शिक्षा स्वास्थसमाचार

कोरोना भाइरस सम्बन्धि २५ प्रश्नमा डा.कल्याण सुवेदीको उत्तर – GoodNews24

Gobal IME Bank

कोरोना भाइरस सम्बन्धि २५ प्रश्नमा डा.कल्याण सुवेदीको उत्तरहरु

१)  बेसारले भाइरस मर्ने भए लकडाउन किन गरेको ?
– संसारका सम्पूर्ण फलेको फुलेको प्राकृतिक कुरामा हाम्रो शरीरमा चाहिने केहि न केहि गुण हुन्छ। सबै खाने कुरामा antiviral, antibacterial, antioxidant तत्वहरु हुन्छन तर ति कुराले रोगको अन्त्य वा भाइरस  मार्ने काम गर्दैनन् । शरीरलाई हल्का सहयोग मात्र गर्छ। बेसार खानु नराम्रो होइन। १०० जना युवामा करिब ९८ जनाको यत्तिकै पनि ज्यान जोगिने भएपछि ति सबैले संक्रमण हुँदा वाइवाइ चाउचाउ वाइवाइ चाउचाउले ९८% रोगीको  कोरोना भाइरस रोग निको पार्यो भन्न पनि सकिन्छ, जुन सत्य हुँदैन।
-लकडाउन  गर्नुको कारण केहि खाएर वा नखाएर मात्र कोरोनाको रोकथाम हुँदैन ।  एक अर्कामा फैलन नदिन सबैजना एकअर्काबाट पर बसौं भन्न खोजेको हो।

२) मलाई पोजेटिभ देखियो । अब मैले के गर्ने ?
– तुरुन्त आइसोलेशनमा बस्नुस। यदि तपाईंलाई कुनै दिर्घरोग छैन, सास फेर्न गार्हो भएको छैन र सामान्य हिडडुल गर्न सक्नु भएको छ भने तपाईं आत्तिनु पर्दैन। नियमित खानेकुराहरु प्रसस्त खाने, पानी पिउने, अाराम र व्यायामको सन्तुलन मिलाउने, रमाइलो क्रियाकलापहरु गरेर दिमाग अलमलाउने आदि गर्नुस। जब सास फेर्न निकै गार्हो हुन्छ र केहि पाइला हिंड्दा पनि लड्छु जस्तो हुन्छ भन अस्पताल जानु पर्छ र अक्जिजन र अन्य औषधि उपचार लिनु पर्ने हुन सक्छ।

३)  कोरोना सङ्क्रमित ब्यक्तिको शरिरमा भाइरस कति दिनसम्म बस्छ ?
– एकपटक संक्रमित भएपछि शरीरमा भाइरस फैलने प्रक्रिया करिब २ हप्ता चल्न सक्छ। त्यसपछिको केहि हप्तासम्म भाइरस को केहि अबषेश (genetic material) शरीरमा रहन सक्ने हुँदा कसैको ३-४ हप्तासम्म पनि PCR test मा पोजेटिभ देखिन सक्छ। यदि भाइरस पोजेटिभ देखिएको २ हप्ता भो र तपाईं राम्रै हिंडडुल गर्नु भएको छ भने तपाईंले अब भाइरस लाई जित्नु भो। ३ हप्तामा मा त १००%  ग्यारेन्टी गर्न सकिन्छ।

४) कोरोना सङ्क्रमित ब्यक्तिमा कुनै लक्षण देखिएन र आइसोलेशन मा बसेको १४ दिन पछि पुन पिसि आर  टेस्ट नगरी सङ्क्रमितलाई घर पठाउदा उक्त ब्यक्तिबाट अरुमा भाइरस सर्छ कि सर्दैन  ?
– सम्भावना निकै कम छ। २१ दिन पछि सर्दैन भनेर १००% ग्यारेन्टी गर्न सकिन्छ।

५)  कोरोनाबाट मृत्यु भएको ब्यक्तिलाई छुदा हामीमा कोरोना भाइरस सर्छ ? यदि सर्छ भने कसरी ?
– मृत्यु भएको व्यक्तिको नाक र मुखबाट निस्किएको छिटाबाट र शरीरबाट निस्किएको अन्य तरल पदार्थबाट (बढीमा) १-२ हप्ता पछिसम्म कोरोना भाइरस सर्न सक्छ। मृत शरीर जांच गर्ने forensic medical professional को मृत्यु भएका घटना पनि छन्।
– मृतकको अनुहार (पूर्ण रुपमा) ढाकीदिने वा clear plastic को bubble जस्तो (helmet जस्तो) कुराले अगाडीबाट ढाकीदिने हो भने + सुरक्षित रुपले शरीरको कपडा नयाँ परिवर्तन गरिदिने हो + १-२ जना बाहेक अन्य टाढा बस्ने + नजिक गएकाहरु २ हप्तासम्म आइसोलेशन मा बस्ने हो भने अरुमा कोरोना भाइरस  सर्नबाट रोक्न सकिन्छ।

६) एकपटक लागेपछि फेरी अर्को पटक लाग्छ कि लाग्दैन ?
– भाइरसले करिब ६-१२ महिनामा केहि रुप परिवर्तन गर्छ। सोहि strain को  भाइरस  पछि पनि आयो भने शरीरले उत्तिखेरै अन्त्य गरिदिन्छ। अलि फरक खाले भो भने पनि शरीरमा फैलिएला (test मा positive देखिएला) तर शुरुमा दुख दिएको जत्ति असर गर्दैन र अन्य सामान्य कोरोना भाइरस को जस्तो सामान्य रुघा खोकी जत्ति मात्र हुन सक्छ।

७) बाहिर बजारमा सामान किन्न डराउनु पर्छ कि पर्दैन ? खानेकुराबाट कोरोना भाइरस सर्छ कि सर्दैन ?
-कोरोना भाइरस  तरकारी, फलफूल र माछा-मासुमा ब्याक्टेरिया जस्तो संख्या बढ्ने र फैलने हुँदैन तर ति कुरा  समात्नु  वा भर्खर आँफू भन्दा अघि छोएको व्यक्तिले त्यसमा कोरोना भाइरस सारेको रहेछ भने तपाईंमा सर्न सक्छ। त्यसैले सतर्कता अपनाउनु पर्छ। ति बस्तुलाई अन्य सरफेस एरिया जस्तो सोच्नुपर्छ। कोरोना भाइरस बजारका सामान छोएपछि हात अनुहारमा नलाने, घर पस्नु अघि साबुन पानीले हात धुने, मिल्छ भने ति सामानहरु घरको कुनामा राख्ने र १-२ दिन पछि मात्र प्रयोग गर्ने गर्यो भने डराउनु पर्दैन। उत्तिखेरै प्रयोग गर्नु पर्ने तरकारी माछा मासुलाई एकपटक राम्रोसंग पखाल्नुस, हात राम्रोसंग धुनुस। तापक्रम निकै बढेको हुनाले पहिले जस्तो डर छैन। लामो दुरीबाट आउने सामानको  सरफेसमा भाइरस  सरेको भए आउँदा आउंदै मरेको हुन्छ केहि घण्टा वा दिनमा। कै कारण बजारका सामान किनेर प्रयोग गर्न डराउनु पर्दैन। मैले बजारमा जाँदा मास्क लगाएर जान्छु, पहिले कार्डलाइ पनि स्यानिटाइज गर्छु, नकिन्ने सामान छोएर चलाएर बस्दिन, अरुले धेरै चलाउने समान कागजले समात्छु, निस्कने बित्तिकै दुवै हात स्यानिटाइजले  सफा गर्छु र घर पस्ने बित्तिकै साबुन पानीले हात धुन्छु। पानीको मामलामा, पानीबाट फैलदैन तर बाहिर बोतल वा जार को सरफेस बाट फैलन सक्छ।

८) के फरक देशमा फरक कोरोना भाइरस   छन् ?
– फरक strain भएको COVID-19 हुन सक्छन तर अहिलेसम्म देखिएको सबैखाले strain का कोरोना भाइरस  हरु एकै तरिकाले असर गर्ने खालका छन्। Theoretically, एकपटक कोरोना भाइरस  पसेपछि संख्या बढ्ने क्रममा प्रत्येक व्यक्तिमा फरक फरक strain भएर निस्कन सक्ने सम्भावना रहन्छ।

९)  एकजना कोरोना भाइरस पोजेटिभ भएको व्यक्तिसंग नजिक हुनेहरु कसैलाई  पोजेटिभ देखिने कसैलाई नदेखिने कसरी हुन्छ ?
– नजिक हुँदैमा १००% सर्छ भन्ने हुँदैन,  सम्भावना धेरै हुने मात्र हो। नाक र मुखबाट निस्किएको  भाइरस भएको छिटा कस-कसको शरीरमा पर्यो, शरीरबाट (हात वा अन्य माध्यमले)  भाइरस नाक र मुख भित्र कस कसको छिर्यो, शरीरमा छिर्ने बित्तिकै रोग प्रतिरोधक क्षमताले कसकसको तुरुन्तै मत्थर पारिदियो वा फैलिएर गयो भन्ने आधारमा पोजेिटभ  नेगेटिभ देखिन सक्छ।

१०) साबुन पानीले हात मात्र धुनु पर्ने हो कि अन्य भाग पनि धुनु पर्ने हो? डिटोलले भाइरस मार्छ ?
– सकेसम्म शरीरको छाला देखिने भाग सबै सफा गर्नु पर्छ र कपडा पनि धुनु पर्छ। शरीरको अन्य भागमा भएको भाइरस हातले नाक र मुखमा लान सक्ने हुनाले सबै भन्दा धेरै हात धुनु पर्ने हुन्छ।
– सबै देशमा डिटोलमा हुने ingredient र त्यसको concentration उही नहुन सक्छ। Hand sanitizer नभएको र हात धुन नमिल्ने अवस्थामा वा bleach वा अन्य product ले घरका सामानहरु सफा गर्न नपाएको अवस्थामा dettol प्रयोग गर्दा हुन्छ। Dettol ले अन्य रुघा खोकीको भाइरसलाई मार्ने हुँदा covid-19 लाई पनि मार्ने खुबी हुन सक्छ भनेर डिटोलको वेभसाइट मा लेखेको छ।

११) आइसोलेशन भनेको कस्तो हुनु पर्छ ?
– यदि सबै कोरोना  पोजेिटभ मात्र आइसोलेशनमा बसेको हो भने बसेको ठाउँबाट १४-२१ दिनसम्म बाहिर ननिस्किने। उचित आहार, ब्यायाम र रमाइलो काम कुरा हरु गर्ने गर्नुपर्छ ।
– यदि  टेस्ट नगरी संकाको भरमा मात्र आइसोलेशनमा राखेको हो भने अन्य  पोजेटिभ भएको व्यक्तिबाट आँफुमा सर्न नदिन सबैबाट कम्तिमा ६ फिट पर हुनु पर्यो । अरुले छोएको ठाउं पूर्ण रुपमा sanitize नगरी आँफु जाने वा छुने गर्नु भएन; खाने-पकाउने ठाउं, बस्ने कोठा र सौचालय व्यक्तिगत हुनु पर्यो अरुले सेयर गर्ने खालको हुनु हुँदैन।

१२) भाइरसले कहिलेसम्म दुख दिने हो ?
– सम्पूर्ण बृद्धबृद्धा, दिर्घरोगी, स्वास्थकर्मी र कम्तिमा ५०% अन्य सर्बसाधारणले vaccine नलगाउँदासम्म अहिलेको स्थिति नै रहने छ र सोहि अनुसार तयारी गर्नु पर्छ। अझै कम्तिमा ४ महिना सतर्क हुनु पर्छ।

१३)  भेन्टिलेटरले कसरी संक्रमण घटाउँछ ?
– भाइरसले फोक्सोमा असर पुर्याएपछि फोक्सो भित्र अक्सिजन पुग्ने र शरीरले अक्सिजन नपाउने हुनाले शरीरका अन्य अंगले पनि काम गर्न छोड्ने स्थितिमा भेन्टिलेटरको सहायताले oxygen delivery गर्ने काम गर्छ। अरु अंग पहिले देखि नै रोगि र थकित थिएनन् भने भेन्टिलेटरको सहयोगले ज्यान धेरैको जोगाउन सकिने हुन्छ। यसले संक्रमण घटाउँदैन फोक्सो भित्र oxygen deliver मात्र गर्छ।

१४) सानो उमेरमा निमोनिया भएकोलाई कत्तिको असर गर्छ ?
– सानोमा जस्तो सुकै रोग लागे पनि तपाई अहिले दिनहु जसो खानु पर्ने कुनै पनि औषधि खानु परेको छैन । गएको ६ महिनामा कुनै पनि ठुला शल्यक्रिया भएको छैन भने तपाईं अरु सामान्य स्वस्थ व्यक्ति जस्तै हुनु भयो।
– फोक्सो, मुटु, मृगौलाको रोगको लागि, diabetes को लागि नियमित जसो औषधि खानु हुन्छ र बेला बेलामा दमको समस्या भएर inhaler लिनु पर्ने हुन्छ भने तपाईं दिर्घरोगि हो भनेर बुझ्नुस। चुरोट पिउनु हुन्छ भने तपाईंलाई दिर्घरोगिलाई भन्दा ज्यादा असर गर्न सक्छ।

१५) मेरो घर नजिक स्वास्थ्यकर्मी बस्छन। उनीहरुलाई कोरोना लागेको छ भने म जोगिन के गर्नु पर्छ ?
– उनीहरुलाई कोरोना लागेको नै छ भन्ने प्रमाणित छ भने साएद उनीहरु आइसोलेशन मा बसेका छन्। बाहिर नै निस्किएको भए पनि ६ फिट पर हुनु भयो भने तपाईंमा सर्दैन ढुक्क हुनुस। एकै कोठोमा हुनु भयो भने पनि दुवैले मास्क लगाउनु भयो र पछि साबुन पानीले हात धुनु भयो भने केहि हुदैन। यो भाइरस हावामा उडेर फैलन सक्दैन। सोझै अगाडी हाच्छ्यु गर्दा तपाईंको अनुहारमा परेन भने तपाईंलाई केहि हुँदैन।

१६)  विदेशमा भन्दा नेपालमा किन मृत्युदर कम छ ?
– नेपालमा सुरु देखिनै सतर्कता अपनाइयो। बृद्धबृद्धा र दीर्घरोगीहरु पनि सचेत भए। युवाको मात्र चहल पहल धेरै थियो। युवामा मृत्युदर निकै कम हुने हुनाले समग्रमा विदेशमा भन्दा नेपालमा मृत्युदर कम देखिएको हो तर अब बढ्ने सम्भावना धेरै छ।

१७) सामान्य साबुनले कोरोना भगाउन सकिन्छ भने यति साबुन जतिको औषधि पनि किन पत्ता लगाउन नसकेको ?
– शरीरको बाहिरी भागमा सामान्यतय भाइरस, bacteria मार्ने धेरै केिमकल हरु हाम्रो छालाले सहन्छ; छालाको तह बाक्लो र मजबुद हुन्छ । सोहि कुराले फोक्सोमा पसिसकेको भाइरस मार्न पनि सकिन्छ तर फोक्सोको नरम र कलिला कोषहरु बिग्रिएर सोहि कारणले झन् चांढो मृत्यु हुन्छ।

१८) संसारका धेरै डाक्टरहरु कोरोनानै hoax (छल/ झुटो) हो भन्छन।
– दुखदको कुरा सबै भन्दा धेरै यस्तो समस्या अमेरिकामा छ र त्यसपछि भारतमा छ। कतिपय स्वास्थकर्मीहरु कोरोना को कारण आफ्नो private practice र अन्य side business मा घाटा परेको, कोहि पहिले देखिनै चर्चामा आउन यस्तै यस्तै मनगणन्ते कुरा गर्ने गर्थे र तिनैले अहिले पनि मौका छोपेका हुन्। अन्य संघ-संस्था राजनीति जस्तै स्वास्थ्य सेवामा पनि जनतालाई गलत सूचना दिएर भए पनि आफ्नो आर्थिक स्थिति बलियो बनाउने केहि हुन्छन।

१९ ) पहिले देखि अन्य भाइरस हुन्थे भने मास्क किन नलगाएको ? दुरी किन नराखेको?
– मास्क लगाउनु पर्थ्यो र दुरी कायम गर्नु पर्थ्यो। त्यहि नगरेको कारण धेरैलाई रुघा खोकी सर्ने गर्छ। अमेरिकामा (म बसेको ठाउँमा) स्कूलको शिक्षकले भाइरस को कारणले रुघाखोकी लागेको बिद्यार्थीलाई घरमा फिर्ता पठाई दिन्छन तर allergy को कारणले हो भने बस्न दिन्छन।

 

२०) कोरोना भाइरस सामान्य रुघा खोकीको भाइरस हो आत्तिनु पर्दैन, मिडियाले अनावश्यक उचालेको मात्र हो, बिदेशीको षडयन्त्र हो भन्ने सुन्छु।
कोरोना भाइरस सामान्य फ्लु जस्तै रुघा खोकी जस्तै  भाइरस हो तर अहिलेको भाइरस पहिलो चोटी मानब शरीरमा पसेको हुँदा यस भाइरस बिरुद्ध हाम्रो शरीरले (ready-made) immune तयार पारी सकेको छैन। अन्य धेरै खाले फ्लु  र अन्य भाइरस  बिरुद्ध हाम्रो शरीरमा केहि न केहि मात्रामा immunity उत्पादन भैसकेको छ र लामो समय दुख दिन सक्दैन; हाम्रो ज्यान लिने सम्भावना निकै कम हुन्छ। यस नयाँ भाइरस  (COVID 19) को केशमा, बृद्धबृद्धा र दिर्घरोगिले यस बिरुद्ध लड्दै नयाँ immune को निर्माण गर्न सहज हुँदैन; उनीहरुको थकित र सिथिल शरीरले थाम्न सक्दैन।
– अहिले संसारभर, निकै धेरै मेहेनत गर्दा पनि ७० नाघेका १०० जनामा करिब ४ को र ८० नाघेका १०० जनामा ९ जना जतिको ज्यान गएको छ । यदि भाइरस फैलन रोकथाम गर्ने प्रयास गरिएन र सबै ठाउँमा सर्न दिईयो भने १०० जनामा कोरोना भाइरस लाग्यो भने करिब १०-२० जनासम्म मर्न सक्छन। युवामा १०० जनामा १-२ जनासम्म मृत्यु हुन सक्छ। देशभर एकै पटक सबै घरमा फैलन दिने हो भने नेपालको सबै घरमा जुठो बार्नु पर्ने हुन सक्छ।

२१) कोरोनाको उपचार छैन पनि भन्ने अनि उपचार सफल भयो पनि भन्ने ?
– प्राय कुनै पनि भाइरस मार्ने औषधि हुँदैन। कोरोना भाइरसलाई मार्ने औषधि पनि छैन। तर  भाइरसले शरीरमा पार्ने असर कम गर्ने, कोरोना भाइरस बिरुद्ध लड्न शरीरलाई सहयोग गर्ने, भाइरस शरीरमा फैलन कम गर्ने औषधि उपचार गर्न सकिन्छ। यसो गर्दा धेरैको ज्यान जोगिन्छ।

२२)  मास्क लगाएर, स्यानिटाइजर, प्रयोग गरेर, साबुनले हात धोएर, ६ फिट दुरी कायम गर्दा भाइरस  सर्दैन भने लकडाउन किन गरेको ? डाक्टरहरु उपचार गर्न किन डराएको ?
–  मास्क स्यानिटाइजर, साबुन पानी, ६ फिट दुरी आदि एकजनाबाट अर्कोमा फैलने प्रक्रिया कम गर्ने एक उपाय हो। देशभर सबैले प्रत्येक पटक यसो गर्न सक्यो भने लकडाउन गर्नु पर्दैन।
– पर्याप्त PPE उपलब्ध र अन्य उपकरण/सुरक्षा पर्याप्त भयो भने कुनै पनि स्वास्थकर्मी अस्पतालमा जान डराउदैनन् र उपचार गर्न जान छोड्नुहुन्न। स्वास्थ्य सेवा जागिर मात्र नभएर सेवा (धर्म) हुने हुँदा जसरी सैनिक युद्ध लड्न जान डराउँदैनन् स्वास्थकर्मी पनि स्वास्थसेवा दिन डराउँदैनन्। अमेरिकामा (२ हप्ता अघिको डाटा हेर्दा) ९०० जना स्वास्थकर्मीले ज्यान गुमाईसकेका छन्। कोरोना भएको बिरामीको जति नजिक जति लामो समय बस्यो उति न कोरोना सर्ने क्रम बढ्ने र उति नै धेरै भाइरस  कै पटक शरीरमा छिर्ने हुन्छ र स्वस्थ शरीरले पनि थाम्न नसक्ने हुन्छ। यहि कारणले पनि स्वास्थकर्मीको मृत्यु हुने सम्भावना धेरै हुन्छ।

२३)  रोगी नभएको युवाले किन मास्क  लगाउने ? मलाई कोरोना  सर्यो भने मलाई लाग्छ म मर्छु त्यो मेरो कुरा हो अरुलाई के मतलब ?
– कोरोना भाइरसको लक्षण युवामा त्यति सार्हो नहुने, (धेरैलाई) १-२ हप्तासम्म सामान्य रुघा खोकी कै जस्तो लक्षण देखिने र सन्चो हुने हुन्छ। कसैलाई कुनै लक्षण अनुभब नहुन सक्छ। युवाले भाइरस परिवार र छरछिमेकका बृद्धबृद्धा र दिर्घरोगिमा सारिदीन सक्ने हुनाले हामी युवा मतलबी हुनु भएन।

२४)  ६-फिटको दुरीले काम गर्ने भए किन मास्क लगाउनु पर्यो ?
– घर बाहिर (खुल्ला ठाउँमा) कम्तिमा ६ फिटको दुरी भयो मास्क लगाउनु पर्दैन। तर closed space, shopping center भित्र पर्छ। अर्को कुरा, कतिखेर को व्यक्ति आँफु नजिक आउँछ पत्तै नहुन सक्छ र हतारमा मास्क लगाउन नभ्याउन सकिन्छ। यस कुरामा ध्यान दिनुपर्छ।

२५) बृद्धबृदाको त रोग प्रतिरोधक क्षमता कम भयो र ज्यान जाने भो,  युवाको कसरी मृत्यु हुन्छ ?
कोरोना भाइरसले शरीरको सम्पूर्ण कोषमा आक्रमण गरेर कोषको अन्त्य गरेर ज्यान जाने होइन। त्यस  भाइरसले केहि अंगमा जस्तै फोक्सोको कोषमा छिरेर आफ्नो संख्या बढाउने प्रक्रियामा केहि कोषहरु मर्दा, हाम्रो शरीरको भएभरको रोग प्रतिरोधक क्षमता ले आक्रामण गर्न खोज्दा भाइरस मार्ने प्रक्रियामा आफ्नै शरीरका धेरै कोषहरुमा असर पुर्याउँदा मृत्यु हुने हो। (कुनै) युवाको हकमा प्रशस्त भएको immune कोषले उचित तबरले भाइरसलाई मत्थर नपारेर uncontrolled immune reaction देखाउदा आफ्नै शरीरको फोक्सो बिगार्ने गर्ने, blood clot को निर्माण हुने आदि हुन्छ र मृत्यु हुन्छ।

-Dr. Kalyan Subedi, DNP, PMHNP

 

गुड न्यूज 24
www.goodnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”6152″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button