काठमाडौं । नेपाली चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्रको ट्रेलर सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता सलोन बस्नेतले लकडाउन सकिएलगत्तै चलचित्र शुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको बताउनु भयो ।
उहाँले चलचित्रमा धेरै मेहनत गरेर छायांकन गरेको भन्दै चलचित्र मनछुने बनेको बताउनु भयो । उहाँले चलचित्रमा नयाँ कलाकारहरुको अभिनय मर्मस्पर्शी रहेकाले सबैले हेरेर साथ दिनेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेता शोभित बस्नेतले चलचित्र धेरै राम्रो बनेको बताउनु भयो । उहाँले यो चलचित्रमा सलोनको अभिनय पनि पोख्त भएको बताउनु भयो । सलोनको विवाहबारे रंगपत्रकारको प्रश्नमा उहाँले विवाहको मिलनका बेला फिल्म मिलन पनि राम्रोसँग चल्ने र चाँड विवाहको बारेमा जानकारी गराउने बताउनु भयो ।
त्यस्तै चलचित्रमा डेब्यु गर्नुभएकी नवनायिका शिल्पा थापाले चलचित्रमा काम गर्न कुनै कठिनाइ नभएको र आगामी दिनमा पहिलो चलचित्रमा सिकेका कुरालाई झनै पोख्त बनाएर जाने बताउनु भयो ।
चलचित्र मिलन आगामी कार्तिक १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा हुँदैछ ।