समाचारसूचना प्रविधि

अमेरिकाले दियो नेपाली सेनालाई शक्तिशाली विमान

Gobal IME Bank

 २ पुस, काठमाडौ । नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गर्नुभयो ।

छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूर्ण योगदान पुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुरक्षा अनुदान हो ।

२ हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यी विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्नेछन् । ३ चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूला खाले दुुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । दुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी २ विमानको मूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।

विमानका लागि आवश्यक अतिरिक्त पाटपुर्जा, विमान चालक तथा मर्मत सम्भार तालीम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरण लगायतको सहयोग पनि अनुदानमा समावेश रहेको अमेरिकी दूतावासले जानकारी दिएको छ । यी दुई विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी सात वटा विमान र १५ हेलिकप्टर भएका छन् ।
समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध  यस प्रकारका सहायताले दुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुगेको बताउनुभयो । राजदूत बेरीले नेपालको आवश्यकताअनुसार मानवीय सहायताअन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुर्याउने हेतुले उपलब्ध गराइएको विमान दुई देशबीच सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेना हवाई महानिर्देशनालयका सहायक रथी घनेन्द्रबहादुर शाहले नेपाल–अमेरिकी सम्बन्धको विस्तारमा विमानसम्बन्धी सहयोग कोशेढुङ्गा सावित भएको बताउनुभयो । अमेरिकी सरकारले नेपाली सेनालाई आगामी दिनमा थप एक विमान उपलब्ध गराउने छ । अमेरिकी दूतावासले भनेको छ– यस्ता पहलहरुबाट नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबीचको सहकार्य र निकट साझेदारी प्रदर्शन भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button