डोटी । सरकारले एकल महिला तथा वृद्धालाइ सामाजिक सुरक्षा भत्ता दिइरहेको बेलामा डोटीको दिपायल सिलगढी नगरपालिकाले अविवाहित भत्ता दिने भएको छ । ५० वर्षसम्म बिहे नगरी एकल जीवन बिताइरहेका नगर भित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णयभत्ता दिने भएको छ ।
त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम आगामी मंसिरदेखि सुरु हुने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी गराउनुभयो । त्यसको लागि कार्य विधि तयार गर्ने काम भइरहेको छ । यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिएको थियो । दिपायल सिलगढी नगरपालिकाले भने नौलो कामको सुरुवात गरेको हो । सरकारले एकल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय विसं २०७५ भदौमा गरेको थियो भने दिपायल सिलगढी नगरपालिकाले पहिलोपटक विवाह नगरी बसेका एकल महिलालाई भत्ता दिने पहिलोपटक निर्णय गरेको हो । नगरपालिकाले सीपमूलक तालीम तथा भत्ता दिने निर्णय गरेपछि यहाँका अधिकांश विवाह नगरी एकल जीवनयापन गरिरहेका महिला निकै खुशी भएको नगर उपप्रमुख शिवराज खड्काले जानकारी गराउनु भयो ।