मुख्य समाचारसमाचार

ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट संन्यास

Gyanendra Malla

Gobal IME Bank

काठमाडौँ। ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् ।

‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । यो मेरो समय हो । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भने।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले घरेलु क्रिकेट पनि नखेल्ने बताए ।

उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनले बताए ।

मल्लले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट र २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।

सन् २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए ।

तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेलेका थिए तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए ।

पोहोर साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उनले टोलीमा पुनरागमन गरेका थिए ।

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी २० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button