाइप, खानेपानीको स्रोत सुधार, थप खानेपानी ट्यांकी निर्माण र खानेपानी शुद्धिकरणलगायत लागि आवश्यक बजेटको विस्तृत विवरण अध्ययनपछि स्पष्ट हुने छ । विराटनगरको तीनपैनीदेखि महानगरपलिका र तीनपैनीदेखि अस्पताल चोकसम्मको सडक खण्डको दुवैपट्टि आन्तरिक स्रोतको लगानीमा खानेपानीको पाइप फेर्ने काम थालिएको कुरा महानगरका सामाजिक विकास अधिकृत दाहालले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button