गुड न्यूज 24मुख्य समाचारसमाचार
ठेला व्यापारबाटै मनग्य आम्दानी, मासिक रु ७५ हजार कमाई


भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक रु ७५ हजार कमाउनुहुन्छ । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेको साहले बताउनुहुन्छ । साँझपख अफिस सकेर धैरै कर्मचारी नास्ता खान आउने गरेको उहाँको भनाइ छ ।
भद्रपुररोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आउनुभएका कृष्ण साहले पनि दैनिक दुई/तीन हजारको व्यापार गर्ने गरेको बताउनुहुन्छ । ठेला व्यापारबाटै उहाँको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । दाजुले वर्षौंदेखि गर्दै आएको ठेला व्यापार विगत पाँच वर्षबाट कृष्णले सम्हाल्नुभएको हो ।
ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ ।
झापाको बिर्तामोड पछिल्लो समय तीव्रगतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । विर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउनुहुन्छ । उहाँ दैनिक एक सय ५० भन्दा बढीलाई पानीपुरी चटपटे खुवाउनुहन्छ ।
घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बिएण्डसी हस्पिटल अगाडि ठेलामा जुुुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउनुहुन्छ । भारतको विहारका उहाँ गर्मी सुरु भएपछि ठेलामा जुस बेच्ने गर्नुहुन्छ । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् ।
ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता विर्तामोडमा ठेलाको व्यापार गर्दै आउनुभएका सनमान तामाङले मौसमअनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउनुहुन्छ । उहाँले गत वर्षदेखि कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले सागसब्जी बिक्री गर्दै आउनुभएको छ ।