मुख्य समाचारसमाचार

अविस्मरणिय नाम ‘नारायण गोपाल’, केही मिठो बात गर…

Gobal IME Bank

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रले कहिले पनि बिर्सन नसक्ने नाम हो स्वर सम्राट नारायण गोपाल । नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउनु भएका नारायण गोपालको पुरा नाम नारायण गोपाल गुरुवाचार्य हो । उहाँको जन्म वि.सं. १९९६ साल असोज १८ गतेका दिन काठमाडौँको किलागलमा भएको थियो ।

उहाँले सबैको जीवनको यथार्थ भावलाई गीतबाट प्रस्तुत गर्नु हुन्थ्यो त्यसैले उहाँ सम्पूर्ण जनमानसको मन मनमा बस्न सफल हुनु भएको थियो । नेपाली भाषा पुस्ताका पहिलो गायकको रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । स्वर सम्राट नारायण गोपालले नेपाली संगीतको क्षेत्रमा नयाँ आयम थप्नु भएको थियो । उहाँले युवा हृदयको स्पर्श गर्दै बियोग र बिरहका गीतहरु गाउन सुरु गर्नु भएको थियो ।

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका उहाँले थुप्रै कालजयी गीत गाउनुभएको छ । उहाँलाई २०२३ सालमा सर्वोत्तम संगितकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।

आज स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस हो । उहाँको सम्झनामा आज नारायण गोपाल संगीत कोषले काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । अपरान्ह ३ बजे हुने कार्यक्रममा अन्नपूर्ण अकेष्ट्राको साथमा नारायण गोपालका विभिन्न १९ वटा गीतलाई नयाँ पुस्ताका कलाकारले गाएर विशेष सम्मान अर्पण गर्ने कोषले जनाएको छ ।

उहाँको मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ, केही मिठो बात गर, ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो, एउटा मान्छेको मायाले लगायतका थुप्रै कालजयी गीतहरु आजका युवा पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् ।

स्वर सम्राट नारायण गोपालका बारे केही रोचक तथ्यहरुः

  • एन. गोपाल वास्तवमा नारायण गोपालको नाम थियो जुन आफुलाई बोलाउन रुचाउनु हुन्थ्यो। त्यही भएर रेडियो नेपाल प्रवेश गर्दा उहाँले एन. गोपाल नाम दर्ता गराउनु भएको थियो।
  • नारायण गोपाल ती गायकहरू मध्ये एक हुनुहुन्छ जो न्यूनतम गीतबाट अत्यधिक लोकप्रिय हुनुभएको थियो। आफ्नो जीवनकालमा उहाँले जम्मा १३७ गीत रेकर्ड गर्नु भएको थियो ।
  • उहाँको मनपर्ने गायकलाई चिन्नुहुन्छ ? भारतीय गजल गायक, मेहदी हसन उहाँको मनपर्ने गायक हुनुहुन्थ्यो ।
  • नारायण गोपालको मातृभाषा नेवारी भए पनि उहाँले आफ्नो मातृभाषामा कुनै गीत रेकर्ड गर्नु भएन । उहाँले तीन वटा नेवारी गीत गाए तापनि रेकर्ड भने भएनन् ।
  • नारायण गोपालले विज्ञापनलाई नराम्रो ठान्नुहुन्थ्यो र कुनै पनि विज्ञापनमा आफ्नो आवाज दिनुहुन्न थियो । मानिसहरूले विज्ञापनमा उहाँको गीत प्रयोग गर्न खोज्दा उहाँले विरोध पनि गर्नुहुन्थ्यो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button