मनोरञ्जनसमाचार

मनिषा कोइराला “नेपाली सिनेमा विश्वभरका दर्शकलाई लक्षित गरेर बनाइनुपर्छ”

Manisha Koirala

Gobal IME Bank

काठमाडौँ। अभिनेत्रीले विश्वभरका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण गरिनु पर्ने बताएकी छन् । ‘२१ औं शताब्दीमा रिल स् नेपाली सिनेमाको विकास’ विषयमा काठमाडौँ कलिङ साहित्य महोत्सवको दोस्रो दिन शनिबार कार्यक्रममा बोल्दै मनिषाले उक्त कुरा बताएकी हुन् ।

आइतबारदेखि ललितपुरको हिमालय होटलमा आयोजित महोत्सव सोमबारसम्म चल्नेछ ।

मानिषा कोइरालाले भनिन् “कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ । दुःखसुख, मूल्य मान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ । बाटो देखाउन सक्छ । सक्नुपर्छ जस्तो लाग्छ ।

मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ । अहिले म नेटफिल्क्सको एउटा वेबसिरिज गर्दैछु । ओटीटीबाट प्रसारण हुने भएकाले यो कुनै निश्चित ठाउँको भएन, विश्वभरको हुन्छ । तर पनि ओटीटीका संञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन् । अन्तर्राष्ट्रिय स्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् । त्यसैले जुनसुकै देशले पनि उसको देशको माटो सुहाउँदो फिल्म बनाउन जरुरी छ ।

जब म बलिउड उद्योगसँग जोडिएँ, त्यो नब्बेको दशकको नजिकको समय थियो । अहिलेसम्मको ३० वर्षे अनुभवमा धेरै परिवर्तन आएका छन्, विकास भएका छन् । त्यो समयमा धेरै मेलो ड्रामाका फिल्महरु बन्थे । पुराना फोटोहरु हेर्दा त्यो समयको ड्रेसिङ सेन्स देखेर मलाई अहिले हाँसो लाग्छ । अहिले धेरै कुराहरु विकास भइसकेका छन् ।

अहिले सिनेमामा वास्तविकता चित्रण गर्ने अभ्यास धेरै बढेको छ । विश्वभर नै वास्तविक विषयमा बनेका सिनेमा मन पराउँछन् । प्रस्तुतिकरण जति वास्तविक भयो त्यति मन पराउँछन् ।

जब मैले सिनेमा सुरु गरेकी थिएँ, मेलोड्रामा धेरै चाहिन्थ्यो । रुँदा पनि एकदमै धेरै आँसु निकाल्नुपर्ने, अनुहार बिगार्नुपर्ने । जति धेरै चिच्यायो, त्यति धेरै वाउ, कति राम्रो अभिनय गरेको भन्ने हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । अभिनय जति धेरै वास्तविक हुन सक्यो त्यति राम्रो मानिन थालेका छन् । अहिले अभिनय गर्दा आँखामा आँसु जरुरी छैन, आँखामा पीडा देखिनु पर्‍यो ।

सिनेमा अहिले ग्लोबल भिलेजजस्तो बनेको छ । सबै सिनेमा मोबाइलमा, इन्टरनेटको पहुँचमा पुगेका छन् । त्यसैले नेपाली सिनेमा पनि विश्वभरका मानिसलाई नै लक्षित गरेर बनाइनुपर्छ ।

गुणस्तरीय सोच, गुणस्तरीय मूल्यलगायत कसरी गुणस्तरीय तरिकाले सिनेमाको माध्यमबाट कथा भन्ने विषय एकदमै महत्वपूर्ण छ । अझै यसमा ठूलो हृदय भएको कथा भइदियो भने कति राम्रो । त्यसैले सिनेमा विकास भइरहेको छ, राम्रो भइरहेको छ ।

अहिले ५० कटेका कलाकारले पनि मुख्य भूमिकामा प्रशस्तै काम पाएका छन् । पहिले त्यस्तो हुँदैनथ्यो । उमेर बढ्दै गएपछि आमाको भूमिका या अन्य सहायक भूमिकामा मात्रै कलाकारहरु अटाउँथे ।

अब कुरा गरौं दुःखको ।

दुःख चारैतिर हुन्छ, आआफ्नो हुन्छ । दुःख आएपछि त्यसको समाधानतिर पनि मानिस जानुपर्छ । आर्ट हाउस सिनेमाले जहिले पनि संघर्ष गरिरहेको हुन्छ । अहिले ओटीटी प्ल्याटफर्म आएपछि भने आर्ट हाउस सिनेमाले नैतिक प्रोत्साहन पाएका छन् । किनभने उनीहरुले ओटीटीबाट पैसा कमाइरहेका छन् ।

अर्को भनेको, नेपाल होस् या भारत, सबै देशले आफ्नो देशमा विभिन्न समस्या भोगिरहेका हुन्छन् । भारतमा पनि पहिले सिनेमा बनाउन ऋण दिइँदैनथ्यो, पछि सुष्मा स्वराज विदेशमन्त्री भएपछि यो कुरा पहिचान गरेर ऋण दिन सुरु गरिएको हो । त्यसैले समस्या थाहा भइसकेपछि समाधान गर्ने जिम्मा युवा पुस्तालाई जान्छ ।

अहिले युग ओटीटी प्लेटफर्ममा गएको छ । मैले सिंगल थिएटर, मल्टिप्लेक्स हुँदै अहिले ओटीटीमा काम गरिरहेकी छु । सिनेमा हल र ओटीटी म दुवैमा रमाउँछु । यो र त्यो भन्ने नै हुँदैन । सबै क्षेत्रलाई स्थान दिनुपर्छ । मलाई सिनेमा घरमा गएर पनि सिनेमा हेर्न मन लाग्छ, घर बसेर ओटीटी प्ल्याटफर्ममा पनि हेर्न मन लाग्छ । आफूले रोजेको, खोजेको हेर्न मन लाग्छ । तर सिनेमा हलमा बसेर फिल्म हेर्दा मलाई अझै रमाइलो लाग्छ ।

आउने दिनमा ओटीटीले धेरै ठाउँ लिन्छ जस्तो मलाई लाग्छ किनभने ओटीटी प्लाटफर्मले कन्टेन्टमा लगानी गरिरहेको छ । एपहरु पनि धेरै बनिरहेका छन् । धेरै पैसा लगानी भएको छ । धेरै कलाकार, निर्देशकलगायतले काम पाएको पायै छन् । प्रविधिमा अपग्रेड भएकै राम्रो हो ।

अन्त्यमा, राम्रो स्टोरी, राम्रो स्क्रिप्ट भए म नेपाली सिनेमामा काम गर्न चाहन्छु । मलाई नेपाली सिनेमामा काम गर्ने तीव्र इच्छा छ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button