मुख्य समाचारसमाचार

शहीद अमरअजर हुन्छन्- प्रधानमन्त्री

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने बताउनुभएको छ । शहीद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “शहीदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुनछन् ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछाडि शहीदहरुको त्याग र बलिदान नै प्रमुखरुपमा रहेको उहाँको भनाइ थियो । समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा शहीदहरुले भूमिका खेलिरहेको जनाउँदै उहाँले शहीद दिवसलाई प्रेरणाका रुपमा लिनुपर्ने बताउनुभयो ।

“हामीले माघ १६ लाई त्यसैरुपमा स्मरण गर्ने गर्छौं । शहीदलाई स्मरणको अर्थ औपचारिक समारोहका लागि मात्र होइन, हामीले शहीदहरुको सपना राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो । म यही सङ्कल्पका निम्ति सबैसँग अपिल गर्दछु”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शहीदहरुले देखेको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको बताउनुभयो । शान्त, समृद्ध र विकसित नेपाल बनाउनसके मात्र शहीदको आत्माले शान्ति पाउने जनाउँदै उहाँले भन्नुभयो, “शहीदका सपना साकार पार्न सम्पूर्ण नागरिकहरु जो जहाँजहाँ छौँ, आ आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरौँ । सबैसमक्ष मेरो यही अनुरोध छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुग्न नेपाल आमाका धेरै सन्ततिको त्याग, तपस्या र बलिदान रहेको सर्वविदितै रहेको जनाउँदै प्रमुख शाहले आफ्नो जीवनउत्सर्ग गर्ने शहीदको बलिदानले नै आज स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताउनुभयो ।

“अमर शहीदलाई स्मरण गर्ने आजको दिनलाई मैले महत्वपूर्ण र पवित्र पावन दिनका रुपमा लिएको छु”, उहाँले भन्नुभयो ।

शहीद सप्ताहको अन्तिम दिन पारेर महानगरद्वारा आज आयोजित सो कार्यक्रममा प्रधानमन्त्री दाहालले लैनचौरस्थित शहीद स्मारकमा पुगेर शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो ।

सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । कार्यक्रमअघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता थियो ।

कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारीसहित कामपाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारण सहभागी हुनुहुन्थ्यो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button