अन्यसमाचार

उच्च लागत प्रस्तावका कारण एमसीसीको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द

MCC

Gobal IME Bank

काठमाडौँ। अमेरिकी सहयोगमा संचालन हुने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार नोटिश जारी गरेर यी सबै ठेक्का रद्द भएको जानकारी दिएको छ ।

यी ठेक्काहरुमा बोलपत्रअघि गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको एमसीए नेपालले जानकारी दिएको छ । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्ने तयारी भइरहेको एमसीए नेपालले जनाएको छ।

टेन्डरमा सबैभन्दा कम प्रस्ताव लागत अनुमान भन्दा ६६ प्रतिशत उच्च भएपछि यो प्रक्रियालाई रद्द गर्ने प्रस्ताव गरिएको हो। एमसीएले त्यसरी गरेको प्रस्तावलाई एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको हो । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

गत जेठ ८ मा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये पाँचवटा कम्पनीमात्र प्राविधिक रुपमा सफल भएका थिए । भारतका कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, लार्सेन एन्ड टर्बो लिमिटेड प्राविधिक रुपमा सफल भएकोमा तिनै कम्पनीले तीन वटै प्याकेजमा आवेदन हालेका थिए ।

प्रसारणलाइनको पहिलो चरणमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । एमसीए– नेपालले यो खण्डको प्रसारणलाइन बनाउन ७ करोड ६४ लाख ६४ हजार अमेरिकी डलर लागत अनुमान गरिएको थियो ।

पहिलो चरणका लागि प्रतिस्पर्धा गरेका कम्पनी मध्ये सबैभन्दा कममा ठेक्का हाल्ने कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड १३ करोड १५ लाख अमेरिकी डलर प्रस्ताव गरेको थियो । त्यो लागत अनुमानभन्दा ५ करोड ५० लाख ६७ हजार अमेरिकी डलर अर्थात् ७२ प्रतिशतले बढी देखिएको बताइएको छ ।

दोस्रो चरण अन्तर्गत रातमाटे–न्यू दमौली खण्डका लागि एमसीए नेपालले ६ करोड ४८ लाख ५३ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । यसमा सबैभन्दा कम प्रस्ताव टाटा प्रोजेक्ट्स लिमिटेडले गरेको थियो । जसले त्यो खण्ड १० करोड ५४ लाख २५ हजारमा बनाउनसक्ने प्रस्ताव गरेको थियो । सबैभन्दा कम प्रस्ताव नै एमसीएको अनुमानभन्दा ४ करोड ५ लाख ७१ हजार बढी थियो । यो लागत अनुमानको ६२ दशमलव ५ प्रतिशतले धेरै हो ।

त्यस्तै, तेस्रो चरण अन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारणलाइन भारतको सीमासम्म तोकिएको छ । एमसीए नेपालले यो खण्डको प्रसारणलाइन निर्माण गर्न ७ करोड ९२ लाख ८२ हजार लागत अनुमान गरेको छ । तर, यसमा सबैभन्दा कम रकममा बनाउने प्रस्ताव गर्ने टाटा प्रोजेक्ट्स लिमिटेडले १२ करोड ९० लाख २१ हजार डलर प्रस्ताव गरेको थियो । त्यो रकम नै लागत अनुमानको तुलनामा ६२ दशमलव ७३ प्रतिशत अर्थात् ४ करोड ९७ लाख अमेरिकी डलरले बढी हो ।

यसरी समग्रमा एमसीसीको सहयोगमा निर्माण हुने प्रसारणलाइन बनाउन २२ करोड ६ लाख अमेरिकी डलर लागत अनुमान एमसीए नेपालले गरेको थियो । तर, सबैभन्दा कममा मूल्य प्रस्ताव गर्ने कम्पनीहरुले गरेको प्रस्ताव नै ३६ अर्ब ५९ करोड अमेरिकी डलर थियो, जुन लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढि हुन गएको बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button